लुम्बिनीमा कुनै दलको बहुमत छैन, तर सुरु भयो मुख्यमन्त्रीको प्रतिस्पर्धा

लुम्बिनीमा कुनै दलको बहुमत छैन, तर सुरु भयो मुख्यमन्त्रीको प्रतिस्पर्धा

बुटवल : लुम्बिनी प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम आइनसक्दै आगामी सरकारबारे जोड घटाउ सुरु भएको छ। प्रदेशमा कुनै दलले सरकार बनाउने सुविधाजनक बहुमत भने पाएका छैनन्।

लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय प्रदेशसभा छ।

५२ जनाको टुङ्गो लागे पनि ३५ जनाको केही दिनमा टुङ्गो लाग्नेछ।  ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेका १८ सांसदले जितेर ठुलो दल बनेको छ।

२०७४ सालको चुनावको तुलनामा एमालेले नौ सिट गुमाएको छ। त्यस बेला एमालेले प्रत्यक्षतर्फ २७ सिट जितेको थियो। २०७४ मा सात सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा यस पटक १७ सिट जितेको छ।

कांग्रेस दोस्रो हुँदा तेस्रो स्थानमा माओवादी केन्द्र छ। माओवादीले प्रत्यक्षमा पाँच सिट जितेको छ।

यसअघि ०७४ को चुनावमा वाम गठबन्धन हुँदा माओवादीले १४ सिट जितेको थियो। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट सुरक्षित गरेको छ। यस्तै लुम्बिनी प्रदेश सभामा माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीन जना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन्।

अघिल्लो प्रदेश सभामा पाँच दलको सहभागिता रहेकोमा यस पटक सरकारमा कम्तीमा आठ दलको प्रतिनिधित्व हुने देखिन्छ।

कसले जुटाउँला बहुमत ?

लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। ४४ सांसद पुर्याउन दलहरूले साना दलहरूलाई साथमा ल्याउनुको विकल्प देखिँदैन।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्ने दाबेदारहरूमा एमालेबाट लीला गिरी हुन्। रुपन्देही क्षेत्र नं. २(१) बाट निर्वाचित भएका गिरी लुम्बिनी प्रदेशका पूर्व पर्यटन तथा उद्योग मन्त्री भएका थिए।

गिरी बाहेक एमालेकै नेता भुमिश्वर ढकाल पनि मुख्यमन्त्रीका अर्का दाबेदार हुन्। रुपन्देही क्षेत्र नं. ५(१) बाट निर्वाचित भएका ढकाल एमाले लुम्बिनी प्रदेश सभाका पूर्व प्रमुख सचेतक हुन्।

एमाले नेतृत्वको सरकार बनेको अवस्थामा गिरी र ढकाल मध्ये कुनै एकले नेतृत्व समाल्ने देखिन्छ।

यता कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार हुन महासमिति सदस्य समेत रहेका डिल्ली चौधरी। दा क्षेत्र नं ३(१) बाट निर्वाचित चौधरी कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो मुख्यमन्त्रीका दाबेदार हुन्।

यसै गरी रुपन्देहीका अब्दुल रज्जाक पनि कांग्रेस भित्र मुख्यमन्त्रीका दाबेदार देखिएका छन्।

सङ्घीय सांसदमा पूर्व खानेपानी मन्त्री तथा राज्यमन्त्री समेत भएका रज्जाक कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति हुन्।

यस पटकको निर्वाचनमा रज्जाक सङ्घीय सांसदकै लागि आकाङ्क्षी थिए। तर उनलाई टिकट दिँदा भावी मुख्यमन्त्री हुने भन्दै प्रदेशमा टिकट दिएका थिए। उनी रुपन्देही क्षेत्र नं. १(२) बाट निर्वाचित भए।

काङ्ग्रेसबाटै अर्का दाबेदार हुन दाङ २(१) बाट निर्वाचित कांग्रेस प्रदेश उपसभापति राजु खनाल।

माओवादीले यदि सरकारको नेतृत्व पाए माओवादीबाट रोल्पाका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने बलियो सम्भावना देखिन्छ। उनी रोल्पा १(१) बाट निर्वाचित भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव समेत भइसकेका महरा माओवादीबाट मुख्यमन्त्रीमा आकाङ्क्षी रहेका गुल्मीका सुदर्शन बराल पराजित भएसँगै मुख्यमन्त्री बन्ने बाटो सहज भएको हो।

मुख्यमन्त्री बन्छु भन्नेले जितेनन्

कांग्रेसबाट मुख्यमन्त्री दाबी गरेका यसअघिका संसदीय दलका नेता वीरेन्द्र कनौडिया कपिलवस्तु ३ (२) मा पराजित भए।

कांग्रेस प्रदेश सभापति अमरसिंह पुन रोल्पाबाट पराजित भए। यता एमालेबाट मुख्यमन्त्रीका दाबेदार रहेका दधिराम न्यौपाने रुपन्देही १(२) बाट पराजित भए। दाङ ३(१) बाट घनश्याम पाण्डे पराजित भए।

माओवादीबाट मुख्यमन्त्रीका आकाङ्क्षी रहेका सुदर्शन बराल गुल्मी १(१) बाट पराजित भए।

शङ्कर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री समेत भएका बराल आफू पराजित भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा समेत दिइसकेका छन्।  

१४ मंसिर, २०७९, १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।