उकेरा मन्थन

ब्लग

महिला हिंसाविरुद्ध 'सडक नाटक' गर्दाको अनुभव: 'मलाई प्रहार गर्नेहरूलाई टोक्न, भुत्ल्याउन मन लागिरहेको हुन्छ'


नाटक गर्नुअघि लगभग दिमाग शून्य थियो। आफ्नो भूमिका मात्र याद थियो। त्यत्तिमै सीमित भएर म र मेरा दुई साथी रातो टिसर्ट लगाएर मञ्चमा प्रवेश गर्छौँ।

हाम्रो अनुहार सेतो ब्यान्डेजले बाँधिएको हुन्छ। दुवै हातमा रङ्गीचङ्गी कागजका चराहरू धागामा बाँधिएर बसेका हुन्छन्।

चरा खुला आकाशको विम्ब हो। चरा स्वतन्त्रताको प्रतीक हो। चरा उँचाइको विम्ब हो। चरा उडानको विम्ब हो र चरा सबैसबै संङ्कुचन, द्वेष, बाध्यता र शोषित हुनुको मनोभावमाथि उठ्नु या उठाउन खोज्नुको सांकेतिक प्रतीक हो।

हामीले समातेको चराको पृष्ठभागमा लेखिएको थियो- 'पीडितलाई आरोपित नगरौँ', 'नो मिन्स नो', ‘बी बोल्ड फर चेन्ज’, 'आई एम जेनेरेसन इक्वालिटी: रिअलाइजिङ विमन्स राइट्स', 'खबरदार', 'जेन्डर इक्वालिटी इज अ ह्युमन फाइट, नट अफ फिमेल फाइट', 'डियर मम्, एम फाइटिङ फर यू', 'महिला सशक्तीकरणः व्यवहारमा उतारौँ’ आदिआदि।

आफ्नो काममा हिँडिरहेका मानिसहरू कोही बसको झ्यालबाट त कोही बाइक चलाइरहँदा पनि हामीतिर मुन्टो फर्काएर हेरिरहेका हुन्छन् भने कोही टक्क हाम्रो मञ्चअघि रोकिएका हुन्छन्।

यसबीचमा हामी विस्तारै मञ्चभित्र छिर्छौं र विस्तारै स्वतन्त्रपूर्वक आफ्नो हात माथि उठाएर फैलाउँछौँ। जसमा हामीले स्वतन्त्रताको निम्ति आफू र आफू जस्तै महिलाहरूले गर्नुपरेको सङ्घर्ष र त्यसमा हुने बाधाहरूलाई प्रस्ट्याउन खोजेका हुन्छौँ।

हाम्रो समाजमा महिलाहरू कसरी बाँधिएर बसिरहेका छन्। स्वतन्त्रताको निम्ति आवाज उठाउँदा उनीहरूमाथि कस्ता प्रहार हुने गर्छन् त्यसलाई पनि हामीले आफू मार्फत् प्रतिविम्बित गर्न खोजेका हुन्छौँ। 

हाम्रो समाजमा महिलाहरूलाई एउटा कुनै फोहोरको थुप्रोबाट काम लाग्छ कि भनेर ल्याइएको सामान जस्तो सोचिन्छ। मन परेको र चाहिएको समयमा त्यसको भरपुर प्रयोग गरिन्छ भने नचाहिने बेला त्यसलाई फेरि फोहोरकै थुप्रोमा लगेर फ्याँकिन्छ। 

सुरुमा मलाई खासै महसुस भएको थिएन। मात्र म एउटा नाटक गरिरहेकी छु भन्ने थियो। तर, जब हामीमाथि लैङ्गिक विभेदलाई अँठ्यारहेका पितृसत्तात्मक राज्यव्यवस्थाको प्रतिनिधित्व गरिरहेका पुरुष कलाकारहरूको आगमन हुन्छ, जब उनीहरू हामीले समातेका चराको पृष्ठभागमा लेखिएका स्लोगनहरूलाई जानाजान च्यात्ने, टोक्ने, लुछ्ने, चपाउने, कुल्चिने एवम् थुक्ने र टुक्रा-टुक्रा बनाउन थाल्छन्, त्यसपछि मैले मेरा साथीहरू के गर्दैछन् सबै बिर्सिन्छु। 

हाम्रो नाटकमाथिको मेरो भूमिका बिर्सिन्छु। मात्र मलाई बेस्कन चिच्याउन मन लागिरहेको हुन्छ। रुन मन लागिरहेको हुन्छ। जसले मलाई प्रहार गरिरहेको छ। ती कलकारहरूलाई टोक्न, भुत्ल्याउन मन लागिरहेको हुन्छ। 

यस्तो लाग्छ म नाटक होइन वास्तविकता प्रकट गरिरहेकी छु। नाटकीय रूपमा होइन वास्तविकतामा नै ममाथि प्रहार भइरहेको छ। 

मेरो गर्धन कसैले अट्ठ्याइरहेको छ। मेरो खुट्टा कसैले तानिरहेको छ। मेरो हात कसैले बाँधिदिएको छ। 

यी सबै भइरहँदा पनि म जबर्जस्ती आफूलाई सम्हाल्छु। र आफ्नो नाटकप्रतिको भूमिकामा केन्द्रित हुन खोज्छु।

हाम्रो समाजमा महिलाहरूलाई एउटा कुनै फोहोरको थुप्रोबाट काम लाग्छ कि भनेर ल्याइएको सामान जस्तो सोचिन्छ। मन परेको र चाहिएको समयमा त्यसको भरपुर प्रयोग गरिन्छ भने नचाहिने बेला त्यसलाई फेरि फोहोरकै थुप्रोमा लगेर फ्याँकिन्छ। 

यसरी महिलाहरूलाई मनलाग्दो हिसाबले चलाइन्छ र प्रयोग गरिन्छ। तर, पछिल्लो समय यसको निम्ति कतिपय महिलाहरूले थाहा नभएर पनि आवाज उठाउन सकेका छैनन् भने कतिपय आवाज उठाउनेलाई पनि डर, धम्की दिने पनि गरिन्छ। 

हाम्रो समाजमा घरपरिवार, आफन्त, समाज र इज्जतको बेवास्ता गर्दै नितान्त आफ्नो लागि लड्ने महिला अझै एकदमै कम छन्।

तर, ती डर, धम्की, आक्रमण र प्रहार सबैबाट मुक्त भएर हामीले भने महिला हिंसाविरुद्धको अभियानलाई गति दिइरहेका हुन्छौँ र ती पुरुषहरूलाई धकेलिदिन्छौँ जसले पुरुष भएकै कारण हामीलाई हेपिरहेका हुन्छन्। 

यसको अर्थ हामीले संयुक्त रूपमा प्रयास गर्‍यौँ भने हामी यो पित्तृसत्तात्मक समाजसँग लड्न सक्छौँ भन्ने पनि हो। 

त्यसपछि हामिले छरिएका/च्यातिएका/मिल्किएका 'चराहरू' बटुलबाटुल पार्न थाल्छौँ र आफूले जोगाइराखेका केही सग्ला चराहरू आकाश ताकेर उडाउँछौँ। उडिरहेको चराहरू हेर्दै मुस्कुराउँछौँ।

सबैले हामीले उडाएको चरासँगै अन्य चराहरू पनि उडाउन थाल्छन्। ती खुल्ला आकाशमा उडिरहेको देखेर खुशी हुँदै ताली बजाउन थाल्छन्।

नोभेम्बर २४ देखि विश्वव्यापी रूपमा सुरु भएको यस १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान डिसेम्बर १० सम्म चल्नेछ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। 

एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....