काठमाडौं: प्रतिनिधि सभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
उकेरा न्युज
प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिट पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट एक, एमालेबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन्।
एमालेबाट कास्की क्षेत्र नं २ बाट पार्टीकी केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं ३ बाट पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका छन्।
माओवादीबाट दाङ क्षेत्र नम्बर २ बाट रेखा शर्मा निर्वाचित भएकी छिन्। यस्तै तेह्रथुमबाट कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ निर्वाचित भएकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की र सोविता गौतम निर्वाचित भए। कार्की ललितपुर क्षेत्र नं ३ र गौतम काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं १ बाट निर्वाचित भइन्।
संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ।
यता प्रतिनिधि सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक जना मात्रै हालसम्म निर्वाचित भएका छन्। एमाले सचिव छविलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्।
विसं २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा ६०१ जनामध्ये ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो। तीमध्ये तत्कालीन माओवादीबाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए।
विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा दलितको प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (६.८२ प्रतिशत) मा झर्यो। जसमध्ये दुई जना एमालेबाट प्रत्यक्ष निर्वाचित भएका थिए।
संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) दलितको प्रतिनिधित्व भएको थियो। एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए।
२०७९ मंसिर १५ गते ९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।