मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

‘प्राकृत पोखरा’ नामक खण्डकाव्य लेखेर सबैभन्दा कम उमेर २३ वर्षकै उमेरमा २०२१ सालको मदन पुरस्कार प्राप्त गर्न सफल लेखक हुन् प्रा. मुकुन्दशरण उपाध्याय। उनलाई नचिन्ने नेपाली बुद्धिजीवी कमै होलान्।

कास्कीको हेम्जामा वि.सं. १९९७ वैशाख ५ गते जन्मिएका उनी अहिले ८२ वर्षका भए। तर, ८२ वर्षमा पनि उनी लेखनकार्यमा तल्लीन देखिन्छन्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’

माधव घिमिरेले एउटा अन्तर्वार्तामा मनपर्ने जीवित कविको नाम लिनुपर्दा मुकुन्दशरणको नाम लिएका रहेछन्। केहिअघि ४ कक्षाको नेपाली पुस्तकमा मुकुन्दशरणको ‘झगडाको ओखती’ कथा पढ्न पाइन्थ्यो।

‘झगडाको ओखती’ यति प्रसिद्ध भयो कि अहिले यो कथाको अनुवाद बंगलादेशको पाठ्यक्रममा पनि समावेश गरिएको छ।

सिठा बालेर पढ्नुपर्ने त्यो बेला
ग्रामीण क्षेत्रमा हुर्किएका उनी सानो हुँदा मट्टितेलबाट बाल्ने टुकीको समेत सुविधा थिएन। निगालाका सिठा बालेर पढ्नु पर्थ्यो।

‘त्यसैले साँझ परेपछि प्रायःजसो पढिँदैनथ्यो, टीभीको त कुरै छाडौं रेडियो समेत सुन्न पाइँदैनथ्यो,’ उनी भन्छन्, ‘गाउँमा एकजनाले पहिलोपटक रेडियो ल्याउँदा उसका घरमा मेला जस्तै लागेको थियो।’

बजार त परको कुरा, गाउँमा एउटै पसल थिएन। किनमेल गर्नुपरे या त फूलपाती पर्खनुपर्थ्यो या पोखरा झर्नुपर्थ्यो। जुत्ताचप्पल लगाउने चलन थिएन। बाल्यकाल खाली खुट्टा हिँडेरै बित्यो।

घरमा भएको एक जोर खराउ पनि बुवाले कतै सप्ताह भन्न जाँदा लगाउने स्मरण गरे उपाध्यायले। खराउ भनेका काठका चप्पल हुन्।

उतिबेला अहिलेका जस्ता स्कुल कलेज थिएनन्। उनी आठ वर्षको हुँदा पोखराको चिसाखोला आश्रममा भर्ना भएका रहेछन्। उनका बुवा भागवत वाचक भएकाले पढाइको महत्त्व बुझेका थिए।

१३ वर्षको हुँदा पढ्नकै लागि भनेर तीर्थयात्रीको साथ लागेर भारतको वृन्दावन पुगेछन् र निम्बार्क संस्कृत महाविद्यालयमा भर्ना भएछन् उनी।

पढ्न भारत जाने बेलामा बुवाले उनलाई कपडाका जुत्ता किनिदिए। तर, जुत्ता लगाएर हिँड्ने बानी नभएकाले फुकालेर हातमा झुण्याएर हिँडेछन् उनी।

उपाध्यायलाई कविता लेख्ने प्रेरणा भानुभक्तको रामायणबाट मिलेको रहेछ। उनका बुवा लय हालेर रामायण वाचन गर्ने र उनी चाख मानेर सुन्ने गर्दा रहेछन्।

उनले १४ वर्षको उमेरमा ‘भागवत जयन्ती’ नामक संस्कृत कविता लेखे। त्यो नै उनको जीवनको पहिलो कविता थियो।

१२ वर्षमा पहिलो बिहे र १८ मा दोस्रो
पढ्न वृन्दावनमा जानु अघिल्लो वर्ष नै बिहे भएको रहेछ प्रा. मुकुन्दशरण उपाध्यायको। आफूलाई विवाहको बारेमा खासै थाहा नभएको उनले सम्झिए।

‘पहिलो बिहे हुँदा म मात्रै १२ वर्षको थिएँ र हिमकला ११ वर्षकी थिइन्, विवाहको त्यो क्षण सम्झँदा मलाई अहिले पनि सपना जस्तो लाग्छ,’ उनले भने, ‘त्यो विवाह थियो वा केटाकेटी खेल थियो निश्चय गर्न पनि गाह्रो हुन्छ।’

पहिलो विवाह भएको ६ वर्षपछि उनको दोस्रो विवाह भयो। तर दुवै विवाह आफ्नो राजीखुसीमा नभएको उनी बताउँछन्।

‘म १८ वर्षको हुँदा दोस्रो विवाह राधादेवीसँग भयो, त्यो बेला उनी १३ वर्षकी थिइन्,’ उनले थपे, ‘तर मेरो दुवै विवाह मेरो राजीखुसीमा भने भएको होइन।’

जब राजा महेन्द्रलाई मेरो कतिवा मनपर्याे
उनका प्रकाशित कृति धेरै छैनन्। एक दर्जनका हाराहारीमा होलान्। तर, अचम्म के भने उनले लेखेका सबै कृति पुरस्कृत छन्।

‘निम्बार्क चरितम्’ उनको पहिलो संस्कृत काव्य हो। सो कृति लेख्दा उनको उमेर मात्रै १८ वर्षको थियो। उक्त कृति लेखेपछि उनले अखिल भारत संस्कृत सम्मान प्राप्त गरे।

१९ वर्षको हुँदा उनले लेखेको ‘वरदान’ नामक सामाजिक उपन्यास नेपालको धर्ममहासभाद्वारा पुरस्कृत भयो। २० वर्षमा ‘प्राकृत पोखरा’ नामक वर्णनात्मक काव्य लेखे। तर, छाप्ने पैसा नभएर २ वर्ष यत्तिकै थन्किएर बस्यो।

त्यो बेला उनी भैरहवाको हाइस्कुलमा नेपाली पढाउँथे। महिनाको १२५ रुपैयाँ तलब थियो। त्यो पैसा डेराभाडा र खानपिनमै सकिन्थ्यो।

राजा महेन्द्र भैरहवा सवारी हुँदा उनले दर्शनभेट पाएछन् र राजालाई ‘प्राकृत पोखरा’का केही कविता सुनाएछन्। उनको कविताबाट प्रभावित भएका राजाले पुस्तक छाप्नका लागि एक हजार रुपैयाँ बक्सिस दिएको उनी सगर्व सुनाउँछन्।

२०२१ सालमा वनारस पुगेर पुस्तक छापे। सो कृतिले २१ सालको मदन पुरस्कार पायो। २६ सालमा ‘महाभारत सुक्तिसुधा’ लेखेपछि उनले शिरोमणि सम्मान प्राप्त गरे।

उनी साहित्यमा मात्रै होइन धर्मसंस्कृति तथा भाषाविज्ञानको अध्ययनमा पनि उत्तिकै सक्रिय छन्। नेपाली भाषा र व्याकरणका क्षेत्रमा उनले गरेका कामहरूको सराहना गर्दै उनलाई पाणिनि पुरस्कारबाट पुरस्कृत गरिएको छ।

उपाध्याय नेपालमा मात्रै होइन वृन्दावन, देहरादून, दार्जिलिङ, सिक्किम, लण्डन, सिड्नी आदि स्थानहरूमा पनि पुरस्कृत र सम्मानित भएका छन्।

भानुजयन्ती २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्रीको सहभागितामा काठमाडौंमा र २०६८ मा पुस्तक व्यवसायी महासङ्घले शिक्षामन्त्रीको सहभागितामा पोखरामा उनको रथारोहण गरेका थिए।

साहित्य छाडेर भाषामा
कलिलै उमेरमा अनेक पुरस्कार पाएका मुकुन्दशरण अहिले साहित्यसाधना छाडेर भाषाविज्ञानका क्षेत्रमा सक्रिय भएका छन्। अशुद्ध भाषामा साहित्य लेख्न नआउने भएकाले भाषाविज्ञानतर्फ लागेको उनी बताउँछन्।

‘मलाई अशुद्ध भाषामा कविता–कथा लेख्न आउँदैन,’ उनले भने, ‘२०३४ सालदेखि नेपाली भाषालाई अशुद्ध पारिएको छ, म यसलाई ३४ साल अगाडिको अवस्थामा फर्काउन चाहन्छु।’

वि.सं. २०३४ सालमा त्रिविको आयोजनामा भएको भाषिक गोष्ठीमा सहभागी भएका उनी मात्रै एक जना त्यस्ता व्यक्ति हुन्, जसले गोष्ठीले गरेको निर्णयको विरोध गर्यो। उनी नेपाली भाषालाई संकुचित पार्नका लागि सो गोष्ठीले हुँदानहुँदा नियम ल्याएको बताउँछन्।

‘उनीहरूले सो गोष्ठीका माध्यमले शहरलाई सहर, शहीदलाई सहिद, कानूनलाई कानुन मात्रै पारेनन्, फूललाई फुल बनाए। मीठोलाई मिठो बनाए। बीचलाई बिच पारे। यसरी नेपाली भाषालाई सङ्कुचित पार्ने प्रयास भयो। अहिले देहरादूनको नेपाली र नेपालको नेपाली मिल्दैन। सिक्किमको नेपाली र काठमाडौंको नेपाली मिल्दैन। के यो नेपाली भाषाको विकासका लागि राम्रो हो?’– उनी प्रश्न गर्छन्।

विभक्ति अलग्गै लेख्नुपर्छ भन्ने धारणा राख्ने उपाध्याय ३४ सालअघि आफूले यसको कुरा नउठाएको स्मरण गर्छन्।

‘३४ सालअघि विभक्तिको कुरा उठाएको थिइन। जब ३४ सालमा भाषालाई भद्रगोल पारियो र त्यसको सुधार गर्नुपर्ने अवस्था आयो तब समग्र रूपमा सुधार किन नगर्ने भन्ने भावना आएपछि मैले समग्र रूपमा अध्ययन गरें। अध्ययनले विभक्ति जोड्नु पनि नेपाली भाषाको हितमा नभएको निर्क्योल निस्क्यो। त्यसपछि विभक्ति पनि अलग लेख्ने अभियानमा लागेँ। तर, सर्वनाममा भने विभक्ति जोडिन्छ।’

आश्रमकाे बास
उपाध्याय केही वर्षदेखि टंगाल गहनापोखरीस्थित राधाकृष्ण देवाश्रममा बस्दै आएका छन्। उनलाई भेट्न नेपालका प्रधानमन्त्री देखि शिक्षामन्त्रीसम्म सोही आश्रममा पुग्छन्।

करीब ५५ वर्षको उमेरदेखि आश्रममा बस्न थालेका उनी त्यसअघि पोखरामा क्याम्पस प्रमुख थिए। प्राध्यापन पेशाबाट अवकाश भएपछि उनी काठमाडौं आए र आश्रमलाई आफ्नो निवासस्थान बनाए।

आश्रमलाई जोगाउनका लागि पनि आफू आश्रममा बसेको उनी बताउँछन्। उनी यहाँका अध्यक्षसमेत हुन्। यसको अर्को शाखा पोखराको लामीआलमा छ। देशभरिका जेहन्दार विद्यार्थीलाई निःशुल्क खान, बस्न र पढ्ने वातावरण बनाउन उनी तल्लिन छन्।

उपाध्यायका छोराले सुकेधारामा घर बनाएका छन्। कहिलेकाहीं बिरामी पर्दा उतै पनि जान्छन्। तर ज्यानले सकुन्जेल आश्रममै बसेर विद्यार्थीलाई पढाउँदा उनलाई आनन्द लाग्ने बताउँछन्।

८ मंसिर, २०७९, १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।