फ्रान्सलाई ठूलो झट्का: बलोन डि ओर विजेता बेञ्जिमा विश्वकपबाट बाहिरिए

फ्रान्सलाई ठूलो झट्का: बलोन डि ओर विजेता बेञ्जिमा विश्वकपबाट बाहिरिए

एजेन्सी: फ्रान्सका स्टार फर्वार्ड करिम बेञ्जिमा विश्वकप २०२२ बाट बाहिर भएका छन्। अभ्यासका क्रममा तिघ्रामा चोट आएपछि उनी विश्वकप खेल्न नसक्ने भएका हुन्।

बेञ्जिमा सन् २०२२ को बलोन डि ओर विजेता पनि हुन्। अर्थात् उनी यो वर्षकै उत्कृष्ट फुटबल खेलाडी भएका हुन्। रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताएपछि उनले यो उपाधि जितेका थिए।

उनी यसपटक फ्रान्सको सर्वाधिक महत्त्वपूर्ण खेलाडी थिए। फ्रान्सलाई उपाधिको दावेदार मानिँदै आएको बेला बञ्जिमाको बहिर्गमनले ठूलो असर पार्ने देखिएको छ। फ्रान्स राष्ट्रिय टोलीले बेञ्जिमाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

फ्रेन्च फुटबल फेडेरेशनका अनुसार एमआरआई रिपोर्टअनुसार बेञ्जिमाले अब तीन साता आराम गर्नुपर्नेछ।

यो पटक फ्रान्स विश्वकपको समूह 'डी' मा रहेको छ। फ्रान्सको पहिलो खेल २२ नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध रहेको छ।

यता फ्रान्सलाई यसअघि नै पाउल पोग्बा र एन्गोलो कान्टेको अभाव खड्किरहेको छ। दुवै महत्त्वपूर्ण र स्टार खेलाडी हुन्। उनीहरू सन् २०१८ को विश्वकप जित्दा महत्त्वपूर्ण सदस्य थिए।

४ मंसिर, २०७९, ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।