गोकर्ण विष्ट : पाँचौं प्रतिस्पर्धामा चौथो पटक निर्वाचित

गोकर्ण विष्ट : पाँचौं प्रतिस्पर्धामा चौथो पटक निर्वाचित

बुटवल : एकीकृत समाजवादीकी सचिव रामुकमारी झाँक्रीलाई पराजित गर्दै गुल्मी–२ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन्। विष्टले २८ हजार ४८५ पाउँदा झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्।

गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए। २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मीबाट उम्मेदवार थिए। उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका छन्। विष्टको यो लगातार तेस्रो जित हो।

को हुन गोकर्ण विष्ट ?
वि.सं. २०२२ असार १७ मा ईस्मा गाउँपालिका–४, दोहोली गुल्मीमा जन्मिएका विष्ट नेकपा एमालेका सचिव हुन्।

२०३५/३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीति आरम्भ गरेका विष्ट पञ्चायत कालमा राजकाज, सार्वजनिक अपराध जस्ता विभिन्न मुद्दामा केन्द्रीय कारागार, भद्रगोल जेल, नख्खु जेल र प्रहरी हिरासत बिताएका थिए।

२०५० सालसम्म अनेरास्ववियू, सचिवालय र विभिन्न विभाग प्रमुख, प्ररायु संघ महासचिव भएका विष्ट २०५६ देखि २ कार्यकाल प्ररायु महासंघ अध्यक्ष समेत भए।

पार्टीको ७ र ८ औं महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य भएका विष्ट नवौं महाधिवेशनबाट केन्द्रीय सचिव, मोर्चा विभाग प्रमुख बने। त्यसपछि विष्ट पार्टिको दशौं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सचिवमा पुनः निर्वाचित भए।

२०६८ सालमा ४ ऊर्जामन्त्री हुँदा विद्युत चुहावट नियन्त्रण, लोडसेडिङ न्यूनीकरण, महसुल नतिर्ने कम्पनीको लाइन काटेर चर्चामा आएका विष्ट जिल्लामा शालिन, भद्र र विकासप्रेमी नेताका रूपमा चिनिन्छन्।

विद्युत् प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरी सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात उनले उर्जा मन्त्री हुँदा गरेका थिए।

त्यसैगरी १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिस्पर्धाबाट वितरण गर्ने कानूनी व्यवस्था, ऊर्जा विकास कम्पनी स्थापना, प्रसारण लाइनको मास्टर प्लान निर्माण पनि विष्टकै कार्यकालमा भएको थियो।

त्यसैगरी २०७४ चैत २ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको २१ महिने जिम्मेवारी समाल्दा पनि विष्ट सधै चर्चाको केन्द्रमा रहिरहे।

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले वृद्धिको सुरुवात पनि उनकै कार्यकालमा भएको थियो।

त्यसबाहेक, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौतासमेत विष्टले गरेका थिए। 

७ मंसिर, २०७९, १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।