मतगणना केन्द्रमा सुनिएको आवाज ' अचम्मै भयो, उलटपुलट भयो'

मतगणना केन्द्रमा सुनिएको आवाज ' अचम्मै भयो, उलटपुलट भयो'

काठमाडौं : अहिले अधिकांश मत गणनास्थलमा स्थापित दलका उम्मेदवारका प्रतिनिधिहरू जति मत गन्न सकिँदै जान्छ छक्क पर्छन्।

‘अचम्मै भयो। मत बाँडियो। मत उलटपुलट भयो।’ यस्तै भनिरहेका थिए उनीहरू काठमाडौँको मतगणना स्थलमा। जुन रूपमा नयाँ दल अनि स्वतन्त्र पार्टीका उम्मेदवारहरूले स्थापित दलका उम्मेदवारहरूलाई पछि पारिरहेका थिए त्यो उनीहरूले पत्याउनै सकिरहेका थिएनन्।

तर उनीहरूले नपत्याएर के गर्नु ! काठमाडौं २, ६, ७ अनि ८ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी  अनि हाम्रो नेपाली दलका उम्मेदवारले लिड गरिरहेका थिए। अन्य केही स्थानमा दोस्रो।

हाम्रो नेपाली दलबाट उम्मेदवार बनेका सुमन सायमीले काठमाडौँ ८ मा लिड गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ दोस्रोमा छन्।

मुलुकभर भइरहेको मतगणनाले नेपाली कांग्रेस पहिलो अनि एमाले दोस्रो दल बन्ने पक्का छ। तर गणनाको रुझानले तेस्रो दल यही हुन्छ भन्न सक्ने अवस्था छैन।

स्थानीय तहको निर्वाचनमा लोकप्रिय भएको लौरोको माध्यमबाट मतदाता फकाउन दर्ता भएको दल नेपाली राष्ट्रिय पार्टीका हकमा आए उही सायमी हुन्। समानुपातिकमा पनि उत्पात आउने देखिन्न यो दलको।

तर राष्ट्रिय स्वतन्त्र पार्टीबाट न प्रत्यक्षतर्फ जित्ने उम्मेदवारको सङ्ख्या एकिन गर्न सक्ने अवस्था छ न समानुपातिक मतको आँकडा नै अनुमान गर्न सकिने अवस्था छ।

०००

राजनीतिक विश्लेषक विष्णु सापकोटा चुनावको प्रारम्भिक नतिजाले दलप्रतिको वितृष्णाले दलविहीन अनि स्वतन्त्रहरूलाई मत दिएको देखिएको बताउँछन्।

प्रदेश तथा प्रतिनिधि सभा सदस्यका रूपमा चुनिएर पुराना नेता पटक पटक आउनु भन्दा नयाँ आउनु स्वागतयोग्य भएको भन्दै सापकोटा चुनिएर आउने नयाँ अनुहारका उम्मेदवारको राजनीतिक मूल्याङ्कन सुरु नै नभएकाले यसै भन्न नसकिने बताउँछन्।

‘नयाँ आउने बित्तिकै अहिलेका भन्दा राम्रा हुन्छन् भन्ने त हेर्नै बाँकी छ,’उनले भने,‘अहिलेको पुरानाको मूल्याङ्कन हो। नयाँको त आएपछि सुरु हुन्छ।’

नयाँ चुनिएर आउने सांसदले आफूलाई कसरी राजनीतिक दृष्टिकोणले परिभाषित गर्छन् र संसद् तथा सरकारमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले मूल्याङ्कन हुने विश्लेषक सापकोटाको मत छ।

तर, थोरै सङ्ख्यामा हुने भएकाले नेपालमा दल विहीन नै अवस्थामा जाने गरी स्वतन्त्रहरू आउने परिस्थिति बनिनहाल्ने उनको विश्लेषण छ।

झुक्क्याए दलले, मारमा स्वतन्त्र

यो पाली संसद्मा पुग्ने स्वतन्त्र सांसदहरूको सङ्ख्या न्यून हुने पक्का छ। त्यसको कारण हो राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीको बदमासी।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रप्रतिको आकर्षण क्यास गर्न यी दुवै दलका उम्मेदवारले पार्टीबाट उम्मेदवार बने पनि मतदातामाझ भने स्वतन्त्र दलको उम्मेदवार झैँ पार्टीको नाम भन्दा चुनाव चिन्ह भिजाउने गरी प्रचार गरे।

आचारसंहिता उलङ्घन गरेर दलको उम्मेदवार भए पनि स्वतन्त्र जस्तै गरेर प्रचार गरेको भन्दै निर्वाचन आयोगले यी दुवै दलका उम्मेदवारलाई पटक-पटक सचेत गराए पनि अटेरी नै बने।

चुनावी रुझानले स्वतन्त्र  अनि नयाँ उम्मेदवारलाई मतदाताले मत दिएको देखिए पनि यसलाई उनीहरूप्रतिको आकर्षण भन्दा दलका नेताप्रतिको वितृष्णाले बढी काम गरेको देखिएको बताउँछन् विश्लेषक सापकोटा।

‘यो नेगेटिभ भोट देखिन्छ। उसले पाएको भोट भन्दा पनि अरूले नपाएको भोट,’उनले भने,‘घण्टीको कुरा गर्ने हो भने कतिपय ठाउँमा त उम्मेदवार को छ सँग मतलब समेत भएन। तर, भोट हालिएको देखिन्छ।’

सुध्रन दललाई चेतावनी

अहिले देखिएको मतको शैलीले स्थापित पुराना दललाई सुधारको बाटो लिन दबाब बढाउन सक्छ। त्यसले उमेर पुगेकाहरू अवकाशमा जाने र युवाहरूका लागि बाटो खुल्ने हुन पनि सक्छ। तर यो त्यति सहज भने छैन।

सापकोटा यो नतिजाले पुराना राजनीतिक दललाई सुधारिन बाध्य बनाउने बताउँछन्। तर सुध्रने हुन् या हैन एकिन भने गर्न सकिन्न। प्रभाव पार्ने भने निश्चित छ। 

‘यो दह्रो झापड नै हो,’ सापकोटाले भने'  सदाबहार रूपमा हामी नै चुनाव लड्ने भन्ने नेतालाई दह्रो चुनौती हो।'

संसद्मा नीति नियम बनाउने ठाउँ भएकाले स्वतन्त्र नै भए पनि २-४ जना सशक्त रूपमा प्रस्तुत भए नीति नियममा फरक पर्ने उनको आस देखियो।

स्वतन्त्र सांसदले सक्रिय तथा सकारात्मक रूपमा काम गरे दलका सांसदलाई चुनौती हुने विश्लेषक सापकोटा बताउँछन्।

५ मंसिर, २०७९, ००:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।