गोरखा- १: प्रदेशमा भिडेका बजगाईँ र बस्नेत नै प्रतिनिधि सभाका प्रतिस्पर्धी, अंकगणितमा गठबन्धनका उम्मेदवार निकै अगाडि

गोरखा- १: प्रदेशमा भिडेका बजगाईँ र बस्नेत नै प्रतिनिधि सभाका प्रतिस्पर्धी, अंकगणितमा गठबन्धनका उम्मेदवार निकै अगाडि

गोरखा: दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी मैदानमा छन्। यसैकारण गोरखामा चुनावी सरगर्मी तातेको छ।

गोरखाको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट कांग्रेसका राजेन्द्र बजगाईँ चुनावी मैदामा छन्। उनीविरुद्ध एमालेका रामशरण बस्नेत प्रतिस्पर्धामा छन्।

यो क्षेत्रमा बजगाईँ र बस्नेतसहित आठ उम्मेदवार प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा चाहिँ यी दुईबीच नै हुने देखिन्छ।

प्रचण्ड क्षेत्र नं २ मा गठबन्धनबाट उम्मेदवार छन्। प्रचण्डसँग भिड्दैछन् एमालेका अब्दुस मियाँ।

प्रदेशमा बस्नेतसँग हारेका बजगाईँको संघमा बदला लिने दाउ
क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार हुन्, राजेन्द्र बजगाईँ। उनी २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा गोरखा- १ ‘ख’ मा पराजित भएका थिए।

उनलाई हराउने विजयी उम्मेदवार थिए- एमालेका रामशरण बस्नेत। यी दुवै अहिले गोरखा–१ को प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन्।

२०७४ को निर्वाचनमा एमालेले माओवादीसँग तालमेल गरेकाले बस्नेतले प्रदेश सभा निर्वाचन जितेका थिए। त्यसबेला बस्नेतले १६ हजार ६५६ मत पाउँदा बजगाईँले १३ हजार एक मत पाएका थिए। गोरखा- १ ‘ख’ बाट विजयी भएपछि बस्नेत गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री पनि बनेका थिए।

यता बजगाईँले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पनि निर्वाचन लडेका थिए। त्यहाँ पनि उनी पराजित भए।

गोरखामा एमालेको तुलनामा कांग्रेस र माओवादीको संगठन बलियो छ। त्यसमाथि यसपटक माओवादी, कांग्रेस, समाजवादी लगायतका दलको समर्थन भएका कारण पनि बजगाईँ चुनाव जित्नेमा आशावादी देखिन्छन्। 

उनी विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आबद्ध छन्। व्यवसायसँगै राजनीतिमा सक्रिय बजगाईँ ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत हुन्।

काठमाडौं बालुवाटारमा निर्माणाधीन ‘वर्णबास म्युजियम होटल’ सहित बजगाईँको पर्यटन व्यवसायमा थुप्रै लगानी रहेको छ। टानको महासचिव हुँदा बजगाईँले सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद्को ऐतिहासिक बैठक सफल पार्न समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए।

उनले गोखराका उत्तरी हिमाली क्षेत्र लगायतका स्थानबाट आकस्मिक हवाई उद्धारमा पनि वर्षौंदेखि सहयोग पुर्याउँदै आएका छन्। उनले विकट बस्तीमा दुर्घटनामा परेका, सुत्केरीलगायत बिरामीहरूको हवाई उद्धारमा सहयोग समेत गर्दै आएका छन्।

सडक नै नभएको स्थानमा पुल बनाउने उम्मेदवार
एमालले उम्मेदवार बनाएका बस्नेत गोरखा–१ ‘ख’बाट निर्वाचित भएपछि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए। केही समय पहिले उनै बस्नेत गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर विवादित बनेका थिए।

उनी गण्डकीको भौतिक पूर्वाधारमन्त्री हुँदा जिल्लामा विकास निर्माणका महत्त्वपूर्ण योजना पार्न भने सफल भएका थिए।

बस्नेत स्थानीय तहको जिम्मेवारी पूरा गर्दै संसदीय राजनीतिसम्म पुगेका व्यक्ति हुन्। उनी २०४९ र २०५४ मा तत्कालीन नारेश्वर गाविसको अध्यक्ष भएका थिए। 

त्यसैगरी २०५५ मा पार्टीको जिल्ला अध्यक्ष बनेका थिए। त्यसैगरी बस्नेत २०५६ को आम निर्वाचनमा गोरखा- १ बाट कांग्रेस नेता चिरञ्जीवी वाग्लेसँग चुनाव लडेका थिए। तर, उनी वाग्लेसँग पराजित भए। 

२०७० मा गोरखा–१ बाट संविधान सभाको चुनाव लडका बस्नेत तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

गोरखा–१ को प्रतिनिधि सभाका लागि बजगाईँ र बस्नेतसहित १० जनाको उम्मेदवारी परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उदयप्रसाद भट्ट, मंगोल नेशलन अर्गनाइजेसनबाट देवबहादुर थापा, जनसमाजवादी पार्टीका उत्तरकुमार खड्का, नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठ, जनता समाजवादी पार्टीबाट रूपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुवर्ण रोकाया र स्वतन्त्रबाट विष्णु पुडासैनीले उमेदवारी दिएका छन्।

गोरखा–१ प्रदेश सभातर्फ
गोरखा–१ ‘क’मा गठबन्धनका तर्फबाट माओवादीले कृष्ण धिताललाई उम्मेदवार बनाएको छ। जनयुद्धकालदेखि पार्टीमा महत्त्वपूर्ण योगदान गरेका धिताल गोखरा माओवादीमा निष्ठावान् नेताका रूपमा परिचित छन्। 

उनले जिल्लातहमा रहेर पार्टीको विभिन्न जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।

त्यसैगरी यस क्षेत्रबाट एमालेले सुरेन्द्रबहादुर थापालाई प्रदेश सभाका लागि उम्मेदवार बनाएको छ। थापाले गोरखा एमालेमा रहेर विगतमा विभिन्न जिम्मेवारी पूरा गरेका छन्।

गोरखा–१ ‘ख’मा गठबन्धनकातर्फबाट कांग्रेसले नन्दप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ। उनी गोरखा कांग्रेसको जिल्ला सभापति समेत हुन्। 

पार्टीका विभिन्न जिम्मेवारीमा रहेर जिल्ला सभापति बनेका न्यौपाने युवा पुस्ताका लोकप्रिय नेताका रूपमा परिचित छन्।

त्यसैगरी यो क्षेत्रमा एमालेले मोहनप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ। उनी पनि लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका युवा नेता हुन्।

यस्तो छ विगतको अंकगणित
गत स्थानीय तह निर्वाचनमा वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो। यस क्षेत्रमा कांग्रेस र माओवादीको मतसंख्या बराबरी देखिन्छ। दुई दलको तुलनामा एमालेको मत झण्डै ४५ प्रतिशत कम देखिन्छ।

यसपटक कांग्रेस, माओवादी र एकीकृत समाजवादी लगायतका दलबीच गठबन्धन भएकाले पनि उनीहरूको मत धेरै देखिन्छ। यस क्षेत्रमा गोरखा नगरपालिकाका सात वटा वडा, चुमनुव्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहीद लखन र आरुघाट गाउँपालिका पर्दछन्।

गत स्थानीय तहको निर्वाचनमा गोरखासहितका पालिकामा कांग्रेसको २७ हजार ८४, माओवादीको २५ हजार ७४२, तत्कालीन जनता समाजवादी पार्टीको दुई हजार ७५४ मत आएको थियो।

अहिले गठबन्धनमा रहेको यी दलले स्थानीय तहमा पाएको मत जोड्दा साढे ५५ हजार देखिन्छ। तर, एमालेले यस क्षेत्रका पालिकाहरूमा पाएको मत जम्मा १४ हजार ४५५ छ।

स्थानीय निर्वाचनमा गठबन्धनका दलले पाएको मत र प्रतिस्पर्धी पार्टी एमालेले पाएको मतको तुलना गर्दा ठूलो मतान्तर देखिन्छ।

एमालेका बस्नेतले परिवर्तित अवस्थामा विगतलाई आधार बनाएर चुनावी अंकगणित निकाल्न नमिल्ने बताउँछन्। उनले आफू निर्वाचित भएपछि विगतमा गोरखाको भौतिक विकासमा महत्त्वपूर्ण योगदान गरेका कारण जनताले निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको बताउँछन्।

१ मंसिर, २०७९, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।