विश्वकप: खेलअघि नै रेफ्रीलाई लिएर विवाद, मेस्सीप्रति निष्पक्ष नभएको भन्दै आलोचना

विश्वकप: खेलअघि नै रेफ्रीलाई लिएर विवाद, मेस्सीप्रति निष्पक्ष नभएको भन्दै आलोचना

काठमाडौं: विश्वकप फुटबल २०२२ अन्तर्गत आजबाट क्वार्टरफाइनलका खेलहरू सुरु हुँदैछन्। आज दुई दक्षिण अमेरिकी महाशक्तिविरुद्ध दुई सशक्त युरोपेली टोली भिड्दैछन्।

तर, आजको क्वार्टरफाइनल खेल सुरु हुनुअघि नै विवाद सुरु भएको छ। सामाजिक सञ्जालका फेसबुक, ट्विटर, टिकटक जस्ता प्ल्याटफर्ममा खेलको रेफ्रीलाई लिएर विवाद भएको हो।

आजको दुवै खेल युरोपेली रेफ्रीको कमाण्डमा खेलिनेछ। ब्राजिल र क्रोएसियाबीचको खेल इङ्ग्लिस रेफ्री माइकल ओलिभरले खेलाउने छन्। यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल स्पेनिस रेफ्री एन्टोनियो मटेउ लाहोसले खेलाउने छन्।

मटेउ लाहोस पहिला पनि विवादमा परेका थिए भने मेस्सीसँग उनको सम्बन्ध पनि राम्रो नभएकाले खेल निष्पक्ष हुनेमा फ्यानहरूले शंका गरेका छन्। सन् २०१३-१४ को ला लिगामा उनले बार्सिलोनाको लागि मेस्सीले गरेको गोललाई मान्यता दिएका थिएनन्। जसले मेस्सी र बार्सिलोनालाई लिग जित्नबाट बञ्चित गर्यो।

चार वर्षपछि भने सन् २०१८ मा उनै लाहोसले सार्वजनिकरूपमा आफूले गल्ती गरेको भन्दै माफी मागेका थिए।

यी दुईबीच अर्को विवादित घटना पनि छ। सन् २०२० को नोभेम्बर २९ (म्याराडोनाको निधनको चार दिनपछि) बार्सिलोना र ओसासुनाबीच खेल भइरहेको थियो। ७३औँ मिनेटमा मेस्सीले गोल गर्छन्। उनले त्यसपछि आफूले लगाएको बार्सिलोनाको जर्सी खोल्छन्। भित्र म्याराडोनाले सन् १९९३ मा लगाएको जर्सी हुन्छ। आफ्नो दुवै हात र शिर माथि आकाशतर्फ हेर्दै मेस्सीले म्याराडोनाप्रति सम्मान व्यक्त गर्छन्।

एउटा महान् खेलाडीले अर्को महान् खेलाडीलाई सम्मान दिइरहँदा रेफ्रीले भने मेस्सीलाई पहेँलो कार्ड देखाउँछन्। त्यसबेला पनि यो विवादले ठूलो रूप लिएको थियो। म्याराडोनाको निधनपछि उनको जर्सीलाई सम्मान गर्दा पहेँलो कार्ड देखाउन नहुने र रेफ्रीले दुवै महान् खेलाडीलाई अपमान गरेको भन्दै आलोचना भएको थियो।

अहिले यिनै विवादलाई उठाएर दक्षिण अमेरिका र युरोपबीच भिडन्त हुँदा न्युट्रल कन्टिनेन्ट रेफ्री (यी दुई महादेशबाहेकका) हुनुपर्ने भन्दै विवाद उत्पन्न भएको हो।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एसिया वा अफ्रिका वा उत्तर अमेरिकी महादेशका रेफ्री हुनुपर्ने माग गरेका छन्। विश्वकपको क्वार्टरफाइनल जस्तो महत्त्वपूर्ण चरणमा फिफाले यसरी हेलचेक्र्याइँ गरेको भन्दै फिफाको समेत आलोचना भइरहेको छ।

२३ मंसिर, २०७९, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।