केपी ओलीका 'फ्यान' हरिले हराए एमाले उम्मेदवार सुरेन्द्रलाई

केपी ओलीका 'फ्यान' हरिले हराए एमाले उम्मेदवार सुरेन्द्रलाई
सबै तस्बिर हरी ढकालको फेसबुकबाट

चितवन : पूर्व अर्थमन्त्री तथा एमालेका नेता सुरेन्द्र पाण्डे आफ्नै पार्टीको भातृ सङ्गठन अनेरास्वियुका जिल्ला सचिव हरि ढकालसँग पराजित भए। अर्का अर्थशास्त्री विश्व पौडेल पनि चुनावी प्रतिस्पर्धामा थिए। अर्थशास्त्र सम्बन्धी दुई दिग्गजलाई सेयर बजारमा संलग्न ढकालले सहजै पराजित गरे चितवन-१ मा।

ढकालबारे जानकारहरूका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु अगाडिसम्म राजनीतिक रूपमा एमालेसँग आबद्ध थिए। उनी आफ्नो वृत्तमा ओलीका प्रशंसकको रूपमा परिचित छन्।

'हरीजी पार्टी अध्यक्षका फ्यान थिए। उनी प्रतिनिधि सभाको निर्वाचन अगाडि मात्रै अर्को दलमा लागेका हुन्' हरिबारे जानकार मदन भण्डारी स्पोर्टस एकेडेमीका एक पदाधिकारीले उकेरालाई भने' उनी खेल प्रेमीसमेत हुन्। उनका छोरा क्रिकेटका राम्रा खेलाडी पनि हुन्।'

उनले काठमाडौं आएर आफूले मात्र ओलीसँग भेटेका छैनन् आफ्ना २ सन्तानलाई समेत काठमाडौं ल्याएर ओलीसँग भेट गराएका थिए।

मदन भण्डारी स्पोर्ट एकेडेमीले एक वर्ष अगाडि कीर्तिपुरमा गरेको ग्राण्ड क्रिकेट कार्निभलमा उनी पनि आयोजक कमिटीमा थिए। काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह अनी धरानमा हर्क साङपाङको जित पछि उनले राजनीतिमा विशेष चासो देखाउने गरेका थिए। उनको सामाजिक सञ्जाल हेर्दा पनि त्यस्तै देखिन्छ। उनको गेटअपमा बालेन प्रभाव देखिन्छ भने उनले बालेनसँग खिचेको तस्बिर समेत राखेका छन्।

उनको व्यवसाय भने सेयर कारोबार देखिन्छ। उनी लगानीकर्ता दबाब समूहमार्फत शेयर बजारमा सक्रिय थिए। उनी सेयर लगानीकर्ताको हितका लागि दबाब दिन भनेर अनसन समेत बसेका थिए।

चितवन रत्ननगर–१५ माधवपुर घर भए पनि उनी अधिकांश समय काठमाडौंको पेप्सीकोलामा बस्दै आएका थिए।  अनेरास्ववियु चितवनका पूर्व सचिव समेत रहेका उनी क्यान्सर फ्री सोसाइटीका सचिव समेत भए।

स्नातक अध्ययन गरेका उनी चितवन १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बने। सो क्षेत्रबाट यस अगाडि तीन पटक सुरेन्द्र पाण्डे सांसद भइसकेका थिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएर विश्व पौडेल पाँच दलीय गठबन्धनको उम्मेदवार बनेर त्यही क्षेत्रमा पुगे।

स्नातकोत्तर अध्ययन गरेका, राष्ट्रिय सभाको सचेतक, संविधान सभा सदस्य हुँदै २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य भएका पाण्डे र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पिएचडी गरेर नेपाल आएका पौडेलबिच प्रतिस्पर्धा हुने प्रारम्भिक आङ्कलन देखिएको थियो।

तर जित निकाले स्नातक अध्ययन गरेका ढकालले। अर्थशास्त्रमा पिएचडी गरेर नेपालीलाई सहज रूपमा अर्थशास्त्रका जटिलता बुझाउन सक्रिय रहेका पौडेल २४ हजार ९ सय ९० मत ल्याएर तेस्रो हुँदा पूर्व अर्थमन्त्री पाण्डे २६ हजार ६ सय ८ मतसहित दोस्रो भए।

उता हरि ढकाल भने ३४ हजार एक सय ८९ मत सहित विजयी भए। ४९ वर्षका पौडेल पार्टीभित्र तीव्र असन्तुष्टि हुँदाहुँदै उम्मेदवार बनेका थिए।

६४ वर्षका पाण्डे नेकपा विवादका क्रममा लामो समय माधव नेपाल समूहमा रहेर पार्टी विभाजन हुने भएपछि एमालेमै फर्किएका थिए। ढकाल भने ३९ वर्षका हुन्।

८ मंसिर, २०७९, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।