पोखरा महानगरका मेयर आचार्यले कानुन मिच्दै भतिजलाई बनाए अधिकृत

पोखरा महानगरका मेयर आचार्यले कानुन मिच्दै भतिजलाई बनाए अधिकृत

पोखरा : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कानुन विपरीत महानगरमा भतिजलाई नियुक्त गरेका छन्। कानुन अनुसार नायब सुब्बा बराबरको स्वकीय सचिव राख्न पाइन्छ। तर उनले खेमराज आचार्यलाई अधिकृतस्तरको सुविधासहित नियुक्त गरेका हुन्। 

२०७७ सालमा गण्डकी प्रदेश सरकारले बनाएको गाउँ सभा, नगर सभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार मेयरले राजपत्र अनङ्कित प्रथम श्रेणी अर्थात् नायब सुब्बा स्तरको कर्मचारी राख्न पाउने व्यवस्था छ।

मेयर आचार्यले भतिज खेमराजलाई २०७९ साउन १९ गते चलानी नं. ५८९ को पत्र अनुसार छैटौँ तह अर्थात् अधिकृतको सेवा सुविधा पाउने छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको हस्ताक्षर भएको पत्र अनुसार सेवा करार सम्झौतामा रहेका सेवा सर्त लागु हुने गरी २०७९ श्रावण १ गते देखि २०७९ पुस मसान्तसम्मका लागि नियुक्त गरिएको छ।

सेवा सुविधा ऐनमा मेयरले आन्तरिक स्रोतबाट तलब भत्ता दिने गरी नायब सुब्बा सरह स्वकीय सचिव राख्न पाउने व्यवस्था भए पनि सेवा सुविधा कम हुने भएपछि मेयर आचार्यले स्वकीय सचिवको नियुक्ति नदिई अधिकृत सरहको कर्मचारी नियुक्त गरेको देखिन्छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीले मेयर आचार्यको निर्देशन अनुसार अधिकृत नियुक्त गरिएको बताए। उनले महानगरहरूमा सातौँ–आठौँ तहको अधिकृत नियुक्त गर्ने गरेकाले पोखरा महानगरमा छैटौँ तहको नियुक्तिमा आपत्ति जनाउन आवश्यक नभएको बताए।

त्यसैगरी मेयर आचार्यले अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनसँगै बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङको प्रविधि जडान र पूर्वाधार शीर्षकमा एक करोड बजेट विनियोजन गराएको आरोप समेत लागेको छ।

पुसदेखि विमानस्थल सञ्चालनसँगै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ सञ्चालनमा नागरिक उड्डयन प्राधिकरणले रोक लगाउन निर्देशन गरे पनि पोखरा महानगरले आफ्नो वार्षिक विकास कार्यक्रममा पर्यटन तथा वातावरण शीर्षक अन्तर्गत सराङकोटस्थित तोरिपानिमा प्याराग्लाइडिङको प्रविधि जडान र पूर्वाधार विकासका लागि भन्दै एक करोडको बजेट विनियोजन गरेको छ।

त्यस ठाउँमा महानगरले व्यक्तिको जग्गा भाडामा लिएर भौतिक संरचना निर्माणको प्रक्रिया समेत अगाडी बढाएकाले महानगरको लगानी डुब्ने निश्चित छ।

१९ मंसिर, २०७९, २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।