डाक्टर तोसिमाको माननीय यात्रा : उम्मेदवारी खारेजीदेखि विजयोत्सवसम्म

डाक्टर तोसिमाको माननीय यात्रा : उम्मेदवारी खारेजीदेखि विजयोत्सवसम्म
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : चिकित्सकीय पेशाबाट राजनीतिमा होमिएकी डा. तोसिमा कार्कीले बुधबार संसदको यात्रा पक्का गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकी उनले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले हराइन्।

जितपछि उनले आफ्नो जिम्मेवारीको यात्रा सुरु भएको बताइन्। देशमा सुशासन, सुनीति र सुव्यवस्था जनताले चाहेको भन्दै आफूले त्यस्तो अवस्था स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘आशाको अगाडि निर शब्द थपेर निराशा कहिल्यै पनि हुन दिने छैन,’ विजयी भएपछि उनले भनिन्, ‘ममाथि बर्साउनुभएको विश्वासमाथि पछाडि घात शब्द थपेर विश्वासघात कदापी हुन दिने छैन।’

मतदातालाई सम्बोधन गरेपछि डा.कार्कीको विजयी र्याली अगाडि बढ्यो। जावलाखेलबाट अघि बढेको बिजयी यात्रामा उनलाई बधाई दिँदै फूल, माला तथा अबिर लगाइदिनेको भीड कम थिएन।

आमैले भनिन्, ‘तोसिमा तिमिले पानी ल्याएर खुवाउनु’
यात्रा जावलाखेलबाट केहीमिटर अघि बढेपछि सडक छेउबाट एक जना पाको उमेरकी आमैले अलि कडा स्वरमा भनिन्, ‘तोसिमा तिमीले पानी ल्याएर खुवाउनु। कसैले केही नगरेपछि तिमीलाई जिताको हो।’

विजयी यात्रामा अघि बढ्दै जाँदा उनले गाडीमा उभिएर अभिवादन गरिरहिन्। माइक समाएर धन्यवाद दिइरहिन्। ताल्छिखेल पुगेपछि उनी गाडीबाट झरिन्।

त्यहाँ जम्मा भएको ठूला भीडले उनलाई बधाई दियो। सगुनका रूमा स्थानीयले दही खुवाए। फूलमाला र अविर लगाए।

'छोरीमा आँट र हिम्मत छ काम गर्न  सक्छिन्'
यात्राकै भीडमा भेटिए डा. कार्कीका ६३ वर्षीय पिता पदमबहादुर कार्की। निर्वाचित भएसँगै अब छोरीले जनताको मागअनुसारको विकास गर्नुपर्ने बताए।

उनले भने, ‘उहाँले जनताको माग अनुसार विकास गर्नुपर्छ, घरदैलोमा जाँदा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्छ।’

आँट र हिम्मत भएकाले जनचाहना अनुसार काम गर्न छोरी सक्षम भएको पदमबहादुरले बताए।

एक छोरा र दुई छोरीमध्ये तोसिमा जेठी हुन् भने छोरा आइटी इन्जिनियर रहेछन्। कान्छी छोरीले भने नर्सिङ अध्ययन गरिरहेकी उनले बताए।

डा.कार्कीका बुवा पदमबहादुर भने फोटोग्राफी गर्दा रहेछन्। केही वर्षअघिसम्म फोटो स्टुडियो खोलेर बसेका उनले अहिले भने छाडेछन्।

पुर्ख्यौली घर सिन्धुपाल्चोक रहेको तोसिमाको परिवार अहिले भने ललितपुर महानगरपालिका–१८ मा बस्दै आएका छन्। २०४४ सालमा काठमाडौं झरेका उनको परिवार २०५० सालदेखि स्थायी रूपमा बस्न थालेको पदमबहादुरले बताए।

वैधानिकताको प्रश्नले जित
डा. कार्की २०७८ पुसमा चार वर्षका लागि निर्वाचित नेपाल मेडिकल काउन्सिलकी सदस्य हुन्। काउन्सिलबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएपछि उनी वैधानिकता विवादमा परिन्।

एमएस जनरल सर्जन डा. कार्कीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)को जागिरबाट भने राजीनामा दिएकी थिइन्। काउन्सिलबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएपछि उनीविरुद्ध उजुरी पर्यो।

आयोगले काउन्सिल सदस्यको पदलाई लाभको पद ठोकुवा गर्दै एक लाख ३६ हजार पाँच सय रुपैयाँ आर्थिक लाभ लिएको आरोपमा डा. कार्कीको उम्मेदवारी खारेज गर्यो।

तर, आयोगको निर्णयविरुद्ध अदालत पुगेकी उनको पक्षमा अदालतले फैसला गरिदियो। न्यायिक प्रक्रियाको समयमा सञ्चारमाध्यममा उनी छाइन्। ललितपुरमा मात्र होइन देशभर नै चर्चित बनिन्।

डा. कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भएकाले उनले पार्टीको नीति निर्देशन समेत मान्नुपर्ने हुन्छ। उनले संसदमा कसरी आवाज उठाउँछिन् भन्नेबारे पार्टीले दिने निर्देशनमा समेत भर पर्छ।

डा. कार्कीले राजनीतिलाई गरिखाने भाँडो बनाउन नपर्ने बताउँदै आएकी छन्। स्वास्थ्य क्षेत्रको सुधारमा समेत काम गर्ने उनको प्रतिबद्धता छ।

ललितपुर क्षेत्र नं. ३ का जनतालाई डा. कार्कीले देखाएका सपना पूरा गर्न सक्लिन् वा नसक्लिन त्यो हेर्न बाँकी नै छ।