जगदम्बा इन्टरप्राइजेजले उद्योगको क्षमता विस्तार गर्न ४८ मेगावाट बिजुली लिने

जगदम्बा इन्टरप्राइजेजले उद्योगको क्षमता विस्तार गर्न ४८ मेगावाट बिजुली लिने

काठमाडौं: बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली लिने भएको छ। ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा उद्योग जोडिएको छ।

फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो। यसअघि कुल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ।

प्राधिकरणले परवानीपुर १३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिनेछ। थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ।

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ। प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो।

योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए।

९ मंसिर, २०७९, १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।