सोविताले बोकेको गह्रुँगो सपनाले उनैलाई थिच्ला कि पार लाग्ला !

सोविताले बोकेको गह्रुँगो सपनाले उनैलाई थिच्ला कि पार लाग्ला !
तस्बिर : सोविताको फेसबुकबाट

काठमाडौं : एसोसिएसन अफ यूथ नेपालको अध्यक्षको उम्मेदवार बनेर पराजित हुँदा सोविता गौतमलाई निकै चित्त दुखेको थियो। पहिलो महिला अध्यक्ष बन्ने उनको लक्ष्य पुरा भएन त्यहाँ। त्यही सोविता अहिले काठमाडौं निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भइन् त्यो पनि सशस्त्र विद्रोहबाट उदाएकी ओनसरी घर्तीलाई चौथो बनाएर।

कुनै समय माधव नेपाललाई हराएर झक्कुप्रसाद सुवेदी उदाएको क्षेत्र हो काठमाडौं-२। झक्कुप्रसादले माधव नेपाललाई हराउँदा जति सनसनी फैलिएको थियो त्यति सनसनी भने फैलिएन २७ वर्षिया सोविताको जितमा।

सोविताले जित्छिन् या अन्य कुनै उम्मेदवारले त्यो प्रस्ट थिएन। तर स्थानीय राजनीतिमा काठमाडौं-२ सँग साइनो नै नभएकी ओनसरी पाँच दलको मतदाताको आडमा उम्मेदवार बन्दा मतदाताले स्वस्तिक छाप मार्फत विद्रोह गर्ने सङ्केत प्रारम्भमै देखिएको थियो।

त्यो विद्रोहको मत स्थानीय एमाले उम्मेदवार मणिराम फुयाँल वा समाजसेवाबाट काठमाडौं-२ मा भिजेकी कुन्तीदेवी पोखरेलको पक्षमा पनि जान सक्थ्यो। तर गएन। मणिराम दोस्रो भए अनि कुन्तीदेवी तेस्रो भइन्। १५ हजार २ सय ३८ मत पाएर सोविता सम्भवतः यो प्रतिनिधि सभाको कान्छी सदस्यको रूपमा निर्वाचित भइन्।

OOO

सोविता गौतमको जीवनचक्रलाई केही महिना अगाडि फर्काउने हो भने उनी कतै कार्यक्रम चलाइरहेको अवस्थामा भेटिन सक्थिन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कुनै कोठामा ऐन/नियम पल्टाइरहेको भेटिन सक्थिन्।

उनी उमेरमा मात्रै हैन उनका प्रतिस्पर्धीको राजनीतिक यात्राको वर्ष गणना गर्ने हो भने पनि कमै उमेर हो। युवाहरूको सञ्जालमा रहेर काम गरेको अनुभव थियो उनीसँग। कानुनको औपचारिक ज्ञान। अनि नेपाल टेलिभिजनमा कार्यक्रम चलाएको अनुभवले विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा बोल्ने कला तिखारिइसकेको थियो उनको। कार्यक्रम सञ्चालनकै क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिन पुगिन् र काठमाडौँ २ बाट उम्मेदवार बन्दै सांसद पनि बनिन्।

उनको संसदीय यो पहिलो विन्दु हो। यात्राको पहिलो खुट्किलो। तर अहिले जे नतिजा आयो पाँच वर्षमा त्यही दोहोरिन्छ भन्ने पक्का छैन। किनकी हिजोका निर्वाचनका परिणामहरूले काँठका मतदाताको रोजाई स्थिर देखाउँदैन। वाचा हैन काम गर्ने प्रतिनिधी नआएसम्म उनीहरु स्थिर हुने सम्भावना पनि देखिन्न।

यो क्षेत्रबाट जो-जो उदाए माधव नेपाल बाहेक अन्य त्यसरी नै हराए। चर्चित लेखक अनि सोही क्षेत्रका स्थानीय नारायण ढकाल त्यही क्षेत्रबाट सांसद बनेका थिए। तर उनी दोहोरिन सकेनन्। दीपक कुइँकेल त्यही क्षेत्रका सांसद थिए। तर उनी पनि सांसद बनेका थिए भन्न 'नेपालका सांसदहरू' भन्ने परिचय पुस्तिका नै पल्टाउनु पर्ने अवस्था छ।

माधव नेपाललाई हराएर क्षेत्र नम्बर २ मा उदाएका झक्कूप्रसाद सुवेदीको अवस्था पनि उस्तै छ गुमनाम। त्यस क्षेत्रको परिचित सांसद माधव नेपालै हुन् जो सक्रियताको हिसाब राजनीतिक यात्राको अन्तिम ओभरतिर छन्। यही बेला जोखिमपूर्ण निर्वाचन क्षेत्रबाट उदाइन् सोविता।

यो जोखिमबारे उनी पनि जानकार छिन्।

‘यस क्षेत्रमा म सानै देखि बसेको हो। यहाँको नागरिकसँग म भिजेको छु। यस क्षेत्रबाट निर्वाचित हुनु भएका अग्रजहरू राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म बने पनि यो क्षेत्र पिछडिएकै क्षेत्रमा पर्छ। चुनावको बेला मैले जे भनेको छु वाचा पूरा गर्छु’उनले उकेरासँग भनिन्।

OOO

चुनावताका सोविताले निर्वाचन अगाडि गरेको एक भाषण भाइरल भएको थियो सामाजिक सञ्जालमा।

करिब ५ मिनेटको भाषणमा उनले पुराना दलका नेतालाई गाली नै नगरी व्यवस्था परिवर्तनको लागि धन्यवाद दिँदै समान विकास गर्न नसकेकाले अब नयाँ दल आउनु पर्ने बताएकी थिइन्।

‘छोटो इतिहास बोकेको अमेरिका आज कहाँ छ। हामीले चामल दान दिएको दक्षिण कोरिया कहाँ छ?, दोस्रो विश्वयुद्धले ध्वस्त भएको जापान आज कहाँ छ?' उनले भनेकी थिइन्'हाम्रो देशको विकास किन भएन? हिजो लिक्ष्छवीकालमा स्वर्णकाल मानिन्थ्यो हाम्रो देश आज किन गरिब भयो? हाम्रो हरियो पासपोर्टको भ्यालु किन कमजोर भयो? अब यो देश बनाउन शीर्ष नेताले छाड्नु पर्छ।’

उनले भाषणमा प्रश्न मात्रै सोधेकी थिइनन्। त्यसको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएको र आफू जस्तै सोविताहरु देशको बिँडो धान्न सक्षम रहेको दाबी गरेकी थिइन्।

‘छाना टाल्न बिदेसिएका नेपालीहरू देशको भ्वाङ टाल्न फर्किनुपर्छ। अक्सफोर्ड क्याम्ब्रीज जस्ता युनिर्भसीटीहरुमा पढाइरहनु भएका नेपालीहरू त्रिभुवन विश्वविद्यालयमा पढाउन फर्किनु पर्छ। अमेरिका जापान बेलायतका अस्पतालमा काम गर्नुभएका स्वास्थ्यकर्मीहरू जुम्ला,हुम्ला कालिकोटका अस्पतालमा काम गर्न फर्कनु पर्छ’ उनले भनेकी थिइन्।

उनको सम्बोधन बढो भावुक थियो र यथार्थ पनि। यदि उनको भनाई सुगा रटाई हैन भने उनले देखेको सपना पुरा गर्न यो पाँच वर्ष काफी छैन भन्ने पनि पक्कै बुझेको नै होला।

एक माघले जाडो जाँदैन भने जस्तै एक निर्वाचनमा जित्दैमा पक्कै नेता भइँदैन। प्रश्न गर्न जति सहज छ उत्तर दिन त्यति नै कठिन। 

यो चुनावमा उनको दायित्व प्रश्न गर्ने नै थियो। टन्न प्रश्न गरिन्। उनको प्रश्नले मतदाताको मन पनि छोयो। अब क्षेत्र नम्बर २ को प्रतिनिधि बनेर त्यही क्षेत्रमा फर्किदा प्रश्न हैन उत्तर बोकेर जानुपर्ने छ उनी।

छाना टाल्न बिदेसिएका नेपालीलाई देश फर्कने वातावरण बनाउन कुन-कुन योजना बन्यो? अक्सफोर्ड क्याम्ब्रीज जस्ता युनिर्भसीटीमा पढाइरहनु भएका नेपाली त्रिभुवन विश्वविद्यालयमा पढाउन फर्किन कुन नीति बन्यो?

अमेरिका-जापान अनि बेलायतका अस्पतालमा काम गर्नुभएका स्वास्थ्यकर्मीहरू जुम्ला,हुम्ला अनि कालिकोटका अस्पतालमा काम गर्न फर्कने कुन स्वास्थ्य नीतिको प्रस्ताव भयो?

उनी आफ्नो क्षेत्रमा फर्किदा यी प्रश्न पक्कै सोधिएला नै। 

त्यो बेलामा पुराना दलका पुराना सांसदहरूले दिने उत्तर' हामी सरकारमा छैनौँ, त्यही भएर गर्न सकिएन, सरकारमा पठाउनुस् न' भनेझैँ रेडिमेड उत्तर दिने जोखिम देखिन्छ। यसले काँठका मतदाताले पक्कै चित्त बुझाउने छैनन्। 'ए यी नानीले नि गफै दिएकी रैछिन्' भन्ने सन्देश गए उनको लागि पक्कै हितकर हुने कुरै भएन।

OOO

दोलखाको तामाकोसी गाउँपालिका जामुनेमा २०५२ मा जन्मिएकी उनको काठमाडौं-२ सँगको सम्बन्ध त्यति पुरानो पनि हैन। सोविताले २०६६ मा भक्तपुरको गट्ठाघरमा रहेका  विद्यादायिनी स्कुलमा अध्ययन गरिन्। त्यहीबाट एसएलसी उत्तीर्ण गरिन्।

५ वर्षे बिएएललबी सकाएर अधिवक्ता भइन्। पाँच वर्ष नेपाल टेलिभिजनमा स्वास्थ्य सरोकार कार्यक्रम चलाइन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सहायक कानुनी सल्लाहकारका रूपमा काम सुरु गरिन्।

विद्यार्थीकालमा पढाई सँगसँगै नेतृत्व विकासको तालिममा सहभागी भइन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा जोडिएर युवाको क्षेत्रमा काम गर्न थालिन्। एसोसिएसन अफ यूथ लिडरमा काम गरिन्। र राजनीतिमा प्रवेश गरेको छोटो समयमा माननीय बनिन्।

उनले भनिन्, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा काम गर्नाले नेतृत्व विकासबारे थाहा भयो। समाजसेवामा पनि लाग्न पाएँ। जसले मलाई आज यहाँ सम्म आउन सहयोग गर्यो।’

उनको उमेरजस्तै काठमाडौं २ सँगको सम्बन्ध काँचै देखिए पनि उनी आत्मविश्वासी देखिन्छिन्। उनी काठमाडौँमै हुर्केकाले यहाँको समाजलाई नजिकबाट बुझेको दाबी गर्छिन्।

उकेरासँगको छोटो कुराकानीमा सोविताले काठमाडौँ-२ लाई दुई तरीकाले बुझेको बताइन् 'ऐतिहासिक क्षेत्र तर विकासले पछि परेको।'  ग्रामीण र सहरी इलाकाको माग फरक रहेको र आफूले त्यही अनुसार काम गर्ने उनको दाबी थियो।

'सांसदको काम र जिम्मेवारीसँग म प्रस्ट छु. शिक्षा, स्वास्थ्यदेखि  सार्वजनिक सरोकारको विषयमा मैले जहिले नागरिकको अनुहार सम्झेर उहाँहरूको भावनाअनुरुप नै तथ्य र तथ्याङ्कमा टेकेर बोल्ने छु,’उनले भनिन्, वाह हाम्रो सांसद भन्ने बाटो बनाउँछु नै।’

उकेराकर्मीले उनीसँग कुरा गर्दा निकै आत्मविश्वासी देखिइन् उनी। भिजन देखिन्छ उनमा। अनि काम गर्ने हुटहुटी पनि। तर सहरी क्षेत्र कोटेश्वरका मतदातादेखि ग्रामीण भेग नाङलेभारेसम्मका मतदाताको चित्त बुझाएर वाह मेरो सांसद भन्ने बनाउन उनले कल्पना गरेजस्तो सहज भने पक्कै छैन।

प्रतिनिधि सभा सदस्य बन्ने पुराना दलका सबै सांसद अल्छी पक्कै थिएनन्। उनीहरूको लक्ष्य जनता झुक्काउने मात्र पक्कै थिएन। काम गर्ने हुटहुटी बोकेकाहरू पनि थिए। तर पाँच वर्षमै उनीहरूको त्यो हुटहुटी शिथिल बन्यो।

राज्यको संरचना अनि पुराना दलको पुरानै सोचले मात्रै उनीहरूको हुटहुटी पक्कै शिथिल भएको हैन नै। राज्यको स्रोत र क्षमताबारे जब उनीहरू जानकार भए तब बुझे' ए देशसँग पैसै रहेनछ। अनि कसरी खर्च गराउन सक्नु।'

उनले एक वाचा गरिन्‘यहाँको नागरिकहरूले पहिलेका सांसदहरू फर्कनु भएन भन्ने गुनासो धेरै छ। सांसद आउँदैनन् भन्ने गुनासो यहाँको नागरिकहरूको रहँदैन।’

उनले आफ्नै बोली कार्यान्वयन गर्ने हो भने यो वाचा पुरा गर्न भने उनलाई न साधन र स्रोतले रोक्न सक्छ र राज्य संयन्त्रले नै।

सांसद निर्वाचित भइसके पछिका उनको अन्तर्वार्ताहरू हेर्दा उनी 'प्लस टु त पास गरौँ न अनि त संसार मेरै हो' भन्ने सोच्ने टिनएजर जस्तै देखिएकी छिन्। जब प्लस टु पास भएर प्रतिस्पर्धामा उत्रिन्छन् अनि बल्ल किशोर-किशोरीले बुझ्छन्' अहो सपना देख्नु र कार्यान्वयन गर्नु त फरक कुरा रहेछ। सङ्घर्ष त बल्ल पो सुरु भयो।'

सोविताको पनि राजनीतिक सङ्घर्ष बल्ल सुरु भयो। 

अलमलमा रहेको उनको पार्टीको राजनीतिक दृष्टिकोण, उनी संलग्न पार्टीले चाहेको आर्थिक अनि सामाजिक लक्ष्य र त्यो लक्ष्यमा पुग्ने रणनीति, राजनीतिक चरित्र, पार्टीभित्र लोकतान्त्रिक पद्धतिको अभ्यास र नेतृत्व चुक्दा औँला उठाउन सक्ने वातावरण भए सोविता जस्ता धेरै नयाँ सांसदहरूले पुरानो शासन प्रणालीमा सुधार गर्न घण्टी हैन ब्यान्ड बाजा बजाउन पनि सक्छन्।

नत्र कुनै समय संविधान सभाकी कान्छी सभासद् गायत्री साहको इतिहास दोहोरिन पनि सक्छ। पूर्व सांसद गायन्त्रीको उत्थान र पतनबारे जानकारी नभएर गुगल गर्दा हुन्छ :)

यो पनि

१२ मंसिर, २०७९, १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।