नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: आज उरुग्वेको नाटक ‘रियो’ मञ्चन हुने

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: आज उरुग्वेको नाटक ‘रियो’ मञ्चन हुने
तस्बिर: रिजन परियार/निटफेस्ट

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मध्यतिर आइपुगेको छ। ९ दिनसम्म आयोजना हुने महोत्सव आज मङ्गलबार पाँचौँ दिनमा आइपुगेको छ।

आज दुई नाटकको अलवा नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदैछ। निटफेस्टमा मङ्गलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा हुनेछ। ‘ट्रि कन्फेसन’मा मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ।

दर्शक/श्रोताहरूले रुखमुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन्। यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन्।

त्यस्तै मङ्गलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ पनि दिउँसो १२ र ४ बजे मञ्चन हुँदैछ। यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको शहरको कथा भन्छ।

जब दुई जना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, उनीहरूको यात्राले मानवताका धेरै पत्रहरू खुलाउँदै जान्छ।

यसअघि हिजो मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदैछ। केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरूसँगै आफूभित्रको विचारहरूलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरू याद गर्ने प्रयास गराउनेछ।

पाँचौँ दिनको अन्तिम प्रस्तुतिस्वरूप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदैछ। नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन्। यस प्रस्तुतिमा सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्षहरू पछ्याइएको छ।

‘पाइतालाका यात्रा’मा मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम रिजवान थापा र सबिना पोखरेलको प्रस्तुति रहनेछ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।

१३ मंसिर, २०७९, १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।