कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार

कर्णाली प्रदेश सभा: २० नयाँ अनुहार सांसद चुनिए, दोहोरिएका चारमध्ये तीन जना मुख्यमन्त्रीका दावेदार
तस्बिर: कर्णाली प्रदेश सभामा निर्वाचित कुल २४ मध्ये २० नयाँ अनुहारहरू ।

सुर्खेत: कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फको २४ सिटमा २० जना नयाँ अनुहार निर्वाचित भएका छन्। चार जना भने पुरानै अनुहार दोहोरिएका छन्। 

दोहोरिनेमा बहालवाला मुख्यमन्त्री, मन्त्री र निवर्तमान सांसद्हरू छन्। तीमध्ये तीन जना त मुख्यमन्त्रीको दावीसहित प्रदेशमा दोहोरिएका हुन् भने एक जना मन्त्री पदको निरन्तरताको आशासहित दोहोरिएका छन्।

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भए। मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै प्रदेश सभामा सिट सुरक्षित पारेका हुन्। पराजित लामा यसअघि स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य समेत थिए।

त्यसबाहेक माओवादीका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाही डोल्पा (क) तथा सुर्खेत २ (ख) बाट माओवादीका पूर्वअर्थमन्त्री विन्दमान विष्ट पनि विजयी भएका छन्। 

विष्ट पनि मुख्यमन्त्रीका दावेदार हुन् भने शाही फेरि कर्णाली सरकारको मन्त्रीमा निरन्तरताको आशमा छन्। एमालेका संसदीय दलका नेतासमेत रहेका एमालेका यामलाल कँडेल सुर्खेत २ (क) बाट निर्वाचित भएका छन्। 

दोहोरिएका सांसद

यस्तै अघिल्लो कार्यकालका पराजित सांसदहरूमा ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी रहेका छन्।

कर्णालीमा निर्वाचित भएका नयाँ अनुहार भने २० जना रहेका छन्। सुर्खेत १ (क) बाट कांग्रेसका जिल्ला सभापति समेत रहेका खड्ग पोखरेल पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दैछन्। 

उनी एमालेका निर्वमान सांसद ठम्मर विष्टलाई हराएर विजयी भएका हुन्। यस्तै, १ (ख) का कृष्ण जिसी पनि नयाँ अनुहार हुन्। माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरेका हुन्। 

दुल्लु नगरपालिकाका निवर्तमान प्रमुख घनश्याम भण्डारी पनि पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दैछन्। भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (क) मा पराजित गरेका हुन्। दैलेख २ (ख) मा एमालेका विनोदकुमार शाह विजयी भए। शाह पनि मुख्यमन्त्रीका दावेदार हुन्।

शाहले केही समयअघि एमाले छोडेका पूर्व सहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरेका हुन्। 

यस्तै, दैलेख १ (क) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी भएका छन्। खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरेका हुन्।

सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भए।

शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने (ख) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजंग शाहलाई पराजित गरे। शाह पनि मुख्यमन्त्रीका दावेदार थिए। 

रुकुम पश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सांसद निर्वाचित भए। रुकुम पश्चिम प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरेका छन्। 

यस्तै (ख) मा भावी मुख्यमन्त्रीका दाबेदार राजकुमार शर्मा विजयी भएका छन्। शर्माले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे। 

जाजरकोट प्रदेश सभा (क) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भए। 

प्रदेश (ख) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भए। उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरे। शाह पनि मुख्यमन्त्रीका दावेदार हुन्।

कालीकोट प्रदेश सभा (क) बाट माओवादीका दुर्गबहादुर रावत विजयी भए। रावत यसअघिका प्रतिनिधि सभा सदस्यसमेत हुन्। रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरेका हुन्। 

कालीकोट प्रदेश सभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए। विष्टले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरे। 

डोल्पा प्रदेशसभा (क) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए।

हुम्ला प्रदेश सभा (क) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्रतर्फ उम्मेदवारी दिएका मंगलबहादुर शाही पराजित भए। 

यस्तै मुगु (क) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे। मुगु (ख) मा माओवादीका मंगलबहादुर शाही पनि विजयी भएका छन्। शाहीले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरे। 

यस्तै, जुम्ला प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भए। देवेन्द्रले कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेका हुन्। ललितजंग पनि मुख्यमन्त्रीका दावेदार थिए। 

यस्तै जुम्ला (ख) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए।

कर्णाली प्रदेश सरकारको भावी मुख्यमन्त्री भनेर चर्चा भएका आठ जनामध्ये ६ जना निर्वाचित भएका छन्। भावी मुख्यमन्त्रीको रूपमा चर्चा भएका नेपाली कांग्रेसबाट दुई, एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना मात्रै निवर्चाचित भएका छन्। 

प्रदेश सभामा प्रत्यक्षतर्फ कांग्रेसबाट नौ, माओवादीबाट नौ, एमालेबाट पाँच र स्वतन्त्रबाट एक जना गरी प्रत्यक्षतर्फ २४ जना निर्वाचित हुँदा एकीकृत समाजवादी भने प्रदेशतर्फ शून्यमा झरेको छ। 

४० सदस्यीय कर्णाली प्रदेश सभामा समानुपातिकतर्फको १६ सिटको नतिजा भने आउन बाँकी छ।

११ मंसिर, २०७९, १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।