अर्जेन्टिना विजयी: म्याराडोना बराबर गोल गर्दै मेस्सी भए 'म्यान अफ द म्याच'

अर्जेन्टिना विजयी: म्याराडोना बराबर गोल गर्दै मेस्सी भए 'म्यान अफ द म्याच'

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले आफ्नो पहिलो जित निकालेको छ। आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले एक गोल र एक असिस्ट गरे। उनी म्यान अफ द म्याच पनि चुनिए।

योसँगै मेस्सीको विश्वकप गोल सङ्ख्या आठ पुगेको छ। यो भनेको महान् फुटबलर स्वर्गीय डियगो म्याराडोना बराबर हो। अब मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बन्न गाब्रियल बाटिस्टुआभन्दा दुई गोल पछाडि छन्।

आफ्नो पहिलो खेलमा २-१ गोलअन्तरले साउदी अरेबियाविरुद्ध हार व्यहोरेको अर्जेन्टिना मेक्सिकोविरुद्धको खेलमा निकै दबाबमा थियो। हारले उसलाई प्रतियोगिताबाट बाहिर पुर्याउँथ्यो।

खेलको ६४औँ मिनेटमा डि मारियाको पासमा मेस्सीले २३ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यस्तै निर्धारित ९० मिनेटको खेल सकिनु तीन मिनेटअगाडि अर्जेन्टिनाले कर्नर पाएको थियो जसलाई सिधै प्रहार नगरी ट्याक्टिकल रूपमा अगाडि बढाएको थियो। सोही क्रममा मेस्सीले दिएको पासलाई एन्जो फर्नान्डेजले गोलमा परिणत गरेका थिए।

जितसँगै समूह 'सी'मा अर्जेन्टिना तीन अंकसहित दोस्रो स्थानमा छ। अब अर्जेन्टिनाले बुधबार पोल्याण्डको सामना गर्नेछ। सो खेल पनि अर्जेन्टिनाले जित्नैपर्ने हुन्छ। बराबरी गरे अरू टोलीको नतिजा पर्खनु पर्ने हुन्छ।

११ मंसिर, २०७९, ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।