उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरी रवि र उपराष्ट्रपति पुत्र पुनको स्टोरी डिलेट गरियो

उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरी रवि र उपराष्ट्रपति पुत्र पुनको स्टोरी डिलेट गरियो

काठमाडौं : उकेरा डटकममा सिस्टममा अनधिकृत प्रवेश गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपराष्ट्रपति पुत्र दीपेश पुनको सहकारी समबन्धी समाचार मेटाइएको छ।

बिहीबार राती उकेरामा प्रकाशित पुन सचिव रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको समाचारको हेडलाइन मात्रै बाँकी राखेर असम्बन्धित तस्बिर राखेर समाचार डिलेट हानिएको थियो।

सो समाचार सुरक्षित रहेकाले पुन प्रकाशित भएको छ।

यसैगरी उकेरामा प्रकाशित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर सन् २०१८ मा नेपाली पासपोर्ट लिएको प्रमाणसहित उकेरामा प्रकाशित समाचार समेत हटाउँदै सो समाचारको हेडलाइनमा'खुलासा' मात्र बनाएर असम्बन्धित तस्बिर राखिएको थियो।

अर्काइभडट ओआरजीमा पासपोर्ट सम्बन्धी सामाग्री सुरक्षित रहेकाले सो पुन प्रकाशित भएको छ।

बिहीबार उकेरामा प्रकाशित भारतीय नागरिकसँग विवाह गरेर भारतको ग्राम पञ्चायतको मुखियामा निर्वाचित एक नेपाली चेलीको कानुनी मुद्दा र लामिछानेको मुद्दा उस्तै रहेकोबारे प्रकाशित समाचार समेत पुरै हटाएर असम्बन्धित तस्बिर राखिएको थियो।

यसबारे उकेराको प्राविधिक समूहले अनुसन्धान अगाडि बढाएका छन्।

प्रकाशित समाचारप्रति कसैको आपत्ति भए कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी सामाग्री हटाउने आपराधिक कामको हामी भर्त्सना गर्दै यसबारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छौँ।

१६ मंसिर, २०७९, ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।