एजेन्सी : बलिउड अभिनेता फरदीन खान विगत केही वर्षदेखि फिल्मी पर्दाबाट टाढा छन्। यससँगै अब उनी १२ वर्षपछि फेरि फिल्ममा देखिने भएका छन्।
उकेरा कला
गत वर्ष, रितेश देशमुखसँगको फिल्ममा फरदीनको कमब्याक घोषणा गरिएको थियो। यसअघि चलचित्र हलमा रिलिज हुने तय भएको फिल्म अब भने सिधै ओटीटीमा आउने बताइएको छ। फिल्मलाई सञ्जय गुप्ता र भुषण कुमारले निर्माण गरेका हुन्।
मिडिया रिपोर्टका अनुसार फरदीन खान कुकी गुलाटीको फिल्म ‘एक्सप्लोड’बाट पुनः पर्दामा फर्किन लागेका हुन्। सञ्जय गुप्ताले निर्माण गरेको यो फिल्म गत वर्ष सेप्टेम्बरमा हलमा रिलिज हुने घोषणा गरिएको थियो।
तर, हालै सञ्जय गुप्ताले फरदीन खानको कमब्याक फिल्म सिधै ओटीटीमा स्ट्रिम हुने बताए। एक अन्तर्वार्तामा सञ्जय गुप्ताले बक्स अफिसको परिस्थितिका कारण फिल्मलाई २०२३ मा सीधै ओटीटीमा रिलिज गर्ने निर्णय गरिएको बताए।
साउथ मुम्बईमा छायांंकन भएको फिल्ममा फरदीन र रितेशका अलावा प्रिया बापट, क्रिस्टल डिसुजा, सीमा बापट र शीबा चड्डाको पनि अभिनय रहेको छ।
फिल्म हलमा रिलिज नगर्नु र ओटीटीमा रिलिज गर्नुको कारणबारे उनले भने, ‘यी फिल्मलाई हलसम्म पुर्याउने र ठुलो कमाइ गर्ने कुनै भ्रम हामीले पालेका छैनौं। कोरोनापछि बलिउडलाई ट्रयाकमा फर्किन दुई वर्ष लाग्ने मलाई थाहा थियो।’
यससँगै सञ्जय गुप्ताको प्रोडक्सन हाउसले थप तीनवटा फिल्म बनाइरहेको छ। यी फिल्महरू पनि ओटीटीमा नै रिलिज हुनेछ।
२०७९ मंसिर १४ गते ११:५२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।