कर्णाली प्रदेशसभा : मतगणना भएका १२ मध्ये १० क्षेत्रमा गठबन्धनकाे अग्रता

कर्णाली प्रदेशसभा : मतगणना भएका १२ मध्ये १० क्षेत्रमा गठबन्धनकाे अग्रता

सुर्खेत : प्रदेश सभा अन्तर्गत कर्णालीमा रहेका २४ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटामा मतगणना जारी छ।

अहिलेसम्म रुकुम पश्चिम, सल्यान, जाजरकोट, जुम्ला र दैलेख क्षेत्र नम्बर–२ का दुई वटै प्रदेशसभा क्षेत्रको मतगणना जारी रहेको हो। यस्तै, दैलेख क्षेत्र नम्बर १ (क) र कालिकोटको (ख)मा पनि मतगणना जारी छ।

मतगणना जारी भएको १२ मध्ये यो समाचार तयार पार्दासम्म १० वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।

जुम्ला (ख) मा भने एमाले केही मतले अगाडि छ। प्रदेश सभातर्फ (माओवादी केन्द्र)ले पाँच वटा निर्वाचन क्षेत्रमा अग्रता बढाइरहेकाे छ भने नेपाली कांग्रेसले चार वटा क्षेत्रमा अगाडि छ।

जुम्ला (क)मा भने स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन्। प्राप्त पछिल्लो नतिजाअनुसार दैलेख क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्रीले ६ हजार ५०१ मतसहित अगाडि छन्।

१३ हजार ८४९ मत गणता गर्दा एमालेका धर्मराज रेग्मीले दोस्रोमा ५ हजार ७५४ मत प्राप्त गरेका छन् भने यहाँ राप्रपा तेस्रो नम्बरमा छ। क्षेत्र नम्बर २ (क) मा कांग्रेस र (ख) मा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन्।

(क) मा १ हजार ६९० मत गणना हुँदा कांग्रेसका घनश्याम भन्डारीले ८५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका तिलक रिजालले ५७१ मत प्राप्त गरेका छन्।

२ (ख) मा माओवादीका योगेन्द्र बहादुर शाहीले ७६० मतसहित एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह अगाडि छन्। शाहले ५२४ मत प्राप्त गरेका छन्। यहाँ नेमकिपाका जय बहादुर थापाले २८५ मत पाएका छन्।

कालिकोट (क) मा माओवादीका दुर्गबहादुर रावतले एमालेका कुर्मराज शाहीलाई पछि पारेका छन्। १ हजार १२ मत गणना गर्दा रावले ५८८ मत ल्याउँदा एमालेका शाहीले ३१९ मत पाएका छन्।

जुम्ला (क) १२ हजार ६६ मतगणना गर्दा गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाहीले कांग्रेस प्रदेश सभापति ललितजंग शाहलाई १ हजार २७९ मतान्तरले पछि पारेका छन्। उनले ५ हजार ३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार शाहीले ४ हजार २९ मत प्राप्त गरेका छन्।

यहाँ एमालेको धीरेन्द्रराज गिरीले ३ हजार १४३ मत पाउँदा नेमकिपाका राजेश्वर देवकोटादले ३८६ मत पाएका छन्। जुम्ला (ख) मा ९ हजार ६५६ मतगणना हुँदा एमालेका टेकराज पछाई झिनो मतान्तरले गठबन्धनभन्दा अगाडि छन्।

उनले ३ हजार ५१७ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पदम बहादुर रोकायले ३ हजार ३७६ मत पाएका छन्। रोकाय कर्णाली सरकारको वहालवाला भौतिक पुर्वाधार मन्त्री समेत हुन्।

सल्यानका दुईवटै निर्वाचन क्षेत्रमा गठबन्धन अगाडि छ। (क)मा पछिल्लो नतिजा अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादीका भिमप्रकाश शर्माले ७ हजार ५९४ मत प्राप्त गर्दा एमाले कुल बहादुर गिरी ३ हजार ८६० मत पाएका छन्।

राप्रपाका शिव बहादुर ओलीले ४१५ प्राप्त गरे। (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश अधिकारीले ६ हजार १६२ मत प्राप्त गर्दा एमालेका गुलाबजंग शाहले ५ हजार १७७ मत प्राप्त गरेका छन्।

यता जाजरकोटमा पनि दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन्। (क) मा हालसम्म गणना भएको १५ हजार ६२६ मत मध्ये कांग्रेसका वेदराज सिंहले ९ हजार ३२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका डम्बर बहादुर सिंहले ५ हजार ३३४ मत पाएका छन्।

कांग्रेसका सिंहले एमालेका सिंहलाई ३ हजार ९८५ मतान्तरले पछि पारेका छन्। यहाँ गठबन्धनका बागी उम्मेदवार कमान बहादुर खड्काले ९२३ मत पाएका छन्।

जाजरकोट (ख) मा हालसम्म गणना भएको १८ हजार ३९२ मत मध्ये राजिव विक्रम शाहको पक्षमा ९ हजार ९८२ मत रहेको छ। उनले एमालेका खिम बहादुर शाहीलाई ३ हजार २५ मतान्तरले पछि पारेका छन्। शाहीले ६ हजार ९५७ मत पाएका छन्। यहाँ राप्रपाका कृष्ण बहादुर शाहीले ३३९ मत पाएका छन्।

रुकुम पश्चिमका दुईवटै क्षेत्रमा माओवादीका उम्मेदवारहरु अगाडि छन्। (क) मा माओवादीका महेन्द्र केसीले १ हजार ४१९ मत पाउँदा एमालेका नारायण कुमार शाहले ४३८ मत पाएका छन्।

यस्तै राप्रपाको विनोद कुमार शाह १७९ मत पाएका छन्। (ख)मा पनि माओवादी केन्द्रका राजकुमार शर्माले ४९९ मतसहित अग्रता कायम गरेका छन्। यहाँ एमालेका कर्णबहादुर घर्तीले ३०१ मत पाएका छन् भने राप्रपाका निर्जल केसीले २० मत पाएका छन्।

६ मंसिर, २०७९, १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।