लुम्बिनी प्रदेश सभामा १० दलको प्रवेश, नागरिक उन्मुक्ति पार्टीको अप्रत्यासित र सशक्त उदय

लुम्बिनी प्रदेश सभामा १० दलको प्रवेश, नागरिक उन्मुक्ति पार्टीको अप्रत्यासित र सशक्त उदय

बुटवल: लुम्बिनी प्रदेश सभामा अब १० राजनीतिक दलले प्रतिनिधित्व गर्ने भएका छन्। संविधानको व्यवस्थाअनुसार प्रदेशमा ‘थ्रेसहोल्ड’ पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। 

निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा ३२ दलले निर्वाचनमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो। जसमा १० वटा दलले मात्र २८ हजार ३०६ मत (१.५ प्रतिशत) ल्याएर थ्रेसहोल्ड कटाएका छन्।

१० दलले १७ लाख ७७ हजार ७२० मत ल्याएका छन्। जसलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै एमालेले सिट प्राप्त गरेको छ।

एमालेले कुल सरदर भएको ३२.१२ प्रतिशत अर्थात् पाँच लाख ७० हजार ९२१ मत पाएको छ। एमाले लुम्बिनी प्रदेश सभामा पहिलो दल समेत बनेको छ। एमालेले समानुपातिकबाट ११ सिट पाउनेछ।

नेपाली कांग्रेसले १० सिट समानुपातिकमा प्राप्त गरेको छ। उसले चार लाख ९९ हजार ९८६ मत अर्थात् कुल मतको २८.१३ प्रतिशत ल्याएर समानुपातिकमा दोस्रो भएको छ। 

त्यसैगरी माओवादी केन्द्रले जम्मा चार सिट समानुपातिकमा प्राप्त गरेको छ। कुल मतको ११.१६ प्रतिशत अर्थात् एक लाख ९८ हजार ५४० मत प्राप्त गर्दा सिट प्रतिशतको ११.४३ प्रतिशतले चार सिट प्राप्त गरेको हो।

प्रदेशमा यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रवेश पाएको छ। कुल सदर भएको मतमध्ये राप्रपाले ७.१७ प्रतिशत अर्थात् एक लाख २७ हजार ४५२ मत ल्याएर समानुपातिकतर्फ दुई सिट प्राप्त गरेको छ। 

यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि दुई सिट समानुपातिकतर्फ प्राप्त गरेको छ। उसले प्रदेशमा एक लाख २५ हजार ५२१ मत प्राप्त गरेको छ। जुन सदर भएको मतको ७.०६ प्रतिशत हो भने सिट प्रतिशतको ५.७१ प्रतिशत हो।

जनमत पार्टीले पनि दुई सिट समानुपातिकमा प्राप्त गरेको छ। उसले प्रदेशमा ८१ हजार ६०५ मत प्राप्त गरेको छ। जुन सदर मतको ४.५९ प्रतिशत हो। 

जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले पनि १/१ सिट समानुपातिकमा प्राप्त गरेका छन्। 

जनता समाजवादीले प्रदेशमा ६० हजार ८८६ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले ४२ हजार ६२१, लोसपाले ३७ हजार ६३१ र जनमोर्चाले ३२ हजार ६४७ मत प्राप्त गरेको छ।

लुम्बिनीका ५२ प्रत्यक्षतर्फका सिटमध्ये नेकपा एमालेले १८, नेपाली कांग्रेसले १७, नेकपा माओवादी केन्द्रले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २/२ सिट जितेका छन्।

८७ सदस्यीय प्रदेश सभामा माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले निर्वाचन जितेका छन् भने जनमत पार्टीले एक सिट जित्दा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन्।

लुम्बिनीमा नागरिक उन्मुक्तिको सशक्त उदय
लुम्बिनी प्रदेशमा एक सिट प्रत्यक्ष र दुई सिट प्रदेश सभामा जित्दै नागरिक उन्मुक्ति पार्टीले आफ्नो उदय सशक्त बनाएको छ। २६ प्रतिनिधि सभामध्ये नागरिक उन्मुक्तिले बर्दिया क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ जित हासिल गरेको हो भने प्रदेश सभातर्फ कुल ५२ सिटमध्ये पहिलो पटक नागरिक उन्मुक्ति पार्टीले दुई सिट प्राप्त गरेको हो। 

बर्दिया क्षेत्र नं. १(ख) र बर्दिया क्षेत्र नं. २(क) मा उसले विजयी हासिल गरेको हो। समानुपातिकतर्फ पनि यो पार्टीले एक लाख १९ हजार १७५ मत लुम्बिनी प्रदेशमा ल्याएको छ। जुन लुम्बिनी प्रदेश सभामा पाँचौँ स्थानमा रहेको मत हो। 

बर्दियामा प्रत्यक्ष र समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ।

बर्दिया क्षेत्र नं. २ नागरिक उन्मुक्ति पार्टीका लालवीर चौधरी विजयी भए। राजबन्दीमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि लालवीरले स्वतन्त्र उम्मेदवारी दिई त्यहाँ विजयी भएका हुन्। 

लालवीर चौधरीले २६ हजार ५२० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्तले २६ हजार ३८४ मत प्राप्त गरे। त्यसैगरी एमालेका पंकजसिंह राठोरले १६ हजार ९० मत प्राप्त गरे।

बर्दिया–१ मा पनि त्रिपक्षीय प्रतिस्पर्धामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले २३ हजार ९९३ मत ल्याए। पूर्वपत्रकार समेत रहेका ठाकुर केही समयअगाडि मात्र उक्त पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका थिए।

बर्दिया क्षेत्र नं. १(ख) मा नागरिक उन्मुक्तिकै राजकुमार चौधरी विजयले विजयी भए। उनले १३ हजार २३० मत प्राप्त गरी विजयी हुँदा एमालेका भक्तबहादुर विश्वकर्माले १२ हजार १८३ मत प्राप्त गरे। यसैगरी बर्दिया क्षेत्र नं. २(ख) मा पनि नागरिक उन्मुक्ति पार्टीकै धर्मबहादुर चौधरी भए। 

उनले २० हजार १२७ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुले १० हजार ९८४ मत प्राप्त गरे।

प्रत्यक्ष र समानुपातिक गरी ३ सिट मात्र जिते पनि प्रदेश सभाका धेरै क्षेत्रमा नागरिक उन्मुक्तिले अप्रत्यासित मत ल्याएको छ। कैलाली टीकापुर घटनाको रापतापबाट जन्मिएको पार्टीको लुम्बिनी प्रदेशमा सशक्त उपस्थिति हुनु धेरैका लागि अन्दाज नै नगरेको विषय थियो।प्रदेशमा दुई सिट प्राप्त गरेपनि नागरिक उन्मुक्ति पार्टी धेरै क्षेत्रमा ठूलो भनिएका दलसँग प्रतिस्पर्धामा आएको थियो।

बाँके क्षेत्र नं. १ मा नागरिक उन्मुक्तिका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मतसहित एमाले र सत्ता गठबन्धनलाई कडा चुनौती दिए। दाङ क्षेत्र नं.१ मा सुरेन्द्र चौधरीले ८ हजार मतसहित तेस्रो स्थानमा रहे। 

रूपन्देही–१ मा प्रतिनिधि सभातर्फ सुरुवाती अग्रता नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार धनिराम चौधरीले गरेका थिए। एमाले सचिव छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार दिएर सत्ता गठबन्धनको समर्थन पाएका घनश्याम भुसालको प्रतिस्पर्धी नै नठानिएका व्यक्तिले सुरुवाती अग्रता लिँदा धेरैले अप्रत्यासित माने। 

चौधरीले त्यहाँ १३ हजार ९६२ मत प्राप्त गर्दै अन्तिम समयमा चौथो बने।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य ठाकुरसिंह थारूले आफूहरूले अगाडि सारेको पहिचानको मुद्दाले जनतालाई आकर्षित भएको बताए। उनले जातीय, भौगोलिक, वर्गीय र सामाजिक पहिचानका विषयहरू आफूले अगाडि सारेकै कारण लुम्बिनीमा आफूहरुको सशक्त उदय भएको बताए।

मधेश मामिलाका विश्लेषक तुलानाराण साहले अहिले नागरिक उन्मुक्ति पार्टीको जितले मधेश विद्रोहलाई व्यालेटमार्फत अनुमोदन गरेको दावी गरे। 

साथै उनले मधेसी दलहरूलाई सच्चिनका लागि खबरदारी स्वरूप पनि उन्मुक्तिको उदय भएको हुनसक्ने बताए।

२२ मंसिर, २०७९, ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।