उकेरा फिचर

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

भन्छन्– ‘कि परिवार पालोस्, कि गरिखान देओस्’


काठमाडौं : अगाडि हेर्दा देखिन्छ, काठमाडौं उपत्यकाको गुजुमुजु परेका घर। पछाडि घना जंगल रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज।

गाउँमा पातालो बस्ती। गाउँको बीचमा कच्ची सडक। तारकेश्वर मन्दिर जानलाई सवा एक घण्टा। भुवनेश्वर मन्दिरभन्दा केही माथि र तारकेश्वर मन्दिरभन्दा केही तल। तिनपिप्लेबाट उक्लिदा दायाँ साइडमा छ भ्याली भ्यु होम स्टे।

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ। भन्छन्, ‘आफ्नै क्षेत्रमा पनि गरि खान नदिने भए।’

‘तीन देश गएपछि नेपालै र्फकिएँ’
यहिँका स्थानीय हुने हरिबहादुर। तीन दाजुभाइमध्ये माइला उनले १४ वर्षको उमेरमा घर छाडे। घर छाडेर उनी काठमाडौंकै सिनामंगलमा आफन्तीको घरमा बसे। आफन्तीको होटलमा काम पनि गर्ने, विद्यालय पनि जान पाइने थियो। केही वर्ष काम गरेपछि एसएलसी सके उनले। एसएलसी भन्दा माथि पढेनन्।

‘हाम्रो परिवार ठूलो, बुबा आमाको प्रमुख पेशा नै खेतीपाती, ढिडो खानुपर्ने’ हरिले भने, ‘मिठो खान शहर झरेँ, अनेक हण्डर खाएर विदेश पनि गएँ म।’

२२ वर्षको उमेरमा साउदी अरब गए हरि। साढेँ दुई वर्ष जति साउदी बसेका उनले निकै कष्टका साथ काम गरे। फर्निचर उद्योगमा काम गरेका उनले गह्रौं भारी बोक्नेदेखि फर्निचर बनाए पनि।

अरबबाट फर्केपछि स्वस्तिकासँग विवाह गरे उनले। एक वर्ष गाउँमा केही काम पाएनन्।

‘सरकारी जागिर खान पढाइ छैन, अन्य काम पाइन,’ हरिले भने, ‘फेरि पनि म विदेश जाने नै भए।’

उनले योबीचमा युरोप पठाइदिन्छु भन्ने दलाली पनि नभेटेका होइनन्। दलालीले विदेशमा काम गरेर ल्याएको उल्टो ६०/७० हजार पैसा खाइदिए तर युरोप जान भने पाएनन्।

युरोप जाने सपना अपूरो भएपछि हरि फेरि मलेसिया गए। मलेसियामा उनले तीन वर्ष काम गरेर ल्याए। त्यतिन्जेल छोरी जन्मिसकेकी थिइन्। जिम्मेवारीले थिचेपछि फेरि युरोप जान पनि नकस्सिएका होइनन् उनी। तर, असफल भएपछि कतार हानिए। त्यहाँ मेनपावरले भनेअनुसारको काम नमिलेपछि नेपाल नै फर्किए।

विभिन्न देशमा गएर अनेक हण्डर खाएपछि हरिले नेपालमै लगानी गरेर व्यवसाय सुरु गर्ने योजना बनाए। २०७५ सालमा तारकेश्वर नगरपालिका गएर पर्यटन व्यवसाय गर्ने भ्याली भ्यु होम स्टे दर्ता पनि गरे।

१५ लाखको लगानीमा उनले भौतिक संरचना बनाए। पर्यटकलाई चाहिने आधारभूत सेवा सुविधा आफैँ खटिएर निर्माण गरे।

‘मलाई पकाउनदेखि ज्यामी काम गर्न अप्ठ्यारो लाग्दैन,’ उनले भने, ‘ जुनसुकै काम गर्छु भनेर स्वदेश नै फर्किए, तर सरकारको सहयोग भन्दा पनि अप्ठ्यारो पार्ने देखियो।’

नगरपालिकाले संस्था नवीकरण नगर्दा
२०७४ मा स्थानीय चुनाव भएपछि तारकेश्वर नगरपालिकाले आफ्नो पालिकालाई पर्यटकीय नगर बनाउने घोषणा गर्यो। नगरपालिकाको घोषणामा हौसिँदै हरिले पनि भ्याली भ्यु होम स्टे दर्ता पनि गरे।

राम्रै लगानीमा काम पनि सुरु भयो। अहिले पनि यस होम स्टेमा हप्तै पिच्छे केही ग्रुपहरू आउँछन्। जसो तसो उनको खर्च धानिएको छ।  उनको होम स्टेको आकषर्ण नै लोकल कुखुराको मासु र ढिडो हो। लोकल कुखुरा ९० वटा जति पालेका छन् उनले।

स्थानीय उत्पादनका तरकारी पनि चखाउँछन् पर्यटकलाई। उनले संस्था त दर्ता गरे तर काम गर्न तगारो भइदियो नगरपालिका नै। गाउँकै पुच्छारमा एक जना भारतीय जोगीले भारतीय शैलीमा भुवनेश्वर मन्दिर बनाएका छन्।

मन्दिर व्यवस्थापनले ३ सय मिटर वरपर मासु बेच्न नपाइने भनेका कारण संस्था नवीकरण गरिदिएको छैन।

‘विदेशबाट यहि काम गर्छु भनेर आएँ, हाम्रो खेत पनि छ बँदेलले केही उत्पादन गर्न दिँदैन सबै खाइदिएर,’ उनले भने, ‘पर्यटकीय गाउँ घोषणा गर्ने काम गर्न नदिने नगरपालिकाले हाम्रो होम स्टे हटाउन पत्र काटेको छ, मैले टेरेको छैन।’

भुवनेश्वर मन्दिर हरि सानै हुँदा भारतीय जोगी आएर बनाएका हुन्। मन्दिर नजिकै उनको घर पनि छ। दशैंको बेला बलि चढाउने चलन अझै पनि छ गाउँमा। मन्दिर भन्दा ५० मिटर वरपर नै छन् बस्ती।

मन्दिरमा मासु नचढाउने तर १ सय मिटरभन्दा परका होटल तथा होम स्टेलाई बेच्न दिनुपर्ने स्वस्तीकाको भनाइ छ।

‘पहिले ५ सय मिटर वरपर बेच्न नपाइने भनेका थिए, त्यसो गर्दा तलका बजार समेत पर्ने भयो,’ स्वस्तिकाले भनिन्, ‘पछि ३ सय मिटर बनाए तर यो व्यवहारिक छैन, मन्दिरमा खाएर नगए भइहाल्यो नि! बेच्नै नपाइने भन्ने त हुँदैन नि!’

हरि सरकार सँग जुधेरै भए पनि व्यवसायलाई टिकाउने सुरमा छन्।

‘मेरो परिवार पाल्ने पेशा नै यहि हो। छोराछोरी पढाउने पनि यही हो,’ उनी भन्छन्, ‘कि सरकारले मेरो परिवार पाल्नुपर्‍यो, छोराछोरी पढाउनुपर्‍यो, कि मलाई गरि खान दिनुपर्‍यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्। गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा....

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....

१६ वर्ष सेनाको जागिरे हुँदा नमिलेको सन्तुष्टि ठीमीको सडक किनारमा भेटेका सरोज

सानैमा आफ्ना बाले अर्की आमा ल्याएपछि आफू र आमालाई नहेरेको गुनासो गर्ने खत्री आमाले नै तरकारी बेचेर आफूलाई पढाएको र यतिको सक्षम बनाएको गर्वसाथ बताउँछन्।....