साउदीमा आज सार्वजनिक बिदा, क्यामरूनले पनि १९९० मा अर्जेन्टिनालाई हराउँदा दिएको थियो बिदा

साउदीमा आज सार्वजनिक बिदा, क्यामरूनले पनि १९९० मा अर्जेन्टिनालाई हराउँदा दिएको थियो बिदा

एजेन्सी: साउदी अरेबियाले हिजो सम्पन्न अर्जेन्टिनाविरुद्धको विश्वकपको पहिलो खेलमा २-१ गोलअन्तरले जित हात पार्यो। विश्वकप फुटबलको इतिहासमै यो अर्जेन्टिनाका लागि सर्वाधिक स्तब्ध बनाउने नतिजा थियो।

यता विश्वकै बलियो टोली र विश्वकपको दावेदार मानिएको अर्जेन्टिनालाई हराएसँगै साउदी सरकारले आज त्यहाँ सार्वजनिक बिदा दिएको छ। जितको उत्सव मनाउन त्यहाँका राजा सलमानले सार्वजनिक र निजी क्षेत्रका कामदार तथा विद्यार्थीका लागि सार्वजनिक बिदा दिएका छन्।

साउदी मात्र होइन, यसअघि क्यामरूनले पनि अर्जेन्टिनाविरुद्धको खेल जित्दा यसैगरी सार्वजनिक बिदा दिएको थियो। सन् १९९० को विश्वकपमा अफ्रिकी मुलुक क्यामरूनले 'फुटबल जायन्ट' अर्जेन्टिनालाई पराजित गरेको थियो।

साउदीको जितमा सो टोलीका मुख्य प्रशिक्षक हर्भी रेनर्डले भने, 'यो फुटबल हो। कहिलेकाहिँ नसोचेको परिणाम आउँछ। ग्रहहरू हाम्रो पक्षमा थियो।'

रेनर्डले प्रशिक्षकको रूपमा सन् २०१२ मा जाम्बियालाई र सन् २०१५ मा आइभरी कोस्टलाई अफ्रिकन कप अफ नेशन्सको उपाधि जिताएका थिए।

हिजोको जितअघि साउदीले विश्वकपमा तीन खेल मात्र जितेको थियो। अब साउदीले शनिबार पोल्याण्डको सामना गर्नेछ।

७ मंसिर, २०७९, ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।