फार्मेसी लाइसेन्स निकाल्न अब लिखित परीक्षा मात्र दिएर नहुने, सीप मापनको तयारी गर्दै परिषद्

फार्मेसी लाइसेन्स निकाल्न अब लिखित परीक्षा मात्र दिएर नहुने, सीप मापनको तयारी गर्दै परिषद्

काठमाडौं : नेपाल फार्मेसी परिषद्ले लाइसेन्स परीक्षाका लागि हुने लिखित परीक्षामा उत्तीर्ण विद्यार्थीको सीप परीक्षण गर्ने तयारी गरेको छ।

नेपाल फार्मेसी परिषद् ऐन, २०५७ मा व्यवस्था भएअनुसार परिषद्मा नाम दर्ता नभएको कुनै पनि व्यक्तिले फार्मेसी व्यवसाय गर्न पाउँदैन।

परिषद्ले हालसम्म लिखित परीक्षामार्फत उत्तीर्ण ‘फार्मेसी सहायक’ र ‘फर्मासिस्ट’को दर्ता किताबमा नाम दर्ता गर्दै आएको छ।

तर, निकट भविष्यमा नै लिखित परीक्षा उत्तीर्ण गरेका ‘फार्मेसी सहायक’ र ‘फर्मासिस्ट’ सीप परीक्षणमा उत्तीर्ण भएपछि मात्रै दर्ता किताबमा नाम दर्ता गर्ने तयारी गरिएको परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेले जानकारी दिए।

रजिष्ट्रार पाण्डेका अनुसार २०७४ साउन २४ गते बसेको परिषद्को कार्यसमिति बैठकले परीक्षार्थीको सीप परीक्षण गर्ने निर्णय गरिसकेको छ।

‘परिषद्को कार्यसमिति बैठकले सीप परीक्षण गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘हामी चाँडै यो निर्णय कार्यान्वयन गर्ने तयारीमा छौं।’

फार्मेसी परिषद्को कार्यसमितिको प्रस्तावअनुसार स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा २०७२ मा ‘नेपाल फार्मेसी परिषद् नियमावली, २०५९’ संशोधन गरि ‘परीक्षार्थीको सीप परीक्षण गर्ने’ व्यवस्था राखिएको पाण्डेले बताए।

त्यसैगरी मूल नियमावलीको नियम २.१ मा संशोधन गरि ‘नाम दर्ता तथा पुनः नाम दर्ता दस्तुर’को ठाउँमा ‘फर्मासिष्ट र फार्मेसी सहायकको योग्यता परीक्षण तथा नाम दर्ता सम्बन्धी व्यवस्था गरिएको’ रजिष्ट्रार पाण्डेले जानकारी दिए।

सीप परीक्षणको व्यवस्थापछि नाम दर्ता प्रक्रिया थप व्यवस्थित र वैज्ञानिक हुने उनी बताउँछन्।

‘गुणस्तरियताका लागि लाइसेन्स परीक्षामा सहभागी हुने परीक्षार्थीले लिखित परीक्षा उत्तीर्ण गरेपछि गुणस्तरियता कायम गर्न सीप परीक्षण गर्ने निर्णय गरिएको हो,’ रजिष्ट्रार पाण्डेले भने।

फार्मेसी विज्ञ प्राध्यापक धर्मप्रसाद खनाल, सीप परीक्षण गरेको खण्डमा अब्बल विद्यार्थी छनोटमा सहज हुने बताउँछन्।

कति विद्यार्थी त अनलाइन पढ्ने अनि कलेज नै नगई सर्टिफिकेट लिएर आउने गर्छन्,’ उनले भने, ‘त्यस्तो मान्छे स्कृनिङ हुन्छन्।’

सीप परीक्षणले नाम दर्ता परीक्षामा थप अब्बल विद्यार्थी उत्तीर्ण हुने विश्वास रहेको उनले बताए।

‘गुणस्तर र प्राक्टिकल नगरी अनलाइन सर्टिफिकेट ल्याउनेहरू निरुत्साहित हुन्छन् भन्ने हो हाम्रो उदेश्य हो’, फार्मेसी विज्ञ खनालले भने।

यस्तो छ नतिजाको अवस्था? 
परिषद्ले लिएका पाँच वटा नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा हेर्ने हो भने उत्तीर्ण परीक्षार्थीको संख्या सन्तोषजनक देखिँदैन। परिषद्ले लिएको ‘फर्मासिष्ट’ को १५औं परीक्षामा ३३.०८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

त्यसैगरी १६औं परीक्षामा ५०.८३, १७औं मा ४३.८८, १८औं मा २०.०७ र २०औं परीक्षामा ३५.०४ प्रतिशत परीक्षार्थी उतीर्ण भएका थिए।

परिषद्को तथ्याङ्कअनुसार ‘फार्मेसी सहायक’ तर्फ १४औं परीक्षामा २०.५८, १५औं मा ५०.७८, १६औं मा ५७.२८, १७औं मा १५.३० र १८औं मा ४६.२२ प्रतिशत परीक्षार्थी परिषद्को लाइसेन्स परीक्षामा उत्तीर्ण भएका थिए।

यि त लिखित परीक्षापछि परिषद्को दर्ता किताबमा नाम दर्ताका लागि उत्तीर्ण भएका परीक्षार्थीकोे नतिजा हो। परिषद्ले परीक्षार्थीको सीप परीक्षणसमेत लिएको खण्डमा अब्बल विद्यार्थी मात्रै नाम दर्ता परीक्षामा उत्तीर्ण हुने देखिन्छ। यद्यपि उत्तीर्ण प्रतिशत भने झन् घट्ने सहजै अनुमान गर्न सकिन्छ।

नाम दर्तापछि मात्रै व्यवसाय
नेपाल फार्मेसी परिषद् ऐन, २०५७ मा व्यवस्था भएअनुसार फार्मेसी व्यवसाय गर्नका लागि आवश्यक योग्यता निर्धारण गर्ने र निर्धारित योग्यता पूरा गरेका ‘फर्मासिस्ट’ तथा ‘फार्मेसी सहायक’को नाम परिषद्को दर्ता किताबमा दर्ता गर्नु परिषद्को काम, कर्तव्य र अधिकार हो।

दर्खास्तवालाको नाम परिषद्मा दर्ता गर्न उपयुक्त देखिएको खण्डमा परिषद्ले त्यस्तो दरखास्तवालाको नाम परिषद्को दर्ता किताबमा दर्ता गर्ने निर्णय गर्ने ऐनको दफा–१५ मा व्यवस्था छ।

ऐनमा व्यवस्था भएअनुसार ‘फर्मासिष्ट’ भन्नाले फार्मेसी विषयमा कम्तिमा स्नातक उपाधि वा सो सरहको योग्यता प्राप्त गरेको व्यक्ति हो। त्यसैगरी ‘फार्मेसी सहायक’ भन्नाले फार्मेसी विषयमा कम्तिमा प्रमाणपत्र वा सो सरहको योग्यता प्राप्त गरेको व्यक्ति हो।

परिषद्को दर्ता किताबमा नाम दर्ता भएको व्यक्ति दर्तावाला फार्मेसी सहायक र दर्तावाला फर्मासिष्ट हुने ऐनमा व्यवस्था छ।

परिषद्मा नाम दर्ता नगराई फार्मेसी व्यवसाय गरेको खण्डमा त्यस्तो कसुर गर्ने व्यक्तिलालाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनको दफा–२९ मा कसुर तथा दण्ड सजायसम्बन्धि व्यवस्थामा उल्लेख छ।

फार्मेसी परिषद् ऐन, २०६७ को परिभाषाअनुसार ‘फार्मेसी व्यवसाय’ भन्नाले मान्यताप्राप्त औषधि उत्पादन, गुणस्तर कायम, औषधि कारखानाको निरीक्षण तथा सिफारिश, उत्पादित औषधिको भण्डारण तथा आपूर्ति गर्ने प्रविधिको छनोट, आपूर्तिको सुपरिवेक्षण, औषधिको दर्ता तथा औषधिको सेवन गर्न उपयोगी, गुणस्तरयुक्त, असरयुक्त र सुरक्षित छ भनी प्रमाणित गर्ने व्यवसाय हो।

भारतका दुई चिकित्सा अध्ययन संस्थान कालो सूचीमा
परिषद्ले मंसिर २४ गते फार्मेसी सहायक (डिप्लोमा इन फार्मेसी)को २०औं नाम दर्ता परीक्षा लिँदैछ। त्यसो त यसअघि ‘फर्मासिष्ट’तर्फ लिइएको २०औं परीक्षाबाट बायोमेट्रिक विधि अपनाइएकाले परीक्षा सञ्चालनका लागि समेत सहज भएको रजिष्ट्रार पाण्डेले बताए।

त्यसैगरी परिषद्को मंसिर १६ गतेको निर्णयले भारतका दुई वटा चिकित्सा अध्ययन संस्थानलाई कालोसूचीमा समेत राखेको छ। कालो सूचीमा पर्ने संस्थानमा भारतको हिमाञ्चल प्रदेशको आईसी विश्वविद्यालय र ओढिसाको गजपति कलेज अफ फार्मेसी छन्।

सोही निर्णय अनसुसार अब यी दुई कलेजमा अध्ययन गरेका विद्यार्थीहरूको शैक्षिक योग्यता मान्य नहुने परिषद्ले जनाएको छ। परिषद्को निरीक्षण टोलीले पेश गरेको प्रतिवेदनका आधारमा परिषद्ले यस्तो निर्णय गरेकोे हो।

त्यसैगरी काठमाडौंको शहीद स्मारक जनस्वास्थ्य कलेज, वीरगञ्जको मोडल कलेज अफ टेक एजुकेशन र चितवन मेडिकल कलेजलाई सीटीभीटीईको सम्बन्धनपश्चात परिषद्बाट निरीक्षण गरिएको भए सोको प्रतिवेदन, मान्यता प्राप्त गरेको भए सो प्रतिलिपि परिषद्को कार्यालयमा बुझाउन समेत परिषद्ले निर्देशन दिएको छ। 

आवश्यक कागजात प्राप्त नभए त्यहाँ अध्ययरत विद्यार्थीलाई नाम दर्ता परीक्षामा सामेल गराउन बाध्य नहुने पनि परिषद्ले जनाएको छ।

२० मंसिर, २०७९, २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।