पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

अबको पाँच वर्षमा कस्तो नेपालको चाहना छ? देशमा कस्ता कानून बनून्? कस्ता प्रधानमन्त्री अनि मन्त्री बनून्? भन्ने चाहना छ। यसको निर्णय गर्ने दिन आजै हो।

आज हामी मतदाताले मतदानमार्फत जस्तो जनादेश दिन्छौँ आगामी पाँच वर्षको दृश्य त्यस्तै नै हुनेछ। योजना भएकालाई मत दिएर संसद्मा पठाए विकासको शिलान्यास हुनसक्छ, अनुशासितलाई पठाए भ्रष्टाचारमुक्त नेपालको अभियान सुरु हुन सक्नेछ। समानता बुझेकालाई पठाए आमाको नाममा पनि नागरिकता जारी हुने कानून बन्नेछ। ज्वाइँ-छोरीको बहस समाप्त हुनेछ। जवाफदेहीलाई पठाए मतदाताले प्रश्नको उत्तर पाउनसक्ने छन्।

बाचाअनुसार अर्को पाँच वर्ष काम गर्नु भनेर सहज बहुमत दिँदा पनि काम नगर्ने अनि पार्टीभित्रको झगडामा दुई पटक संसद् विघटनको प्रयास गर्ने कामलाई मतदाताले कसरी मूल्याङ्कन गर्ने? पाँच दलीय गठबन्धनले भने जस्तै प्रतिगमन या स्वयं दलका नेताले भने जस्तै बाध्यकारी कदम? यसको छिनोफानो पनि आजै मतपत्रमार्फत हुने नै छ।

यसको विपरित भ्रष्ट, बदनाम र सबै वर्ग, लिङ्ग र जातलाई समान रूपमा हेर्न नसक्नेलाई आफ्नो प्रतिनिधि बनायौँ भने हिजोका पाँच वर्ष जसरी खेर गयो आगामी पाँच वर्ष पनि त्यसरी नै खेर जाने पक्का छ।

त्यो बेलामा केवल नेता अनि जनप्रतिनिधिलाई गाली गर्ने र पाँच पुनः कुर्नेबाहेक अर्को विकल्प हुने छैन हामीसँग। राजनीतिक रूपमा आज आउने जनादेशले धेरै परीक्षणको सफलता-असफलता मापन समेत गर्नेछ।

गत निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा गए। परिणाम सकारात्मक आयो। दुवै दलको नाम र चिह्नसँगै शासकीय र आर्थिक मोडलमा केही भिन्नता रहे पनि मुलत सिद्धान्त उही थियो। जनमतबाट अनुमोदन भयो। तर पाँच वर्ष सुखद् शासन भएन।

यसपटक वाद र राजनीतिक सिद्धान्त नमिले पनि अंक गणितका हिसाबमा दलहरू मिलेर निर्वाचनमा जाँदा मतदाताले स्वीकार्छन् या अस्वीकार गर्छन् भन्ने राजनीतिक परीक्षण हुँदैछ। यसको नतिजा दिने दिन आजै हो। यो नतिजाले भोलिको निर्वाचनको सम्भावित तस्बिर समेत देखाउने छ।

बाचाअनुसार अर्को पाँच वर्ष काम गर्नु भनेर सहज बहुमत दिँदा पनि काम नगर्ने अनि पार्टीभित्रको झगडामा दुई पटक संसद् विघटनको प्रयास गर्ने कामलाई मतदाताले कसरी मूल्याङ्कन गर्ने? पाँच दलीय गठबन्धनले भने जस्तै प्रतिगमन या स्वयं दलका नेताले भने जस्तै बाध्यकारी कदम? यसको छिनोफानो पनि आजै मतपत्रमार्फत हुने नै छ।

गणतन्त्र फ्याकेर संवैधानिक राजतन्त्र ल्याउन सक्रिय दलको अवस्था सुधारेर राजतन्त्रको मत बलियो बनाउने हो कि भो अब गणतन्त्र नै ठीक छ भन्ने? आफूबाट परिवर्तन नगर्ने तर परिवर्तन भन्ने, न राजनीतिक नीति प्रष्ट न आर्थिक र सामाजिक योजना नै। 

अर्को निर्वाचनमा अहिलेका अधिकांश उम्मेदवारले स्वत: अवकास पाउने छन्। यो पटकका उम्मेदवार हेर्ने हो भने पनि ६० प्रतिशत युवा संसद् पुग्न सक्छन्। त्यसैले अबको संसद् पुरानो पुस्ताको बिदाई र नयाँ पुस्ताको स्वागत गर्ने थलो पनि बन्दैछ।

नेपालीको बाध्यतामा खेल्ने अनि भावनात्मक कुरा गर्नेहरूको मूल्याङ्कन कसरी गर्ने? साँच्चै देश बनाउन अनि परिवर्तनको प्रयास गर्न संसद्मा जान प्रयास गरिरहेका भिजनसहितका युवा उमेरकालाई यसैपाली पठाउने कि पाँच वर्ष पर्ख भन्ने? त्यसको निर्णय गर्ने दिन पनि आजै हो।

यसैले देखाउँछ आज आवेग हैन विवेक प्रयोग गर्ने दिन हो। आक्रोश हैन संयमता अपनाउने दिन हो। मनले मात्र हैन मष्तिष्कले सोचेर मताधिकार प्रयोग गर्ने दिन हो।

अर्को निर्वाचनमा अहिलेका अधिकांश उम्मेदवारले स्वत: अवकास पाउने छन्। यो पटकका उम्मेदवार हेर्ने हो भने पनि ६० प्रतिशत युवा संसद् पुग्न सक्छन्। त्यसैले अबको संसद् पुरानो पुस्ताको बिदाई र नयाँ पुस्ताको स्वागत गर्ने थलो पनि बन्दैछ।

त्यसैले न दबाब, न प्रभाव, न आश्वासन, न प्रलोभन, न आवेग, न केवल भावना। आज साँच्चै मताधिकार प्रयोग गर्ने दिन हो। आफ्नो मताधिकार पाँच वर्ष पछुताउन नपर्ने गरी प्रयोग गरौँ।

४ मंसिर, २०७९, ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।