निर्वाचनका लागि खरिद भएको तीन करोड ४५ लाखको स्यानिटाइजर विशाक्त प्रमाणित, ज्यानै जानसक्ने 'मिथानोल' पाइएपछि प्रयोगमा रोक

निर्वाचनका लागि खरिद भएको तीन करोड ४५ लाखको स्यानिटाइजर विशाक्त प्रमाणित, ज्यानै जानसक्ने 'मिथानोल' पाइएपछि प्रयोगमा रोक

काठमाडौंः निर्वाचनका लागि खरिद भएको ह्याण्ड स्यानिटाइजर विशाक्त भएको प्रमाणित भएपछि प्रयोगमा रोक लगाइएको छ। तीन करोड ४५ लाख मूल्यको २३ हजार बोटल ह्याण्ड स्यानिटाइजरमा विशाक्त तत्त्व भएको प्रमाणित भएको हो।

राष्ट्रिय औषधि प्रयोगशालामा स्यानिटाइजर परीक्षण गराउँदा प्रयोग गर्न नमिल्ने देखिएपछि आयोगले प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतलाई प्रयोग नगर्नका लागि परिपत्रसमेत गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोग स्रोतका अनुसार स्यानिटाइजर खरिद गरेर ल्याइदिने सप्लायर (बिडर) मेडी प्वाइन्ट इन्टरनेशनल प्रालि हो।

विभाग स्रोतका अनुसार पनि स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथानोल अल्कोहलको मात्रा हुनुपर्ने थियो। स्यानिटाइजरमा मिथानोल मिसिनै हुँदैन थियो। तर, त्यसको ठीकविपरीत आयोगले खरिद गरेको स्यानिटाइजरमा इथायल (इथानोल) अल्कोहल दुई प्रतिशत मात्रै र मेथायल (मिथानोल) अल्कोहलको मात्रा ६७ प्रतिशत भेटिएको छ।

औषधि व्यवस्था विभागले कात्तिक ३० गते सूचना जारी गर्दै ब्याच नं. ‘सीएआरई–११–२२’ को पाँच सय एमएलको ‘जीसीएच ह्याण्ड स्यानिटाइजर’ न्यून गुणस्तर (विषक्त मेथानोल) भएको बताएको छ। 

विभागका अनुसार यो स्यानिटाइजरको उत्पादक भारतीय कम्पनी ‘ग्लोबल हेल्थकेयर (कुञ्जपुरा, कर्नल–१३२ ०२३, भारत)’ हो। औषधि ऐन २०३५ को दफा १४ बमोजिम सो स्यानिटाइजरको बिक्री वितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता (रिकल) गर्न विभागले सूचना जारी गर्दै निर्देशन दिइसकेको छ।

त्यसैगरी सो विशाक्त स्यानिटाइजरको विवरण सम्बन्धित उद्योग, आयातकर्ता तथा तिनिहरूका प्रतिनिधिहरूले पेश गर्नका लागि विभागले सूचना जारी गरेको छ।

विभागका सुचना अधिकारी तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले आयोगले विभिन्न मतदान केन्द्रमा लानका लागि खरिद गरेको स्यानिटाइजर परीक्षण गर्दा विशाक्त रसायन भएको पाइएको पुष्टि गरे। 
केसीले स्यानिटाइजरमा इथानोल हुनुपर्ने भए पनि मिथानोल देखिएको बताए। 

‘स्यानिटाइजरमा इथानोल हुनुपर्नेमा मिथानोल भेटियो’, केसीले भने, ‘मिथानोल भनेको विशाक्त रसायन नै हो। त्यो स्यानिटाइजरमा प्रयोग गर्नै मिल्दैन। पाइँदैन पनि।’

विभाग स्रोतका अनुसार पनि स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथानोल अल्कोहलको मात्रा हुनुपर्ने थियो। स्यानिटाइजरमा मिथानोल मिसिनै हुँदैन थियो। तर, त्यसको ठीकविपरीत आयोगले खरिद गरेको स्यानिटाइजरमा इथायल (इथानोल) अल्कोहल दुई प्रतिशत मात्रै र मेथायल (मिथानोल) अल्कोहलको मात्रा ६७ प्रतिशत भेटिएको छ। जुन स्यानिटाइजर प्रयोग गर्दा घातक हुनसक्ने चिकित्सक बताउँछन्।

विभाग स्रोतका अनुसार इथायल अल्कोहल महँगो र मिथायल अल्कोहल सस्तो र विशाक्त हुन्छ।

आयोगलाई स्यानिटाइजर दिने सप्लायर्स (इम्पोर्टर)कहाँ पुगेर विभागले अन्य स्यानिटाइजरको नमूना परीक्षणको लागि ल्याइसकेको विभागका सूचना अधिकारी केसीले जानकारी दिए।

त्यसैगरी अयोगलाई स्यानिटाइजर दिने सप्लायर्सकहाँ भएका अन्य स्यानिटाइजर समेत बिक्री, वितरण नगर्नका लागि निर्देशन दिइसकेको उनले बताए। 

केही स्यानिटाइजर मतदानस्थलमा पुगेको र केही पुग्ने क्रममा रहेकै समयमा विशाक्त भएको पाइएपछि वितरण र प्रयोगमा रोक लगाइएको प्रवक्ता पौडेलले जानकारी दिए।

‘कतिपय पुगे। कति जाने क्रममा थिए’, प्रवक्ता पौडेलले भने, ‘फेल भएपछि प्रयोग र वितरण गर्न रोक लगाइएको छ।’

‘हातमा घाउ हुने, चिलाउने, सुन्निने सम्भावना धेरै हुन्छ। एलर्जी हुन्छ। विशाक्त हुन्छ’, डा. मरासिनिले भने, ‘मिथानोल खाएर मान्छेहरूको ज्यान जाने गरेको छ। प्रयोग गर्नु हुँदैन।’

स्यानिटाइजर खरिद भएपनि सप्लायर्स (बिडर) लाई त्यसको पैसा भने दिन बाँकी रहेको आयोग स्रोतले जानकारी दियो।

आयोगले मतदानस्थलमा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्यानिटाइजरको व्यवस्था गरेको थियो। विशाक्त स्यानिटाइजर ल्याइदिने सप्लायर्सलाई कानूनबामोजिम कारबाही हुने पौडेलले बताए।

त्यसैगरी दुई लाख ४८ हजार मूल्यको ९८ हजार प्याकेट मास्क पनि मतदानस्थलमा पठाइएको आयोगले बताएको छ। 

मिथानोलले ज्यानै जानसक्छ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पूर्व निर्देशक डा. बाबुराम मरासिनी मिथानोलले ज्यानसमेत जानसक्ने बताउँछन्। त्यसैले मिथानोल भएको स्यानिटाइजर प्रयोग गर्न नहुने उनको सुझाव छ। 

‘हातमा घाउ हुने, चिलाउने, सुन्निने सम्भावना धेरै हुन्छ। एलर्जी हुन्छ। विशाक्त हुन्छ’, डा. मरासिनिले भने, ‘मिथानोल खाएर मान्छेहरूको ज्यान जाने गरेको छ। प्रयोग गर्नु हुँदैन।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि स्यानिटाइजर हातमा प्रयोग गरिने भएकाले मिथानोल भएको प्रयोग गर्दा आँखाको एलर्जी गराउने, छालामा असर गर्ने, पेटमा गएको खण्डमा नकारात्मक असर गर्ने बताउँछन्।

३ मंसिर, २०७९, ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।