जर्सी फुकालेको बारे अञ्जन भन्छन्– ‘यो फ्रेन्डली खेल मात्र होइन, यसमा इमोसन जोडिएको छ’

जर्सी फुकालेको बारे अञ्जन भन्छन्– ‘यो फ्रेन्डली खेल मात्र होइन, यसमा इमोसन जोडिएको छ’

काठमाडौं : पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित्यो।

तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपालका फरवार्ड अञ्जन विष्टको गोलमा पराजित भए। विष्टले सुनिल बलले पास गरेको बलमा गरे। गोल गरेसँगै उनले आफ्नो जर्सी फुकाले, जसकारण उनले एउटा पहेँलो कार्ड पाए।

यसैबीच खेलपछिको पत्रकार सम्मेलनमा अञ्जनले जर्सी फुकाल्नुको कारणबारे बताएका छन्। ‘फ्रेन्डली म्याए भएर तपाईंले जर्सी फुकाल्नुभएको हो?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले पाकिस्तानविरुद्धको खेललाई मैत्रीपूर्ण मात्र नभएको बताए।

‘तपाईंले फ्रेन्डली मात्र भन्नुभयो, मलाई लाग्दैन कि यो फ्रेन्डली मात्र हो, यसमा इमोसन जोडिएको हुन्छ,’ उनले भने, ‘अभ्यास खेलमा आफ्नै साथीहरूबीच त कडा प्रतिस्पर्धा भइरहेको हुन्छ, यो त देशलाई रिप्रिजेन्ट गर्ने कुरा भयो।’

यस्तै उनले आफ्नो मनैभित्रबाट आएको भाव मैदानमा व्यक्त भएकोसमेत बताए।

‘म यसरी कपडा खोल्ने मान्छे होइन, मलै गर्छु भनेर गरेको होइन,’ उनले थपे, ‘तर, सेलिब्रेस गर्दा इमोसनल भएर फुकालेँ।’

अन्तर्राष्ट्रिय फुटबलमा उनको यो ११औं गोल हो। यसअघि बंगलादेशसँग भएको मैत्रीपूर्ण फुटबलमा उनले ह्याट्रिक गरेका थिए।

३० कात्तिक, २०७९, १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।