स्थानीय तहको परिणामअनुसार कर्णालीमा गठबन्धन बलियो: 'मत ट्रान्सफर' नभए १२ वटै क्षेत्र जित्न सक्ने

स्थानीय तहको परिणामअनुसार कर्णालीमा गठबन्धन बलियो: 'मत ट्रान्सफर' नभए १२ वटै क्षेत्र जित्न सक्ने

सुर्खेत: निर्वाचनको मिति नजिकिएसँगै दलहरूले कुन क्षेत्र आफ्नो जित हुने भन्दै लेखाजोखा गर्न थालेका छन्। अंकगणितमा कर्णाली प्रदेशमा सत्ता गठबन्धन बलियो देखिएको छ।

२०७४ सालमा एक सिट मात्रै प्रत्यक्षमा जितेको कांग्रेसले यसपटक अधिकांश क्षेत्रमा जित निकालेर 'कमब्याक' गर्ने तयारी थालेको छ। माओवादी पनि आफ्नो जित सुनिश्चित गर्दै विरासत जोगाउने दाउमा छ। 

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि कर्णालीमा गठबन्धनको आडमा जित सुनिश्चत गर्ने तयारी थालेको छ।

१२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशलाई माओवादीले आफ्नो आधार ईलाका बताउँदै आए पनि यो पटक पाँच क्षेत्रमा चित्त बुझाएको छ। कांग्रेसले चार क्षेत्र भागमा पाउँदा एकीकृत समाजवादीले भने तीन क्षेत्र भाग पाएको छ।

माओवादी केन्द्रले जाजरकोट, कालिकोट, रुकुम पश्चिम, हुम्ला र जुम्लामा आफ्नो उम्मेदवार उठाएको छ। नेपाली कांग्रेसले सुर्खेत- १ र २, दैलेख- २ र मुगुमा उम्मेदवार उठाउँदा समाजवादीले सल्यान, दैलेख- १ र डोल्पामा उम्मेदवारी दिएको छ।

कर्णालीका १० जिल्लाको प्रतिनिधि सभातर्फका १२ क्षेत्रमध्ये दैलेख र सुर्खेतमा दुई/दुई, सल्यान, रूकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालीकोटमा एक/एक निर्वाचन क्षेत्र छन्।

सुर्खेत- १ र २, सल्यान, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, डोल्पा, दैलेख- १ र मुगुमा गठबन्धनको उम्मेदवार अगाडि देखिएका छन्।

गठबन्धनका उम्मेदवारहरूको अवस्था, स्थानीय चुनावको परिणाम, अघिल्लो चुनावमा दलहरूले प्राप्त गरेको मतपरिणामलाई हेर्दा यी क्षेत्रमा गठबन्धन अगाडि देखिएको हो। यी १० क्षेत्रमा गठबन्धन जितको नजिक भए पनि अन्य दुई क्षेत्रमा भने गठबन्धनलाई समस्या पर्ने देखिएको छ।

गएको स्थानीय तहको निर्वाचनको मत, २०७४ को निर्वाचनलाई आधार मान्दा भने १२ वटै क्षेत्रमा सत्ता गठबन्धनले जित्ने देखिन्छ। साथै, मत ट्रान्सफर नभए १२ वटै क्षेत्रमा गठबन्धनको जित हुने देखिन्छ। तर, केही ठाउँमा गठबन्धनका उम्मेदवारहरूले जित्न अन्य दल र सहानुभूतिको मत ल्याउन जरुरी छ।

सुर्खेत
सुर्खेत–१ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमालेका ध्रुवकुमार शाहीबीच दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ। २०७४ मा वाम गठबन्धनका कारण झण्डै तीन हजार मतान्तरले शाहीसँग पराजित खड्का यसपटक भने वाम–लोकतान्त्रिक गठबन्धनको आडमा चुनाव जित्ने दाउमाा छन्।

सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका–१५ र १६ समेटिएको यो क्षेत्रमा गत स्थानीय तहको वडाको मतअनुसार कांग्रेसको ३६ हजार ७८१, माओवादीको पाँच हजार ७५ मत र नेकपा एकीकृत समाजवादीले ४१८ मत छ। एमालेले ३४ हजार ८४३ मत छ।

सुर्खेत–२ मा वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा, पञ्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिका छन्। यहाँ कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व गरिबी निवारण तथा सहकारीमन्त्री हृदयराम थानी र एमालेका सुर्खेत जिल्ला अध्यक्ष एवं जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसीबीच तीव्र प्रतिस्पर्धा छ।

स्थानीय तहमा वडाअध्यक्षले पाएको मतअनुसार नेपाली कांग्रेसले २९ हजार ६८७ मत, माओवादी केन्द्रले ११ हजार ६६१ र समाजवादीले एक हजार ६४४ मत ल्याएका छन्। एमालेले ३० हजार ४६९ मत ल्याएको छ।

दैलेख
दैलेख–१ मा गठबन्धनबाट एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष एवं कर्णाली प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा छन्। उनीविरुद्ध एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा र राप्रपाकी महामन्त्री कुन्ती शाही छिन्।

यस्तै एमालेबाटै गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। थापा, शर्मा र नेपाली एमालेमा हुँदा पूर्व सहकर्मी समेत हुन्। ३० वर्षपछि उनीहरू प्रतिस्पर्धामा उत्रदैछन्।

थापालाई गठबन्धनको साथ छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसको १७ हजार ५३९, माओवादी केन्द्रको दुई हजार ८२५ र एकीकृत समाजवादीको तीन हजार ४५० मत छ। एमालेले १७ हजार ६६५ मत पाएको थियो।

दैलेख–२ एमालेको गढका रूपमा लिइन्छ। यहाँ एमाले र गठबन्धन दलको कांग्रेसबीच प्रतिस्पर्धा छ। दुल्लु, चामुण्डा, आठबीस नगरपालिका तथा ठाँटीकाँध र भैरवी गाउँपालिका पर्ने यो क्षेत्रबाट कांग्रेसका दिक्पाल शाही र एमालेका जिल्ला इञ्चार्ज लक्ष्मीप्रसाद पोखरेलबीच प्रतिस्पर्धा छ। 

यहाँ एमालेले आफूले जित्ने सूचीमा राखेको छ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसले १८ हजार ६१२ मत, माओवादीले पाँच हजार ७५५ र समाजवादीले ८३३ मत पाएको थियो। एमालेको २१ हजार १६१ मत थियो।

सल्यान
सल्यानमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्चार्ज प्रकाश ज्वाला उम्मेदवार छन्। ज्वालासँग एमालेबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्। ज्वालालाई कांग्रेस र माओवादीको साथ छ।

स्थानीय तहमा कांग्रेसले ३३ हजार ६१६, नेकपा माओवादी केन्द्रले २६ हजार ७१३ र एकीकृत समाजवादीले नौ हजार ४०८ मत पाएको थियो। 

एमालेले २६ हजार ६२८ मत ल्याएको थियो। ज्वाला कर्णाली प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन्।

रुकुम पश्चिम
यो क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्मा छन्। रुकुम पश्चिममा शर्मासँग एमालेका नन्दलाल देवकोटा प्रतिस्पर्धामा उत्रिएका छन्। यो क्षेत्र माओवादी केन्द्रको आधार ईलाका हो।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा रुकुम पश्चिममा माओवादी केन्द्रले ३७ हजार १०२ मत पाएको छ। 

कांग्रेसले २६ हजार ६२०, नेकपा एकीकृत समाजवादीले १३० र नेकपा एमालेले ६ हजार १२४ मत ल्याएको छ।

जाजरकोट
यो क्षेत्रमा माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत र एमालेका युवा नेता निरजप्रसाद आचार्य प्रतिस्पर्धामा छन्। जाजरकोट माओवादीको गढ मानिन्छ।

यी दुवै उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले चुनौती दिइरहेका छन्। स्वतन्त्र उम्मेदवार कार्कीले गठबन्धनको भोट काट्ने र आफूले जित्ने एमालेको दावी छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसले २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र समाजवादीले दुई हजार ३३४ मत पाएको छ। एमालेले २४ हजार ४ मत पाएको छ।

कालिकोट
कालिकोटमा माओवादी केन्द्रका नेता कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, एमालेबाट केन्द्रीय सदस्य तथा कालीकोट इन्चार्ज नगेन्द्र शाही उम्मेदवार छन्। 

महेन्द्रबहादुर शाहीविरुद्ध माओवादीकै काशीचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

बागी उम्मेदवार बरालले माओवादी र कांग्रेसको मत काट्न सक्ने आकलन छ। उसो त समाजवादी पनि गठबन्धनमा समेटिएको छैन। त्यहीअनुसार नतिजा गठबन्धनविरुद्ध भए एमालेलाई फाइदा हुने देखिन्छ।

स्थानीय तह चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार माओवादीले १८ हजार ३४७, कांग्रेसले १२ हजार ८२०, एकीकृत समाजवादीले तीन हजार ५०३ र नेकपा एमालेले १२ हजार ६१३ मत पाएको छ।

जुम्ला
जुम्लामा गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुँवर उम्मेदवार छिन्। उनी गठबन्धनको तर्फबाट टिकट पाउने कर्णालीकी एक्ली महिला हुन्।

नेकपा एमालेबाट केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगी उम्मेदवार छन्। यस्तै राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पनि चुनावी मैदानमा छन्। यी तीनै जनाको प्रतिस्पर्धा रोचक देखिन्छ। 

२०६४ र २०७४ मा सो क्षेत्र माओवादीले जितेको थियो।

गत निर्वाचनमा वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार ६५५, माओवादीको ६ हजार ४३९, एमालेको दुई हजार १५७ र एकीकृत समाजावादीको एक हजार ५९६ मत छ।

हुम्ला
हुम्लामा पूर्वमन्त्री समेत रहेका एमालेका दल रावल र माओवादीका छिरिङ डम्डुल लामा ‘कार्चेन’ बीच प्रतिस्पर्धा हुँदैछ। लामो समय माओवादी राजनीतिमा लागेका छिरिङ डम्डुल लामा कर्णाली प्रदेश सरकारको ६ महिने गैरसांसद मन्त्री समेत बनेका व्यक्ति हुन्।

गठबन्धनको बल, माओवादीको आफ्नै संगठनले कार्चेन बलिया उम्मेदवार हुन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ४९३ मत पाएको छ। यस्तै कांग्रेसले चार हजार ७६४ र समाजवादीले ८८८ मत पाएको छ। एमालेको ६ हजार १४७  मत छ।

डोल्पा
डोल्पामा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुँदैछ। ठूलीभेरी नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत रहेका एमालेका गणेशबहादुर शाही र गठबन्धनको तर्फबाट समाजवादीका केन्द्रीय सदस्य तथा डोल्पा इन्चार्ज धनबहादुर बुढा उम्मेदवार छन्। 

बुढा निवर्तमान सांसद पनि हुन्।

संघीय सरकारको पर्यटनमन्त्री बनिसकेका व्यक्ति हुन् बुढा। स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतको अधारमा डोल्पामा माओवादी केन्द्रसँग चार हजार ८५५, नेपाली कांग्रेससँग तीन हजार ६९ र समाजवादीसँग एक हजार ३३४ मत रहेको छ। एमालेसँग चार हजार ५४५ मत देखिन्छ।

मुगु
यहाँ कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेका कर्णाली प्रदेश कमिटी सदस्य राजबहादुर कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। २०७४ मा एमालेका मोहन बानियाँसँग पराजित शाही यसपटक कार्कीसँग भिड्दैछन्।

एमालेबाट कृष्णबहादुर सेजुवाल र भीमचन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यो कारण एमाले कमजोर अवस्थामा छ। 

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामअनुसार एमालेको नौ हजार ८५१, एकीकृत समाजवादीको पाँच हजार ६०१, कांग्रेसको ६ हजार १८१ र माओवादी केन्द्रको चार हजार ७७० मत छ।

१ मंसिर, २०७९, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।