नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन: ‘इम्ब्रिओनिक’ र ‘खुवालुङ’ मञ्चन हुने

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन: ‘इम्ब्रिओनिक’ र ‘खुवालुङ’ मञ्चन हुने

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ। चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ। त्यस्तै आजै नेपालका दुई नाटकको मञ्चन हुनेछ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ।

साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरू पोखरा थियटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन्।

यस्तै मध्यान्न १२ र दिउँसो ४ बजे नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ। साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटकले किराँती सभ्यताको इतिहासको रूपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथाबारे बताउँछ।

नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। केदारनाथ पौडेलको लेखन तथा निर्देशन रहेको यो नाटकमा रङ्गमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरू आउन थाल्नेछन्।

यसका साथै २ बजेदेखि एक विशेष कार्यशाला समेत रहेको छ। ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो।

त्यस्तै ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ।

१२ मंसिर, २०७९, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।