गठबन्धन नभत्किए गण्डकीमा उनीहरूकै बहुमत, समानुपातिकमा राप्रपाको सुधार

गठबन्धन नभत्किए गण्डकीमा उनीहरूकै बहुमत, समानुपातिकमा राप्रपाको सुधार

पोखरा : नयाँ सरकार गठनको समयसम्म पाँच दलीय गठबन्धनको एकता कायमै रहे गण्डकीमा उनीहरूकै सरकार बन्ने निश्चित भएको छ। गण्डकी प्रदेशको प्रदेशसभाका प्रत्यक्षतर्फका ३६ मध्ये सार्वजनिक भएका ३४ सिटमध्ये गठबन्धनका दलबाट २१ उम्मेदवार निर्वाचित भइसकेका छन्।

अब ,स्याङ्जाका २ प्रदेश सभा क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ। स्याङ्जा क्षेत्र नम्बर २ का (क) र (ख) बाहेकका ३४ वटा क्षेत्रको मत परिणाम आइसकेको छ।

कांग्रेसले चापाकोट नगरपालिकाका–४ वटा मतदान केन्द्रमा बुथ कब्जा गरेर ९८ प्रतिशत मत हालेको आरोप लगाउँदै एमालेका उम्मेदवार पद्यमा अर्यालले निर्वाचन आयोगमा उजुरी गरेका कारण त्यहाँको मत गणना रोकिएको छ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण कांग्रेस प्रदेशसभाको प्रत्यक्षमा ६ सिट मात्र जितेको थियो। तर, अहिले कांग्रेसले १६ सिट जितिसकेको छ। ०७४ मा प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्र अहिले ५ सिटमा खुम्चिएको छ। ५ मध्येमा पनि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीका एक जना उम्मेदवार छन्।

यसअघिको निर्वाचनमा प्रत्यक्षमा १७ सिट जितेको एमालेले अहिले १२ सिट मात्र जितेको छ। अघिल्लो निर्वाचनमा भन्दा एमालेले यस पटक प्रदेशसभामा ५ सिट गुमाउन पुगेको छ। गण्डकी प्रदेशसभामा प्रत्यक्षमा ३६, समानुपातिक २४ सहित ६० सिट रहेको छ।

अब गठबन्धनका लागि सरकार बनाउन ३० सिट आवश्यक पर्छ। कांग्रेस र माओवादीको प्रत्यक्षमा पाएका कुल २२ र समानुपातिकतर्फ पाउने सिटको आधारमा सरकार बनाउन सहज बहुमत पुग्ने देखिन्छ। अहिलेसम्म समानुपातिक परिणाम भने सार्वजनिक भइसकेको छैन।

०७४ मा समानुपातिकतर्फ गण्डकीमा सबैभन्दा बढी मत एमालेले ल्याएको थियो। यस पटक पनि हालसम्म गणना भएको समानुपातिकतर्फको मत हेर्दा एमाले नै पहिलो बन्न सक्ने देखिन्छ। अघिल्लो पटक २४ समानुपातिक सांसदमध्ये एमालेबाट १०, कांग्रेसबाट ९, माओवादी केन्द्र ३, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीबाट १-१ सांसद बनेका थिए। अहिले पनि मुख्य दलको परिणाम एक दुई सिट तलमाथि मात्र पर्न सक्ने देखिन्छ।

मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवार गण्डकीका खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) सबैभन्दा पहिले निर्विरोध भएका थिए।

गठबन्धनमध्येको कांग्रेसले पाएका २१ मा ३ सिट गुमाइसकेको छ। अब, स्याङ्जाका दुई ठाउँको नतिजा आउन बाँकी छ। कांग्रेसले दुई वटै सिट जित्दा कुल १८ जना हुन्छन्। समानुपातिकमा यसअघि कांग्रेसले ९ सिट पाएको थियो। यस पटक पनि ९ सिट पाउँदा २७ पुग्छ। माओवादीका ५ प्रत्यक्षसहित समानुपतिकमा तीन- चार सिट आउने भएकाले ३६ सिट पुग्ने बलियो सम्भावना छ।

अघिल्लो पटक राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक सांसद जितेको थियो।  अहिले पनि जनमोर्चाले एक सिट जित्ने सम्भावना जीवित छ। गण्डकीमा अहिलेको निर्वाचनमा मतका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो प्रगति गरेको देखिन्छ।

यस अघिको निर्वाचनमा समानुपातिकमा कुनै पनि उपस्थित नभएको राप्रपाले अहिले समानुपातिकमा दुई सिट जित्ने देखिएको छ। मत परिणाम हेर्दा चौथो नम्बरमा राप्रपा रहेको छ।  समानुपातिकमा हालसम्म गणना भएका परिणाम अनुसार एमाले तीन लाख, ४० हजार ५ सय ३३, कांग्रेस तीन लाख १७ हजार ५९६, माओवादी केन्द्र १ लाख १५ हजार ३६६ र राप्रपा ५७ हजार ५३ मत पाएका छन्।

११ मंसिर, २०७९, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।