सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा
तस्बिर : मोनिका वाइबा

काठमाडौं उपत्यकाको पुरानो बस्ती ’खोकना’जहाँ अधिकांश घरको प्रमुख व्यवसाय हुन्थ्यो ’तेल व्यवसाय’। बस्तीको साँघुरो बाटोमा खर्पनभरि तेल, अनि छेउमा मानो झुन्ड्याएर तेल बेच्न हिँडिरहन्थे किसानहरू।

हरेक घरमा तेल व्यवसायी भए पछि उनीहरूको ग्राहक पनि आ-आफ्ना हुने नै भयो। कसैले काठमाडौँ उपत्यकाको भरमा थिए। कोही उपत्यका आसपासका पहाडी भागतिर पुग्थे। तोरी चालेर, त्यसलाई भुटेर, कुटेर, अनि पेलेर निकालेको तेलले पुरै गाउँ नै मगमग बास्नादार रहन्थ्यो।

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ।

भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट मिल हाबी भएका छन्। अहिले यहाँ न वस्ति नै मगमगाउने तोरीको बास्ना नै आउँछ न खर्पनमा तेल बोकेर बेच्न हिँडेका किसान नै फेला पर्छन्। पहिला चार वटा तेल मिल चल्थे। अहिले त एउटा मात्र सञ्चालनमा छ।

खोकनाको अनिवार्य परिचय बनेको तेलै हराउने भएपछि तेल मिल ब्युँताउन सकिन्छ कि भनेर ५३ वर्षका कान्छा महर्जन जोस्सिएको पनि ३० वर्ष भइसकेछ। कान्छाले मिल ब्युँताएको भने ९ वर्ष मात्र भएछ। तर, यस व्यवसायको लागि उनी नयाँ अनुहार भने पक्कै हैनन्।

खोकना बसपार्कबाट अलिकति भित्रको दोबाटोमा उनको मिलमा केही मेसिन, चुल्हो, तेल हाल्ने ड्रम अनि दुई-चार जना कामदार छन्। कुनै बेला स्थानीयलाई नै भ्याई नभ्याई हुने मिलमा अहिले केही काठमाडौं बाहिरका कामदार छन्।

कान्छा बिहान सबेरै उठेर तेल मिल खोल्न हतारिँदै पुग्छन्। अनि तेल निकाल्नेदेखि बेच्नसम्म उनी दिनभर मिलमै व्यस्त हुन्छन्। अहिले उनको परिवारका तीन जना अनि अन्य कामदार गरेर ७-८ जना यसैमा व्यस्त छन्।

'हामी पहिला देखिनै गर्थ्यो। ४०-४५ वर्ष देखि नै काम यही हो। बिचमा ३० वर्ष जति बन्द भयो। अनि मैले मिल बनाएर खोलेको,’ कान्छाले खरर भनिहाले।

पहिला देखिनै सामुदायिक रूपमा सञ्चालन भइरहेको मिल अहिले भने टोलकै समिति मातहत छन्। जसको सम्पूर्ण नेतृत्वले कान्छाले गर्छन्। अनि त्यसबापत भएको आम्दानीको केही हिस्सा टोलकै उपभोक्ता समितिलाई बुझाउँछन्। बाँकी आफ्ना लागी।

'पहिला पालैपालो मिल चलाउन पाउँथ्यौँ। नाफा पनि जसले मिल चलायो उसलाई हुन्थ्यो,' उनले उकेरासँग भने'समुदायको ’नाइके’लाई तेल नै तिर्नुपर्थ्यो। अहिले समितिमा १ सय ४४ सदस्य छन्। नाफाको केही प्रतिशत समितिलाई बुझाए हुन्छ।'

उनी अहिले पनि दिनको पाँच सय किलो जति तोरी पेलेर तेल निकाल्छन्। अधिकांश तोरी भारतबाट आउँछ। सकेसम्म नेपाली तोरी नै खोज्ने रहेछन्। तर मुस्किलले ३० देखि ३५ प्रतिशत मात्रै नेपाली तोरी पाइने रहेछ।

'पहिला बुङ्ग्मति, भैसेपाटी, फर्पिङ,लेले, छम्पी, दुछापबाट यहाँ तोरी भित्रिने रहेछ। पहाडकोमा पनि सबै भन्दा राम्रो तोरी फर्पिङको मानिने रहेछ,' उनले भने'पहाडमा यहाँबाट तेल लिएर गएर मान्छेहरूले तोरी साटेर आउँथे। अब अहिले तोरी नै पाइँदैन।'

अधिकांश तोरी भारतबाट आउने भएकाले उनले अब अर्ग्यानिक तोरीको तेल भन्न छाडिसके। किनकि कसरी उत्पादन भएको हुन्छ थाहै हुन्न। अनि ग्राहकलाई ढाँट्न मनले मानेन। उनी अझैँ पनि खोकनामा उत्पादन हुने तोरीको तेल शुद्ध हुनेमा भने ढुक्क देखिए।

'अर्ग्यानिक चैँ नभनौँ। किनकि प्रयोग गरेको तोरी उत्पादन कसरी भएको हो थाहै हुन्न। तर शुद्ध चैँ हो है। शुद्ध चाहिए यहीको तेल प्रयोग गर्दा हुन्छ' उनले दाबीका साथ भने।

भोजमै बढी माग

बाह्रै महिना मिल सञ्चालन हुन्छ। त्यसमा महिनामा २२-२३ दिन। चाडबाड अनि विभिन्न भोज सुरु भएपछि तेलको माग बढ्छ। बिहेको सिजनमा पनि माग आउँछ। सिजनमा गाउँभरि १५ सय देखि दुई हजारसम्म भोज हुन्छन्। एउटा भोजमा २० पाथीसम्म तेल जान्छ। त्यो भनेको ८० लिटर हो। सबैले तेल त्यही मिलबाट लैजाने रहेछन्।

मिल चलेको समयमा दिनमा एक सय ५० देखि एक सय ८० लिटरसम्म तेल उत्पादन हुने रहेछ। त्यसका लागि दिनमा करिब पाँच सय केजीसम्म तोरी खपत हुन्छ। तोरीको भाउ आकासिएको छ। तोरी सबैभन्दा महँगो भएको यही वर्ष नै यही हो रे।

’गएको सात वर्षमा तेलको भाउ लिटरमा ५५ रुपैयाँ मात्र बढेको थियो। तर, यो वर्षमा अहिले मात्र एक सय ३० रुपैयाँ बढ्यो। अहिले हाम्रोमै तोरीको तेल लिटरको चार सय छ’ उनले भने। 

अहिले ८० प्रतिशत तेल उनी मिलबाटै बेच्छन्। तेलको लागि उनलाई अहिलेसम्म बजारमा गएर मार्केटिङ गर्नु परेको रहेनछ। स्थानीय र थाहा हुने मिलमै आएर तेल लैजान्छन्।

बजारमा किन नलगेको भन्ने जिज्ञासामा उनले भने'बजारमा किन लगिराख्नु पर्यो! हाम्रो मिलमै बेच्न भ्याएको छैन। ग्राहकहरू धेरै जसो बाहिरी जिल्लाबाटै आउँछन्। अनि मिलमै किनेर लैजान्छन्।'

२०३५ सालसम्म चार वटै मिल चलिरहेको थियो त्यहाँ। तेल मिलको इतिहासबारे कान्छालाई सोध्दा 'मलाइ थाहा भए देखिनै यो छ। दुई-तीन सय वर्ष अगाडिबाटै हो भन्छन्' भने।

'पहिला एक-एक मोहर राखेर गाउँलेले बनाएको रे। अनि ९० सालको भूकम्प आउने बेला पनि यहाँ धेरै कामदार थिए रे। तोरी पकाइरहेको  बेला भूकम्प आएको अनि परालको छानो आगोमा खसेर सबै नष्ट भएको रे’ उनले भने'त्यतिखेर राणा शासनथ्यो नि। जुद्ध शमशेर हो कि खै को थ्यो रे। उसले थानकोटबाट चार वटा तेल पेल्ने मेसिन दिएको भन्थे। अहिले हामीसँग एउटा मात्र छ।’

खोकनाको तेल व्यवसाय बचाउन अहिले ललितपुर महानगरपालिकाले मिल सँगैको जग्गामा एउटा भवन बनाउँदै छ। त्यसको लागि महानगरले  दुई करोड बजेट पनि छुट्टाएको छ । सो भवन भने पुरानो संरचनामै बन्न लागेको कान्छाले सुनाए।

स्थानीयहरूले छोड्दै गएको र प्राइभेट मिल मौलाउँदै जाँदा खोकनाको तेलको ब्रान्ड नै बिग्रिएपछि मिल खोल्नु परेको उनले सुनाए। अन्य मिलबाट उत्पादन हुने तेल खोकनाको तेल भनेर बेच्दा प्रयोग गरिरहेकाहरूले खोकनाको तेलमा पनि मिसावट हुन थालेछ भनेको सुनेपछि नै उनले खोकनाको इज्जत जोगाउन मिल चलाएको बताए।

'नराम्रो हल्ला फैलियो। आफ्नो पुर्ख्यौली पेसा पनि भयो। फेरी मिल खोल्नु पर्छ भनेर २०६९ सालमा मैले खोलेको हो,’ उनले भने।

सिकर्मीबाट तेल व्यवसायी

अहिले खोकनाभरि पुराना २० जना पनि तेल व्यवसायी छैनन् । तेल व्यवसायमै फर्कनु भन्दा अगाडि कान्छा २०४५ सालमा आवास मन्त्रालयमा काम गर्थे। त्यहाँ करिब ७ वर्ष जति काम गरेर उनी सिकर्मी कामतिर लागे। अनि विभिन्न मन्दिरहरूमा आफ्नो कला टाँसे। त्यहाँ पनि १० वर्ष जति काम गरेपछि छोडिदिए।

पछि घुम्दाघुम्दै तेल मिल सञ्चालन गर्न पुगे। अस्तित्व सङ्कटमा परिसकेको मिल चलाउन पाउँदा उनी दङ्ग छन्। उनका लागि तेल केवल व्यापार मात्र पनि हैन रहेछ। तेलमा उनी पुर्खाको इज्जत देख्छन्।

उनको घर मिल नजिकै रहेछ। सानोमा  खेल्न आउँदै गर्दा उनले यहाँ काम गरेको धेरै देखे अनि आफैले पनि केही काम गरे। किसानको बाक्लो उपस्थिति रहेको बस्तीमा बच्चादेखि बुढो सम्मका समूहले खेतीपाती गर्थे। कान्छाले पनि गरे। त्यही भएर उनले आठ कक्षा भन्दा बढी आफ्नो पढाइलाई बढाउन सकेनन्। गहुँ, चामल, आलु, बकुला लगायतका सबै अन्न बेच्ने गाउँ अहिले भने आफै परनिर्भर भैसकेको छ।

'धेरै खेतीपातीमै व्यस्त भएर पनि हाम्रो यहाँ धेरै साक्षरता छैन। अहिले बढ्दै जानु अलग पाटो हो। नत्र,  हाम्रो पालामा एसएलसी पास गर्ने नै खोजेर पाउँदैन थ्यो’ उनले पढाई अगाडि नबढ्नुको कारण खुलाए।

चाडै काममा हात हालेसँगै उनको विवाह पनि चाडै भयो। १५ वर्षको उमेरमा मागी विवाह भयो उनको। अहिले चार छोरी र एउटा छोरा छन्। दुइटा छोरीको बिहे भइसक्यो। बाँकी सबै जनाले धेरथोर मिलमै काम गर्छन्।

अहिले मिलमा आधुनिक मेसिन समेत ल्याएका छन्। तर  तोरी पेल्ने पद्धति भने पुरानै रहेछ। आगोमा हाँडी राखेर तोरी भुटेर बकाइदा खुट्टाले थिचेर तेल निकालिन्छ। त्यसरी थिचेर ननिस्किए पछि मात्र मेशिनको प्रयोग गरिन्छ। अहिले मुख्य समस्या नै कामदार रहेछ। नयाँ मान्छे पाउन गाह्रो। पुराना फर्कन नचाहने। अलि पुराना पाए पनि पारिश्रमिक धेरै माग्नु।

'नाफामा ८० प्रतिशत जति त ज्यालै दिनु पर्छ। त्यसबाट बच्ने २० प्रतिशत मात्र हो। त्यसबाहेक महिनामा ५०-६० देखि एक लाख सम्म मात्र कमाउन सकिन्छ' उनले भने।

अहिले उनीसँगै उनका परिवारका सदस्य पनि मिलमा काम गर्छन्। आफूले नसक्ने भएपछि परिवारका कुनै सदस्यले यो काम निरन्तर गरिदिए हुने भन्ने लाग्दो रहेछ उनलाई। तर विश्वास चैँ रहेनछ।

'कसैले यो काम गरिदिएन भने त कुनै बेला खोकनामा शुद्ध तोरीको तेल पाइन्थ्यो भन्ने भइहाल्छ नि। इतिहास मरिहाल्छ नि। जे जस्तो भए पनि पुर्खाको इतिहास जोगियोस् भन्ने लाग्छ। तर खै कसले पो सम्हालिदिएला? शङ्का गर्दै उनले भने।

५ मंसिर, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।