माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ मत पाएको छ भने एकीकृत समाजवादीले ३५ हजार ८२६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ र नेपाल मजदुर किसान पार्टीले ८ हजार ९१३ मत पाएका छन्।
कर्णालीमा प्रदेश सभातर्फ समानुपातिकमा ६ वटा दलले नै थ्रेसहोल्ड कटाएका छन्।
मतका आधारमा सिट पाउनेमा नेमकिपा बाहेकका पाँच वटा दल छन्। कसले कति सिट पाउने भन्ने एकिन भने छैन।
प्रदेशसभामा विभिन्न कलष्टरबाट १६ जना समानुपातिक सांसद चुनिनेछन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फका २४ सिटमा कांग्रेस र माओवादी ९–९, एमाले ५ र स्वतन्त्रले एक सिट जितेका छन्।
गठबन्धनमा प्रत्यक्षतर्फको जम्मा सिट जोड्दा प्रदेश सभामा १८ जना सांसद हुन्छन्। यद्यपि जुम्लामा स्वतन्त्र जितेका सांसद नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका थिए। प्रदेश सभापति ललितजंग शाहीविरूद्ध उम्मेदवारी दिएर जितेका उनले सरकार बनाउँदा आफ्नै दलतर्फ फर्किए भने १९ जना सांसद प्रत्यक्षतर्फकै हुन्छन्।
प्रदेशमा समानुपातिकतर्फको मत हेर्दा सत्ता गठबन्धनभित्रको कांग्रेसले ५, माओवादीले ४ र एकीकृत समाजवादीले १ जना सांसद पाउन सक्छन्।
समानुपातिकतर्फको मतका आधारमा कर्णाली प्रदेशमा एमालेले पनि पाँच जना थप सांसद पाउने देखिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक जना सांसद पाउने देखिन्छ।
यदि यही अनुपातमा सत्ता गठबन्धनभित्रका दलहरूले सांसद पाएमा र स्वतन्त्र जितेकाले समर्थन गरेकोमा २८ जना सांसद गठबन्धनकै हुन्छन्।
४० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि २१ जनाको बहुमत भए पुग्छ।
समानुपातिकसहित कर्णाली प्रदेश सभामा एमालेका १० जना सांसद हुनेछन्। यदि गठबन्धनकै सरकार बनेमा एमाले प्रमुख प्रतिपक्षी दल बन्न सक्छ।
२०७४ मा पनि कर्णाली प्रदेश सभामा राप्रपाका एक जना सांसद थिए। संसद्को पहिलो अवधिमा राप्रपाले कतै पनि समर्थन नगरी एकल बसेको थियो।
यो पटक पनि राप्रपाले के गर्छ भन्ने कुरा हेर्न बाँकी छ।