शब्दमाला

अनावश्यक पात्रको गन्जागोलले भद्रगोल बनाएको पुस्तक ‘फुर्के’


पुस्तकको सुरुवात मीठो छ। एउटा कुकुरले बाँच्नका लागि के कस्ता समस्याहरूको सामना गर्नुपर्छ पुस्तकको सुरुवाती अवस्थाबाट नै थाहा पाउन सकिन्छ।

कुकुरले घाम ताप्न खोज्दा भुईंमा बसेर जीवन बिताउने मानिसलाई जस्तै कुकुरलाई पनि यी शहरका अग्ला घरहरू दुश्मन जस्तै लाग्छ। 

मानिसले जस्तै कुकुरले पनि ऐना हेरेर कपाल मिलाउँछ। दुःख पर्दा कुकुरले पनि आँशु झार्छ। मान्छेको माया पाउनकै निम्ति उसको नजिक गएर पुच्छर हल्लाउँछ।

कुकुरबारे यी सबै पुस्तकको सुरूवाती अवस्थामा नै पढ्दै गर्दा तपाईंले कुकुरलाई घृणा गर्नुहुन्छ भने पनि यस पुस्तकले कुकुरबारे तपाईंको दृष्टि परिवर्तन गर्न मद्दत गर्दछ।

एक मालिकले आमाबाट छुटाएर शहर ल्याएर ६ हजारमा बेचिदिएपछि फुर्के बनेको कुकुर शहरको धनी व्यक्तिको घरमा पुग्दछ। जहाँ उसले शहरलाई हेर्ने दृष्टिकोण भर्खरै गाउँबाट सपनाको भारी बोकेर शहर पसेको युवकको जस्तै हुन्छ। जसमा आफ्नाहरूबाट टाढिनुको पीडा पनि उत्तिकै हुन्छ।

शहरिया जीवनसँग घुलमिल भएको फुर्के आफ्नो मालिकको मायाले पुलकित भएर घ्युकुमारीको मायामा एकोहोरो हुन्छ। दिनभरी छतमा बसेर घ्युकुमारीलाई हेर्नु, उसको वेवास्ता प्रति गम्भीर हुँदै उसलाई फकाउन अनेकन चर्तिकला देखाएको घटनाहरू जोड्दा पुस्तक उत्तिकै रोचक पनि बनेको छ।

यस्तै, घ्युकुमारीलाई देख्न नपाउँदाको फुर्केको पीडा, घ्युकुमारीले हेर्दा फुरुक्क पर्ने फुर्केको खुशी र घ्युकुमारीलाई अन्य कुकुरहरूबाट बचाउन फुर्केले गरेको प्रयत्नको प्रसङ्ग कुनै फिल्ममा हिरोले हिरोनीलाई बचाएको सिन भन्दा कम छैन।

यो सँगै फुर्के र घ्युकुमारी 'नानी'को प्रेमिल सम्बन्धले पनि यस पुस्तकलाई फुर्केको कथा नभएर कुनै लभ स्टोरी पुस्तक हो कि भन्ने आभास दिलाउँछ।

एक कुकुरको पात्रमार्फत् कुकर र मान्छेबीचको सम्बन्ध, कुकुरले मान्छेलाई हेर्ने दृष्टिकोण र कुकुरलाई मान्छेले हेर्ने दृष्टिकोण, कुकुरले भोग्ने भोगाइ उसको संवेदनालाई कुकुरकै भाषाशैलीमा प्रस्तुत गरेको यस उपन्यासले कुकुरको आँखाबाट समाज नियाल्न पनि ठूलो भूमिका खेलेको छ।

कुकुरसँग पनि प्रेमको भावना हुन्छ। मान्छेजस्तै कुकुर पनि प्रेमको भोको हुन्छ। कुकुरमा पनि मान्छेमा जस्तै कथा हुन्छन्। यसर्थमा कुकुरको मान्छेको जीवनमा कति महत्त्व हुन्छ भनेर बुझाउन सफल यस फुर्के उपन्यास कुकुरको आत्मकथामा आधारित भएर लेखिएको छोटो मीठो उपन्यास हो।

एउटा मानिस कुकुरमा परिणत भएर लेखिनु एक आफैँमा चुनौती छ नै त्यसमा पनि सरल भाषाको प्रयोगमा लेखिएको यस उपन्यास भर्खरै साहित्यमा पाइला चाल्दै गरेका नवपुस्ताको निम्ति पनि पठनयोग्य छ।

मानिसको निम्ति कहिले सुरक्षाकर्मी बनिदिने कहिले प्रिय साथी बनिदिने फुर्के उपन्यास नवपुस्ता मात्र नभएर बालबालिकादेखि प्रौढ उमेरसम्मका सबैका निम्ति पठनयोग्य छ।

यो त भयो फुर्केको कथा, जो आफ्नी मायालुसँग मनको डोरीले जता डोर्‍याउँछ त्यतै जाने निर्णय लिएर हिँडेको छ।

फुर्के पढ्दै गर्दा लाग्छ करिब एक लाखभन्दा बढि कुकुर भएको यस शहरमा नलेखिएका यस्ता लाखौं फुर्केहरू कति होलान् जो आफ्ना आमासँग छुट्टिनुको पीडाले कत्ति रुन्छन् होला। तिनीहरू पनि आफ्नो मायालुको खोजीमा छटपटाउँछन् होला। प्रेम र यौनको तिर्खाले व्याकुल भएर भौतारिन्छन् होला। फुर्के पढ्दै गर्दा किन लेखक खगेन्द्र लामिछानेले प्रतिनिधि पात्रका रूपमा फुर्केलाई मात्र रोजे भन्ने प्रश्न पनि उठाउन सकिन्छ?

सरल भाषामा बुनिएको भए पनि एउटा फुर्केलाई धेरैतिर डुलाइरहँदा पढ्दै गर्दा पाठक अलमलिने र विषयवस्तु दोहोरिएको होकि भन्ने भान पनि हुन्छ। मालिकले गाउँबाट शहर ल्याएर बेचिदिएको फुर्केको कथा प्रेम र यौनमा मात्र किन अलि बढि सीमित गराइयो होला? के कुकुरका अन्य कथा यो भन्दा दर्दनाक हुन सक्दैनन्?

एक बसाइमा सजिलै सकिने यस पुस्तकले कुकुरबारे गहिरिएर अझै विश्लेषण गर्न सकेको छैन। कुकुरले मानिसको डिप्रेशनको पीडालाई समेत कम गर्न मद्दत गर्दछ भन्ने तथ्य रहेको छ। यी बाहेक कुकुरबारे थुप्रै रोचक तथ्यहरू रहेका छन्, जसमा यस पुस्तकले मानिसलाई जोडेर कुकुरसँगको अन्य तथ्यहरूलाई केलाउन सकेको छैन।

पुस्तकमा फुर्केको मालिक र उसकी प्रेमिकाको अपूरो प्रेम सम्बन्धबीच फुर्के र घ्युकुमारी 'नानी'को प्रेमको कथा कथाकारले अझै मिलाउन सकेका छैनन्। मानिसको प्रेमकथासँग आकर्षित भएर अझ उसको प्रेमकथा बढ्नुपर्नेमा पुस्तकमा मालिकको प्रेमकथालाई उपन्यासकारले यत्तिकै मारिदिएका छन्।

तर जे होस्, यस पुस्तकले यदि तपाईंको दुईतर्फी प्रेम निश्चल छ भने मिलन भएर नै छोड्छ भन्ने सन्देश दिन खोजेको जस्तो हुन्छ। साथै यस पुस्तकले कुकुरलाई भुँइमा राखेर मालिकलाई माथि राखेकोमा यस शहरका भुँइ मान्छेको कथालाई फुर्केमार्फत् बोल्न खोजेको पनि भान हुन्छ।

पुस्तकको अन्तिममा बिछोडिएका घ्युकुमारी नानी र फुर्केको मिलन पढिरहँदा कुनै फिल्मको अन्त्य जस्तो लाग्ने फुर्के अनावश्यक पात्रहरूको बीच-बीचमा भएका गन्जागोलले भद्रगोल जस्तो लाग्छ। यसर्थमा यस पुस्तकलाई विषयवस्तु राम्रो रोजेर पनि लेखकले त्यसलाई उचित तवरले न्याय गर्न सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दुई साहित्यकार सम्मानित

समाजले सुवेदीलाई ‘कसास यात्री स्मृति सम्मान–२०७७’ र गार्गीलाई  ‘कसास यात्री स्मृति सम्मान–२०७८’ प्रदान गरेको हो। कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश....

साहित्यकारद्वय सुवेदी र शर्मा सम्मानित हुने

समाजले ‘कसास यात्री स्मृति सम्मान, २०७७’ साहित्यकार प्रा.डा. अभि सुवेदीलाई तथा ‘कसास यात्री स्मृति सम्मान, २०७५’ साहित्यकार प्रा.डा. गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो।....

विम्बकाे अवाञ्चित प्रयोगले खस्किएको ‘बिसे नगर्चीको बयान’

उक्त कवितामा लेखिएका केही संवेदनशील पंक्तिहरूलाई यहाँ उद्धृत गर्नु उपयुक्त होला। अढाइ सय वर्षपछि आज के भयो मलाई? यो बिसेलाई दशा लाग्यो मालिक....

मसान (कविता)

उसले यही समाजमा देखेको थियो चन्दा उठाएर मन्दिर बनाएको पुराण लगाएर समाधि पुजेको वास्तवमा धर्म भनेकै समाधि पुज्नु हो किनकि यज्ञ....

अभिनेत्री पन्तले 'पिर्का' शीर्षकमा कविता लेखेपछि रविका फ्यान रिसाए

यही मेसोमा साहित्यमा समेत रुचि राख्ने अभिनेत्री सुरक्षा पन्तले कविता नै लेखिन् 'पिर्का' शीर्षकमा र सामाजिक सञ्जाल फेसबुकमा राखिन्। अहिले पिर्कासँगै अभिनेत्री पन्तको कविता पनि....