जब थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए…

जब थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए…

काठमाडौं : मङ्गलवार बिहान थापाथलीमा रहेको सुकुम्वासी बस्ती पुग्दा पुरै बस्ती आगोको धुवाँमा लतपतिएको थियो।

नगर प्रहरी डोजर लिएर आउँछन् कि भनेर बच्चादेखि वृद्धसम्म हातमा लट्ठी बोकेर बसेका थिए।

सबैको अनुहारमा नील डाम देखिन्थ्यो। कोही खल्च्यांग खल्च्यांग गर्दै हिँडिरहेका थिए।  एक स्थानीयवासीले आक्रोशित हुँदै भने, ’हिजो पो हाम्रो तयारी थिएन। उनीहरू आइहाले। ल आज हेरौँ त कसरी आउँदो रहेछ!’

डर सँगै आक्रोश बोकेर उनीहरू समूह समूहमा बसेर सोमबार भएको घटनाबारे कुरा गर्दै थिए।

OOO

सोमबार दिउसो करिब १२ बजेतिर एक हुल नगर प्रहरी डोजर र केही पानीको ट्याङ्कर सहित थापाथली बागमती खोला नजिकको बस्ती छिरे।

मध्ये दिउसो भएकाले त्यहाँका अधिकांश पुरुषहरू काममा गइसकेका थिए। बस्तीमा बाँकी थिए किरिया बसेका परिवार, गर्भवती महिलाहरू, स–साना बालबालिका र घाम तापिरहेका महिला।

उनीहरूले ’अब बालेन (महानगरले) घर भत्काउन आउदैछ’ भन्ने सुनेको धेरै भयो। काठमाडौं महानगरपालिकाले काठमाडौँको फुटपाथ खाली गर्न थालेदेखि नै उनीहरूले यस्तै सुन्दै आए। तर कहिले आउँछन् थाहै भएन रे।

एकाएक नगर प्रहरीहरू बस्तीमा देख्नसाथ आत्तिँदै कोही काममा गएका घरका सदस्यलाई फोन गर्न थाले। कोहो सामान निकाल्न दौडिए।

तर केही बेरमै बस्ती रण मैदान बन्यो।

सुकुम्वासी बस्तीवासीले ढुङ्गा, इट्टा जे भेटिन् टिपेर हान्न थाले। कोही रड बोकेर निस्किए। कोही खुकुरी बोकेर निस्किए। अनि केही युवा मदिराका खाली बोतललाई पेट्रोल बम बनाउन थाले।

बस्तीवासीले नगर प्रहरीमाथि आक्रमण सुरु गरे। बिच बाटोमा टायर बाले। डोजर फोडे। नगर प्रहरी नफर्किएसम्म चर्को नारा लगाइराखे ।

बस्तीका मानिसहरूको आक्रमणमा परेर महानगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भए। तीमध्ये तीन जनालाई त आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्था आयो ।

महानगर राति घर भत्काउन आउँला भनेर एक समूह रातभर लट्ठी सहित जाग्राम बसे।सामूहिक खाना खाए।

निकालेको सबै सामान भित्र राख्ने आँट पनि गरेनन्।बाहिरै रह्यो सामानका पोकाहरू।

OOO

मङ्गलवार उनीहरूलाई समर्थन गर्न मनोहर खोला किनार अनि बल्खु सहित अन्य क्षेत्रका सुकुम्वासी पनि आएका थिए थापाथलीमा।

'हाम्रो हतियार देख्यो, हतियार उठाउनु पर्ने कारण देखेन !’

उनीहरू महानगरका मेयरसँग मात्रै हैन मिडियासँग पनि धुनधान रिसाएका रहेछन्।

'हामीले खुकुरी उठायो भनेर हालेछन्। तर, हामीले किन खुकुरी उठायौँ भनेर हाल्नु पर्दैन? पुलिसहरू यति जना घाइते भनेर हालेछन्। अनि हामी कति जना घाइते भयौँ भनेर देखाउनु पर्दैन?’ एक स्थानीय मिडियाकर्मी देखेर झोक्किइरहेका थिए।

आँसु पुछ्दै उनले भने, ’हामीहरू त कोही हस्पिटल पनि गएको छैन। सबै जना नीलडाम र सुन्निएको जिउ बोकेर यतै बसेका छन्। पुलिसले कुट्दा हामीलाई चैँ दुख्दैन?’

यस अगाडि डा बाबुराम भट्टराइको पालमा त्यही क्षेत्रको बस्ती उठाउने प्रयास भएको थियो। तर सरकार सफल भएन।

यसअघि बस्ती हटाउन खोज्दा तीन जनाको हृदयाघात भएर मृत्यु भएको उनीहरू दाबी गरिरहेका थिए। आधा दर्जन गर्भवती महिलाको गर्भ तुहिएको बताइरहेका थिए।

एक सय ४२ परिवारको बस्ती

बस्तीमा करिब १ सय ४२ घर छन्। अधिकांश घर बाँसले बनाइएको छ। छाना प्लास्टिकको छ। केही भूकम्पपछि आएका त कोही २ दशकदेखि त्यही बसेका पनि भेटिए। धेरैजसो बेरोजगार अनि केही मजदुर रहेछन्।

उनीहरू घर भत्काउन आए प्रतिकार गर्ने तयारीसाथ बसेका थिए। तर राज्यसँग कसको के लाग्छ र। कतै आएर लखेटी पो हाल्छ कि भनेर सोमबार पोको पारेको सामान भने टहराभित्र लगेका थिएनन्। बाहिरै थियो।

’हिजो लौरो बालेनले बोके। तर हामीलाई बजाउन बोकेको रहेछन् भनेर सोचिएन,' अर्का एक बस्तीवासी भन्दै थिए' आज हामीले नै लौरो बोक्नुपर्यो।'

उनले बुढेसकालको सहारा हुन्छ भोट हालेको लौरो अहिले आफैँलाई लखेट्न आउँदा नराम्रोसँग चित्त दुखेको बताए।

'बालेनले लौरो त समायो तर, कहाँ टेक्न खोज्यो भनेर राम्रोसँग बुझोस्’रिसाउँदै उनले भने।

पटक पटकको हल्ला जब साँचो निस्कियो

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले नदी किनारामा निर्माण भएका घर टहरा, त्यहाँ राखिएका निर्माण सामग्री अनि सवारी साधन हटाउन सार्वजनिक सूचना जारी गरेको उनीहरूलाई थाहा रहेछ।

तर यस्ता सूचना अनि हल्लाहरू आइरहन्थे। जसरी आउँथ्यो त्यसरी नै हराउँथ्यो। उनीहरू यो पनि त्यसै हराउने हल्ला होला भनेर ढुक्क बसे।

सूचनाअनुसार मङ्सिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नु पर्ने भए पनि बस्ती भने हटेन। सोमबार समितिका पदाधिकारी महानगरका नगर प्रहरी र डोजर बोकेर बस्ती पुगे। तर अन्त सहजै हटाए झैँ त्यहाँ सहज भएन।

स्थानीय प्रहरी प्रशासन नलिई गएका महानगरका प्रहरीलाई स्थानीयले तितरबितर बनाए। केही घाइते त केही गम्भीर घाइते नै भए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममै नगर प्रहरीमाथि आक्रमण भएको दाबी गर्छन्।

उनले महानगर प्रहरीमाथि आक्रमण गर्नेहरूको नाम खुलाएर कानुनी कारबाहीका लागि काठमाडौं प्रहरी परिसर टेकुमा पत्राचार गरेको जानकारी समेत दिए।

थापाथलीको सुकुम्वासी हटाउने विषय मङ्गलवारसम्म महानगर र त्यहाँ बस्नेको मात्र विषय भने रहेन। एमाले अध्यक्ष केपी ओलीले मेयर बालेन्द्र शाहलाई एक कार्यक्रममा कटाक्ष गरेपछि उनले सामाजिक सञ्जालमार्फत ३२ वर्ष चैँ के गर्यौँ भन्दै प्रश्न सोधेका छन्।

सामाजिक सञ्जालमा थापाथली क्षेत्रमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्वासी हुन् कि हुकुमवासी भन्ने बहस चर्किएको छ। नगर प्रहरीलाई लखेट्नेहरू कुन दलका हुन् भनेर केहीको पोल पनि खुलिरहेको छ सञ्जालमा।

तर मङ्गलवार थापाथली बस्तीबाट बिदा हुँदा उनीहरूको आजको रात पनि अनिदो हुने पक्कापक्की देखियो। किनकि सञ्जालमा भएको बहसले राज्यलाई छोएको छैन। न राज्यले पुन बस्ती छाड्न सूचना नै दिएको छ न को सुकुम्वासी अनि को हुकुमवासी छानबिन गरेर मात्र हटाउँछु भनेर विश्वस्त नै बनाएको देखियो।

उकेराकर्मी हिँड्ने तरखरमा रहँदा बस्तीका युवाहरू भने मङ्गलवार बेलुका बस्तीमा पालो बस्नेहरू छान्दै थिए।

१३ मंसिर, २०७९, २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।