विश्वकप फुटबल : समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश, आयोजकले १ खेल पनि जितेन

विश्वकप फुटबल : समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश, आयोजकले १ खेल पनि जितेन

काठमाडौं : कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ बाट युरोपेली देश नेदरल्याड्स समूह विजेता तथा अफ्रिकी देश सेनेगल उपविजेताका रुपमा नकआउट चरणमा पुगेका छन्।

समूह चरण अन्तर्गत मंगलबार राति भएका आ–आफ्ना खेलमा जित निकाल्दै उनीहरूले अघिल्लो चरणको यात्रा तय गरेका हुन्। नेदरल्याड्सले आयोजक कतारलाई २–० ले पराजित गर्यो।

उसको जितमा २६औं मिनेटमा गाक्पो तथा ४९औं मिनेटमा डी जोंगले गोल गरे। दुई खेलमा जित र एकमा बराबरी गरेको नेदरल्याड्स ७ अंकसहित समूह विजेता बन्यो।

उता, सेनेगलले दक्षिण अमेरिकी देश इक्वेडरलाई हराएर समूह उपविजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गर्यो।

सेनेगलले इक्वेडरलाई मंगलबार राति भएको खेलमा २–१ ले पराजित गर्यो। उसका लागि ४४औं मिनेटमा पेनाल्टी मार्फत सार तथा ७०औं मिनेटमा कौलिबालीले गोल गरे। इक्वेडरका लागि ६७औं मिनेटमा काइसेडोले एक गोल गरे।

दुई खेलमा जित र एकमा पराजित भएको सेनेगल ६ अंकसहित समूह उपविजेता बनेको हो। चार अंक बनाएको इक्वेडर भने समूह चरणबाटै बाहिरिन बाध्य भयो। आयोजक कतार भने एक खेल पनि नजिती बाहिरियो।

१४ मंसिर, २०७९, ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।