'दृश्यम २' ले उकास्यो बलिउडलाई, चार दिनको कमाइ ७५ करोड

'दृश्यम २' ले उकास्यो बलिउडलाई, चार दिनको कमाइ ७५ करोड

एजेन्सी: बलिउडको लागि सन् २०२२ 'दशा' बनेर छाए पनि केही फिल्मले भने राहत दिएका छन्। हालसम्म रिलिज भएका चलचित्रमध्ये कश्मीर फाइल्स, भुलभुलैया २, गङ्गुबाई काठियावाडी र ब्रह्मास्त्रले मात्र उल्लेखनीय व्यापार गरे। त्यसमा पनि ब्रह्मास्त्रको बजेट अत्यधिक भएकाले कमाइ धेर गरे पनि लगानी भने उठाउन सकेन।

यसबीच गत शुक्रबार रिलिज भएको चलचित्र 'दृश्यम २' ले भने बलिउडलाई केही राहत दिने भएको छ। सन् २०१५ मा प्रदर्शन भएको 'दृश्यम' नामको चलचित्रको सिक्वेल यसमा अजेय देवगनको मुख्य भूमिका छ। फिल्मको पहिलो भाग पनि हिट भएको थियो।

दक्षिण भारतीय फिल्मको रिमेक भए पनि यो फिल्मले राम्रो व्यापार र औसत समीक्षा पाएको छ। सोमबार पनि फिल्मको व्यापार राम्रो भयो। करिब १२ करोड भारुको आसपासमा कमायो। यसको अर्थ फिल्मले आगामी दिनमा अझै कमाउने आकलन गरिएको छ।

हालसम्म रिलिजको चार दिनमा फिल्मले ७५ करोड भारु कमाएको छ। यो भनेको बलिउडको लागि आशाको किरण पनि हो।

फिल्मको विकेण्ड कलेक्सनलाई आधार मान्दा कश्मीर फाइल्स, गङ्गुबाई र भुलभुलैया २ भन्दा अगाडि राखिएको छ। ओपनिङ विकेण्ड कलेक्सन ६४.१४ करोड भारु हुनु भनेको १२०.७५ करोड भारु कमाउने ब्रह्मास्त्रभन्दा मात्र पछाडि हो।

फिल्मले छिटै सय करोड भारु कमाउने आकलन गरिएको छ। फिल्म ९० करोड भारुको लागतमा बनेको हो।

६ मंसिर, २०७९, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।