मधेश प्रदेशमा माओवादीको इज्जत जोगाइदिए पूर्व एमाले महिन्द्र रायले

मधेश प्रदेशमा माओवादीको इज्जत जोगाइदिए पूर्व एमाले महिन्द्र रायले

काठमाडौं: मधेश प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रको एक मात्र उम्मेदवार सांसद निर्वाचित भए। माओवादीले मधेश प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा एक मात्रै जित हात पार्यो।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको सहयात्री दल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै महिन्द्र राय यादव निर्वाचित भएका हुन्। रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरे।

मधेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो। धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भए। महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल एमाले नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादीका भने होइनन्। उनी डा. बाबुराम भट्टराई नेतृत्त्वको नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। पार्टी फरक भए पनि उनले यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा होमिएका थिए।

को हुन राय ?

राय विसं २०६२/६३ अघिसम्म एमाले थिए। उनी एमालेको केन्द्रीय सदस्यसमेत बनेका थिए। सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनले सर्लाहीबाट निर्वाचन जितेका थिए।

तर २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने उनी। राजनीतिक घटनाक्रमले मधेशवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत बने।

पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आबद्ध छन् राय।

राय २०६४ र २०७० को संविधान सभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए। संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनी सर्लाही–२ बाट निर्वाचित भए।

उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका थिए।

११ मंसिर, २०७९, १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।