पूर्वी नवलपरासीमा अन्य ३ वटा प्रदेशसभामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित भएका रोशनबहादुर गाहा निवर्तमान प्रदेश सांसद हुन्। अन्य दुई जना नयाँ अनुहारका छन्।
उनले अघिल्लो कार्यकालमा आफू सांसद, मन्त्री हुदाँ पाएको सेवा सुविधा सवै सामाजिक कार्यमा खर्च गरेका थिए। कास्कीका प्रदेशसभाका ६ वटा क्षेत्रमध्ये उनी सहित कांग्रेसका प्रकाश बरालले चुनाव जितेका छन्। बराल पनि नयाँ अनुहार हुन्।
अन्य चार क्षेत्रमा भने एमालेका उम्मेदवारले चुनाव जितेका छन्। एमालेबाट कास्की १ प्रतिनिधि सभा अन्तर्गतको प्रदेश सभा (क) बाट निर्वाचित खगराज अधिकारी एमालेका तर्फबाट गण्डकीको मुख्यमन्त्रीका दाबेदार हुन्। एमालेले सङ्गठन विभाग प्रमुख समेत रहेका उनी विगतका निर्वाचनहरूका प्रतिनिधिसभाको निर्वाचनमा विजयी बन्दै आएका थिए।
यसअघि गृहमन्त्री समेत बनेका अधिकारी गण्डकीको मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभामा झरेका हुन्। अधिकारी पार्टी अध्यक्ष ओलीको सल्लाहमै मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशमा चुनाव लडेका थिए। तर प्रदेशमा एमाले र उसले तालमेल गरेका दलको बहुमत पुग्दैन। पाँच दलीय गठबन्धनको बहुमत रहेकाले गठबन्धन नभत्किए उनको मुख्यमन्त्रीको सपना पुरा हुने देखिदैन।
उनी संसदीय राजनीतिमा नयाँ नभए पनि प्रदेशसभामा भने नयाँ हुन्। त्यसैगरी कास्कीबाट एमालेका भीम कार्की, वेदबहादुर (श्याम) गुरुङ, गणेशमान गुरुङ समेत नयाँ अनुहार हुन्।
गोरखाका ४ मध्ये २ नयाँ र २ पुराना अनुहारका छन्। कांग्रेसका सुरेन्द्रराज पाण्डेसमेत मुख्यमन्त्रीको दाबेदारको रूपमा रहेका छन्। राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलको नेता भइसकेका पाण्डेले प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहेका थिए।
तर, सत्ता गठबन्धनका तर्फबाट गोरखामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाउनुपर्ने भएकाले पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा पठाइएका थिए। गोरखाबाट प्रदेशसभामा कांग्रेसका नन्दप्रसाद न्यौपाने, माओवादी केन्द्रका कृष्ण धिताल र नेपाल समाजवादीका फणीन्द्र देवकोटा निर्वाचित भएका छन्।
लमजुङमा निर्वाचित कांग्रेसका डा.टकराज गुरुङ र भेषबहादुर पौडेल निर्वाचित भएका छन्। उनीहरू दुवै नयाँ अनुहार नै रहेका छन्।
तनहुँका चार प्रदेशसभामा एक जना प्रदेशमा मन्त्री रहेका र ३ जना नयाँ अनुहार निर्वाचित भएका छन्। अघिल्लो प्रदेशसभामा निर्वाचित भएर गण्डकीको मन्त्री भइसकेका माओवादी केन्द्रका हरिबहादुर चुमान यस पटक पनि दोहोरिएका छन्।
त्यस्तै कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, अशोक कुमार श्रेष्ठ र एमालेका श्यामराजा महत निर्वाचित भएका छन्। उनीहरू तीनै जना प्रदेश सभामा नयाँ अनुहार हुन्।
म्याग्दीमा माओवादी केन्द्रबाट हरि भण्डारी र रमेश जुग्जाली निर्वाचित भए। उनीहरू पनि प्रदेशसभामा नयाँ हुन्। मुस्ताङमा कांग्रेसका नाम्डु गुरुङ र विकल शेरचन निर्वाचित भए। उनीहरू दुवै नयाँ अनुहार हुन्। उनीहरू दुवै सांसद ४० वर्षमुनिका छन्।
बागलुङमा कांग्रेसबाट प्रदेश सभामा निर्वाचित दीपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, जित शेरचन र द्रोण कुँवर चारै जना नयाँ अनुहारका हुन् । पर्वतमा एमालेबाट निर्वाचित मित्रलाल बस्याल र भक्त कुँवर दुवै नयाँ अनुहार हुन्।
त्यस्तै स्याङ्जाको प्रदेशसभा (क) सीता सुन्दास र (ख) बाट सुधीर कुमार पौडेल निर्वाचित भएका छन्। उनीहरू दुवै नयाँ अनुहार हुन्। मनाङमा स्वतन्त्रबाट जितेका राजीव गुरुङ (दीपक मनाङे) फेरि दोहोरिएका छन्। उनी प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री हुन्। अर्का कांग्रेसबाट जितेका मुनेन्द्र गुरुङ रहेका छन्। उनी प्रदेशसभामा नयाँ हुन्। समानुपातिक तर्फको मतगणना भइरहेको छ।