बाआमा: सहानुभूतिको कथा बेच्ने प्रयास, शब्दहरूको दस्ताबेज मात्रै

बाआमा: सहानुभूतिको कथा बेच्ने प्रयास, शब्दहरूको दस्ताबेज मात्रै

'बाआमा' पढ्दै गर्दा घरी यो कथा सङ्ग्रह जस्तो लाग्छ, घरी उपन्यास जस्तो। लेखक आफैँ दोधारमा भएकाले पनि यसलाई साहित्यमा 'नयाँ प्रयोग' भनेर 'सम्बन्ध आख्यान'को रूप दिइएको हुनसक्छ।

१२ वटा कथाका माध्यमबाट लेखकले बाआमाको कथालाई रोचक ढङ्गले प्रस्तुत गर्न खोजेका छन्। जसमा एकल आमाको संघर्ष र पीडा, सामाजिक कुरीति र अन्धविश्वास, महिला हिंसा, धोका, वैदेशिक यात्रा, लाञ्छना, सन्तानको दुःख लगायतका विविध विषयहरू छन्।

पुस्तकभित्र बाआमाका व्यथा, दुःख, सम्बन्ध र बदलिँदो नेपाली समाजको यथार्थ चित्रण छ। बाआमाकै सेरोफेरोमा बुनिएका कथाहरू कवितात्मक शैलिका छन्। एउटै पुस्तकमा घरी उपन्यासको स्वाद लिन सकिन्छ भने घरी कथाको।

नेपाली साहित्यमा आमा शब्दलाई मात्र बढी महत्त्व दिने गरेकोमा लेखकले यस पुस्तकमार्फत् भने बालाई पनि उँचाइमा राख्न खोजेका छन्। यी मात्र नभएर लेखकले बाआमा र तिनका सन्तानबीच हुने प्रेम, आँसु, सुखदुःखलाई पुस्तकमार्फत् प्रस्ट्याउन खोजेका छन्।

बाआमा पढ्दै गर्दा लाग्छ- यस संसारको सबैभन्दा पवित्र नाता हाम्रो आमाबाहेक कसैसँग हुँदैन। कहिले आमा सगरमाथाभन्दा अग्ली लाग्छिन् भने कहिले आकाशभन्दा विशाल। 

हुन त आमा एउटी नै हुन्, तर उनी कहिले समुद्रभन्दा गहिरो हुन्छिन् भने कहिले मायाको यस्तो पोको बनिदिन्छिन् जसलाई कहिल्यै खोलेर सकिन्न। 

आमा सहनशीलताकी खानी हुन्छिन्। आमा धैर्यताकी प्रतिमूर्ति पनि हुन्छिन् भन्दै यस पुस्तकले आमा शब्द र पात्रलाई अनेक रूपले परिभाषित गर्न सफल पनि भएको छ।

आमा मात्र नभएर हाम्रो जीवनमा 'बा' शब्दको पनि छुट्टै महत्त्व छ। आमा सत्य हुन् भने बा विश्वास हुन्। 

नेपाली साहित्यमा आमा शब्दलाई मात्र बढी महत्त्व दिने गरेकोमा लेखकले यस पुस्तकमार्फत् भने बालाई पनि उँचाइमा राख्न खोजेका छन्। यी मात्र नभएर लेखकले बाआमा र तिनका सन्तानबीच हुने प्रेम, आँसु, सुखदुःखलाई पुस्तकमार्फत् प्रस्ट्याउन खोजेका छन्।

राम्रा पक्ष
पुस्तकको प्रत्येक अक्षरमा वेदना छ। समाजको वास्तविक चित्रण छ। यथार्थता छ। पिताको अभावमा बाँचेको बालकको मनोविज्ञान छ। आमा सानो छँदा उनले सन्तानको निम्ति गरेको संघर्ष छ र तिनै सन्तान ठूला भएपछि आमालाई गरेको माया पनि छ।

मदन पुरस्कार विजेता कृति 'ऐना'का लेखक र 'बेस्ट सेलर' भनेर पुस्तकको कभरमा लेखिएको छ। तर मलाई भने यो पुस्तक नेपाली साहित्यको 'उत्कृष्ट' पुस्तक हो भन्ने लागेन। 

आमाले सन्तान सानो छँदा तिनलाई हुर्काउन जुनसुकै कठिनाइ पनि सहजै पार गर्छिन्। उनले आफ्नो सन्तानको कहिल्यै कुभलो चिताउँदिनन्। तर, त्यही छोराले बुढेसकालमा थला परेकी आमाको स्याहार गर्न नसकेर आमा बरू मर्दिए हुन्थ्यो भन्ने ठान्छ। लेखकले यस्ता तीता समाजिक वास्तविकतालाई पनि कथाको माध्यमबाट छर्लङ्ग पार्न खोजेका छन्।

बाआमाको प्रेमलाई भन्दा बढी दुःखलाई अँगालेका लेखकले अझ बढी आमामा नै केन्द्रित भएर यस पुस्तक लेखेका छन्।

चित्त नबुझेको पक्ष
बाआमालाई जन्मदेखि मृत्युसम्म पुर्याएका लेखकले बाआमालाई प्रायः सबै ठाउँमा लगेर दुःख दिन्छन्। तिनलाई आँसु पिलाउँछन्। 

के बाआमालाई खुशी हुने अधिकार छैन? के यति धेरै बाआमाको आँसुको व्यापार गरेर लेखकले कतै यसको फाइदा लिन खोजेका त हैनन्? बेलाबेला कथाहरू पढ्दै गर्दा मनमा यस्ता प्रश्न पनि खेल्छ।

मदन पुरस्कार विजेता कृति 'ऐना'का लेखक र 'बेस्ट सेलर' भनेर पुस्तकको कभरमा लेखिएको छ। तर मलाई भने यो पुस्तक नेपाली साहित्यको 'उत्कृष्ट' पुस्तक हो भन्ने लागेन। 

बाआमाको कथा-व्यथालाई बजारमा बेच्न खोज्नु अबको साहित्य बजार व्यापारिक बन्नु हो। लेखक व्यापारी हुन खोज्नु हो। यस पुस्तकको हरेक कथामा पित्तृसत्ताको अंश भेटिन्छ। समाजको अन्धविश्वासको मुल भेटिन्छ।

लेखकले बाआमाको कथामाथि न्याय गर्न सकेका छैनन्। पुस्तक पढ्दै गर्दा लाग्छ यो सङ्ग्रह फगत शब्दहरूको दस्ताबेज हो। जसलाई घिसार्दा घिसार्दै लेखक आफैँ थाकेका छन्। 

बाआमा भन्ने बित्तिकै पाठकका मनमा सहानुभूति आउँछ र तिनले त्यसलाई बेवास्ता गर्न सक्दैनन् भन्ने उद्देश्यले लेखिएको जस्तो लाग्ने यस पुस्तकले पढिसकेपछि वास्तवमा पाठकको मनमा सन्तुष्टिको अनुभूति दिलाउन सक्दैन। पढ्दै गर्दा लाग्छ संसार यस्तै छ, नियति यस्तै छ। दुई अञ्जान व्यक्ति जोडिनु त्यसबाट सन्तान उत्पादन गर्नु एउटा चक्र जस्तै हो। हाम्रो वास्तविक नियतिभन्दामाथि उठेर पनि अबको नेपाली साहित्य लेखिनु पर्छ।

बाआमाको कथा-व्यथालाई बजारमा बेच्न खोज्नु अबको साहित्य बजार व्यापारिक बन्नु हो। लेखक व्यापारी हुन खोज्नु हो। यस पुस्तकको हरेक कथामा पित्तृसत्ताको अंश भेटिन्छ। समाजको अन्धविश्वासको मुल भेटिन्छ।

यो समयको साहित्यमा पनि त्यस्ता विषयलाई प्राथमिकता दिएर पुस्तक लेखिनु भनेको यो भन्दा ठूलो कमजोरी लेखकको हुनै सक्दैन। अझ आमालाई सहनशीलताको मूर्ति भनेर दुःख दिइरहनु, आँसु पिलाइरहनु कतिसम्मको लायक कुरा हो? यो पाठक आफैँले मनन् गर्ने कुरा हो।

पुस्तक पढ्दै गर्दा सकेर थन्काउन मुस्किल पर्छ। कथाहरू किन मनैदेखि नलेखिएका होलान् भन्ने लाग्छ। बाआमामाथि किन यति धेरै शब्दहरू खन्याइएका होलान् भन्ने लाग्छ। 

नेपाली साहित्यमा यो पुस्तकले एउटा सङ्ख्या मात्र थपेको अनुभूति हुन्छ। सम्झिनलायक पुस्तकमा यसलाई गन्न सकिँदैन।

१७ मंसिर, २०७९, १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।