प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

काठमाडौं : लौ हार्ने भए भन्दाभन्दै काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरे तर झिनो मतले। २०७४ को निर्वाचनमा पनि सिंहले उनै मिश्रको चुनौतीको सामना गर्दै पराजित गरेका थिए। २०७९ मा उम्मेदवार त उही आए तर विचार बदलेर।

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए। यो पटक उनी त्यो बर्को फालेर राजतन्त्र र हिन्दु राज्यको वकालतकर्ताको रूपमा चुनावी मैदानमा आएका थिए।

उनले गत निर्वाचन भन्दा मतमा राम्रै प्रगति गरे मतान्तरमा तर विजयी हुन सकेनन्। प्रकाशमान सिंहले ७ हजार १ सय ४३ मत ल्याएर उनलाई एक सय २५ मतले पराजित गरे। मिश्रले ७ हजार १८ मत ल्याए।

काठमाडौं-१ बाट निर्वाचित सिंहसहित प्रदेशका उम्मेदवारहरूलाई शुक्रवार निर्वाचन कार्यालयले कार्यक्रमै गरेर निर्वाचित प्रमाण पत्र दिएको थियो। मतान्तर निकै कम आए पनि निर्वाचित भएका सिंह कार्यक्रममा निकै प्रफुल्ल मुद्रामा थिए। हरेक निर्वाचनमा खस्कँदो साखले उनको मुस्कानलाई रोक्न सकेन। 

कार्यालयका अधिकारीले उनलाई प्रमाणपत्र दिएपछि निकै समयसम्म घोरिएर आफ्नो नाममा आएको प्रमाण पत्र पढिरहे उनले।

९ मंसिर, २०७९, १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।