राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनविनै पाँच दलीय गठबन्धनको 'बहुमत पुग्ने'

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनविनै पाँच दलीय गठबन्धनको 'बहुमत पुग्ने'

काठमाडौं : गठबन्धन बनाएर निर्वाचनमा गएको पाँच दलको सरकार बनाउन आवश्यक बहुमत पुग्ने देखिएको छ। उनीहरूले प्रत्यक्षतर्फ जितेको संख्या र समानुपातिकमा आइरहेको मत प्रतिशतसँगै पार्टीबाट विद्रोह गरेर सांसद जितेकाहरूको संख्या जोड्दा एक सय ३८ पुग्ने देखिन्छ।

नेपाली कांग्रेसले ४५ सिट जितेर ९ सिटमा अग्रता लिइरहेको छ। अग्रता लिएको सिट सहित उसको ५४ सिट आउने देखिन्छ। समानुपातिकतर्फ १४ लाख ८२ हजार पूर्याएकाले यही प्रतिशत कायम राखे ३३ सिट गरी ८६ सिट आउने देखिन्छ।

उता माओवादी केन्द्रले १४ सिटमा जितिसकेको छ भने पाँच सिटमा अग्रता लिइसकेको छ। दुवै जोड्दा १९ सिट जित्ने देखिन्छ। माओवादीले समानुपातिकमा ६ लाख ५४ हजार मत ल्याएको छ। यही प्रतिशत कायम रहे उसले समानुपातिकमा १५ सिट ल्याएर कुल ३४ हुनसक्छ।

उता एकीकृत समाजवादीले १० सिट जितेको छ। प्रारम्भमा समानुपातिकतर्फ कम भोट ल्याए पनि शुक्रवार बेलुकासम्ममा उसले एक लाख ३२ हजार मत पाइसकेको छ। यही प्रतिशत कायम रहे उसले समानुपातिकमा केही सिट पाउन सक्छ।

गठबन्धनमा रहेको लोसपाले चार सिट जितेको छ भने जनमोर्चाले एक सिट। यसमा कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेश कुमार सिंह र एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले जितिसकेका छन्। साह माओवादीमा फर्कने पक्का छ। अमरेशमाथि कांग्रेसले गरेको कारबाही फिर्ता गर्ने सम्भावना उत्तिकै छ।

प्रतिनिधि सभाको बाजुरा, स्याङ्जा र दोलखाको मतगणना रोकिएको छ।  यी तीन स्थानमध्ये एक सिट मात्रै गठबन्धनले जितेमा बहुमत सहजै पुग्ने देखिन्छ। तीन सिटमा एक सिट मात्र बढ्दा एक सय ३८ पुग्छ। स्वतन्त्रतर्फ अन्य तीन उम्मेदवारले समेत जितेका छन्। कुनै गठबन्धनमा नरहेको नागरिक उन्मुक्ति पार्टीको तीन सिट छ। यी सबै एकै ठाउँमा आए गठबन्धनको पक्षमा सहज बहुमत पुग्न सक्छ।

९ मंसिर, २०७९, २३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।