ओलीप्रति बालेनको कटाक्ष– ‘दुईतिहाइको सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन?

ओलीप्रति बालेनको कटाक्ष– ‘दुईतिहाइको सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन?

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीहरूलाई भोट बैंक बनाएको आरोप लगाएका छन्।

सोमबार थापाथलीको सुकुम्बासी बस्ती महानगरको टोली भत्काउन गएपछि मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सुकुम्बासी बस्तीमा तमासा गरिएको भनेपछि प्रमुख साहले यस्तो आरोप लगाएका हुन्।

प्रमुख साहले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौं सुकुम्बासी समस्या समाधान गर्न नसकेको र दुईतिहाइको सरकारको प्रधानमन्त्री हुँदासमेत सुकुम्बासीले भोगेको ३२ वटा जाडो नदेखेको टिप्पणी गरे।

उनले भने, ‘सुकुम्बासीहरू तपाईंका लागि भोट बैंकमात्र रहे, बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो, त्यो पनि राजनीतिक स्वार्थवश्।’

प्रमुख साहले सुनधारा सकेर सेतो टावर खडा गरेको तथा हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिएको विषयमा समेत प्रश्न गरेका छन्।

‘तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्त्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो?’ उनले लेखेका छन्, ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन।’
 
अहिले परिस्थिति फेरिएको भन्दै प्रमुख साहले सकेको सहयोग गर्न र नसके कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन्।

१३ मंसिर, २०७९, १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।