अर्जेन्टिनालाई हराएकाे साउदी अरेबिया पाेल्याण्डसँग पराजित

अर्जेन्टिनालाई हराएकाे साउदी अरेबिया पाेल्याण्डसँग पराजित

काठमाडौं : कतारमा भइरहेको फिफा विश्वकपमा शनिबार साउदी अरेबियालाई पोल्याण्डले २-० गाेलले पराजित गरेको छ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन राेबर्ट लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे। जेलिन्स्कीले ३९औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए।

८२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै विश्वकपमा गोलको खाता खोले। पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै सनसनी मच्चाएको साउदीले भने पोल्याण्डविरुद्ध पेनाल्टीमा पनि गोल गर्न सकेन।

एक गोलले पछि परेको अवस्थामा साउदीले बराबरी गर्ने अवसर पाएको थियो। तर, सालेम हल दावसरी पेनाल्टीमा चुक्न पुगे।

पहिलो खेलमा मेक्सिको विरुद्ध गोलरहित बराबरी खेलेको पोल्याण्डले पहिलो जितपछि अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

पोल्याण्ड दुई खेलबाट ४ अंक जोड्दै समूह सी को शीर्ष स्थानमा छ।साउदी ३ अंकसहित दोस्रो स्थानमा छ।

१० मंसिर, २०७९, २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।