आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?

आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?

काठमाडौं : नागरिकता सम्बन्धी उजुरी परेपछि विवादमा आएका चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेको आरोप अस्वीकार गरे। तर, प्रमाण पेस गर्न सकेनन्।

बुधबार फेसबुक लाइभमा आएका उनले यो विषय चार वर्ष अगाडि नै टुङ्गिएको दाबी गरे। उनीमाथिको आरोप हो- उनले उम्मेदवारी दर्ता गर्दा पेस गरेको नेपाली नागरिकताको कानुनी वैधता।

निर्वाचन कार्यालयमा उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाण पत्र पेस गरेका छन्।

नेपालको नागरिकता सम्बन्धी कानुन अनुसार उनले अमेरिकी नागरिकता लिए लगत्तै सो नागरिकता खारेज भइसकेको थियो।

उनले अमेरिकी नागरिकता त्यागेर खारेज भएको नेपाली नागरिकता लिएको हो भने २०५० को हैन नागरिकताको नयाँ प्रमाण पत्र उनको साथमा हुनुपर्ने हो। उनले आफूमाथि लागेको आरोप गलत भएको दाबी त गरे तर ब्युँतिएको नागरिकता भने सार्वजनिक गर्न सकेका छैनन्।

उनले लाइभ भिडियो सेयर गर्दै स्ट्याटस समेत लेखेका छन् जसमा नागरिकता सम्बन्धी विवाद अदालतबाटै विवेचना भएर सेटल भइसकेको दाबी छ।

उनले लेखेका छन् :

'एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरी कति पटक स्पष्टीकरण दिनु पर्ने हो?'

उनले फेसबुक लाइभमा आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगको बेलामा यसबारे विवेचना भएको दाबी गरे। उनले बुधबारै चितवन-२ मा कोणसभा गरेर आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरे।

मंगलबार उनीविरुद्ध उजुरी परे लगत्तै उकेराले उजुरीको आधार खोज्नेक्रममा उनले निर्वाचन कार्यालयमा पेस गरेको नागरिकताको प्रमाण पत्र फेला पार्यो, जुन विद्यमान नागरिकता कानुनअनुसार निष्क्रिय भइसकेको छ।

यसबारे भेरिफाइ गर्न मंगलबार बेलुका उनी निकट राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेतासँग सम्पर्क गर्दा उनले 'सालिकरामको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा नागरिकता सम्बन्धी विषयको विवेचना पनि भएको' दाबी गरे।

लामिछानेसँग सम्पर्क गर्ने प्रयास भने सफल भएन।

मंगलबार बेलुका उनी निकट नेताले गरेजस्तै दाबी रवीले बुधबार गरेपछि सालिकराम आत्महत्या दुरुत्साहन सम्बन्धी फैसलाको अध्ययन गर्दा त्यहाँ उनको नागरिकता सम्बन्धी कुनै प्रसङ्ग र विवेचना भएको फेला परेन।

फैसलामा उनको नागरिकताबारे 'न' पनि लेखिएको फेला परेन। उनले गरेजस्तो विवेचना छैन। उनीमाथि लागेको अभियोग उनको कारण पुडासैनीले आत्महत्या गरेको हो या हैन भन्ने भएकाले फैसला त्यहीमाथि केन्द्रित रहेर उनलाई २०७६ माघ १९ मा सफाइ दिएको देखिन्छ।

उनीमाथि लागेको अभियोग चितवन आएर पुडासैनीले आत्महत्या गर्नुको कारण रवी हुन् भनेर उनले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो थियो।

प्रहरीले त्यही आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। अदालतमा दर्ता भएको अभियोग पत्रमा नागरिकताबारे केही उल्लेख छैन। आत्महत्या दुरुत्साहन सम्बन्धी मात्र उल्लेख छ।

सजायको मागवादी अनि बहस सबै उनका कारण पुडासैनीले आत्महत्या गरेका हुन् या हैनन् भन्नेमै केन्द्रित भयो। कसैले उनको नागरिकताबारे प्रश्न उठाएको देखिएन। अभियोग पत्र अनि इजलासको बहसमा उठ्दै नउठेको विषयमा प्राय: फैसला प्रवेश गर्दैन। र उनले गरेको दाबी जस्तो पुडासैनीको आत्महत्याको मुद्दामा अदालत उनको नागरिकताबारे प्रवेश गरेको पनि छैन।

अदालतको प्रतिवादी सम्बन्धी महलमा उनको ठेगाना काठमाडौं, साबिक काठमाडौं महानगरपालिका वडा नं.६ हाल वडा नं.६ बौद्ध महाँकाल घर भई हाल ऐ. वडा नं.७ मित्रस्थित अम्बे अपार्टमेन्टमा डेरा गरी बस्ने रवि लामिछाने... लेखिएको छ।

यही विवरणलाई नै उनले उनको २०५० को नेपाली नागरिकता अदालतले स्वीकार गरेको दाबी गरेका हुन् भने कि उनलाई नागरिकता सम्बन्धी नेपालका कानुनबारे जानकारी नभएको वा भए पनि ढाँटेको पुष्टि हुन्छ।

यो महलमा लेखिने विवरण प्रतिवादीले पेस गर्ने नागरिकताको आधारमा हो न कि अदालत वा प्रहरीले अनुसन्धान गरेर उ नेपाली नागरिक हो हैन भनेर लेखिने हो।

सालिकराम सम्बन्धी अदालतको फैसलाको पूर्ण पाठ :

पुरानै नम्बर मात्र ब्युँतने हो

नेपालमा नागरिकता सम्बन्धी कानुनमा नेपाली नागरिकता पाएका नागरिकले अन्य कुनै देशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ।

नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने प्रावधानमा 'नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने उल्लेख छ। सो प्रावधान अनुसार रवी अमेरिकी नागरिक भए लगत्तै उनले नेपालमा लिएको नेपाली नागरिक निष्क्रिय हुन्थ्यो उनी इमानदार भएको भए।

सोही दफाको उपदफा (२)  मा 'नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोके बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गरेको मितिदेखि नागरिकता कायम नरहने उल्लेख छ।

नेपालको कानुनले दोहोरो नागरिकता स्वीकार गर्दैन। तर उनले इमानदारता देखाएनन्। अमेरिकी नागरिक बनेको नेपालमा जानकारी दिएनन्।

उनी विदेशी नागरिकको हैसियतमा पारिवारिक भिसामा नेपाल फर्किए तर नेपाली नागरिकझैँ श्रम कानुन उलङ्घन गरेर सक्रिय भए।

नेपाल प्रेस काउन्सिलमा उजुरी परेपछि काउन्सिलले उनी नेपालमा कुन हैसियतमा बसेको र उनले नेपालमा पारिश्रमिक लिएर काम गर्न श्रम स्वीकृति लिए/नलिएको छानबिन थालेपछि मात्रै उनले' गल्ती भयो' भन्दै अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाएका थिए।

उनले नेपालमा रहेको अमेरिकी दूतावासमा पुगेर अमेरिकी नागरिक रहेको आफ्नो कानुनी हैसियत खारेज गर्न निवेदन दिए।

अनि अध्यागमन विभागमा गएर अमेरिकी नागरिकता त्याग्न प्रक्रिया सुरु गरे। उनले आफ्नै कार्यक्रममार्फत यी सबै विवरण समेत सार्वजनिक गरेर ढाका टोपी लगाएको ख्याउटे नागरिकताले वैधता पाएको दाबी गरे।

तर, २०५० सालमा उनले तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ को ठेगानामा निकालेको उही पुरानो नागरिकता वैध भइसकेको भने थिएन।

किन भएनन् रवी नेपालको वैध नागरिक ?

नागरिकता ऐन अनुसार विदेशी नागरिक भएका नेपाली नागरिकले विदेशी नागरिकता छाडेर जानकारी दिएपछि छाडेको नागरिकता ब्युँतने उल्लेख छ।

तर छाडेको निवेदन दिएकै आधारमा पहिला लिएको नागरिकताको प्रमाण पत्र ब्युँतने हैन। त्यसका लागि थप केही कानुनी प्रक्रिया पुरा गर्नुपर्ने नागरिकता नियमावलीमा उल्लेख छ।

नेपाल नागरिकता नियमावली-२०६३ को नियम ११ मा त्यागेको नागरिकता कसरी प्राप्त गर्ने भन्ने उल्लेख छ। सो प्रावधान अनुसार नागरिकता ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुन : नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेश नागरिकता त्यागेको निस्सासहित निजलाई पहिला प्रमाण पत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची ११ को ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ। सो सूची भनेको पहिलो पटक नेपाली नागरिकता लिँदा बुझाउनु पर्ने फारम नै हो।

सोही नियमको उप नियम २ मा सूचनाको निवेदन प्राप्त भएपछि सूचना दर्ताको जानकारी दिई साबिककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाण पत्र जारी गरिने उल्लेख छ।

कहाँ चुके रवी ?

अमेरिकी नागरिक भए पनि नेपालमा गैर कानुनी रूपमा काम गरिरहेको खुलासा भएसँगै रवी अमेरिकी नागरिकता त्याग्न सक्रिय भए।

उनी अमेरिकी नागरिक रहेको प्रमाणित भए लगत्तै उनको नाममा नेपाल सरकारले जारी गरेको नागरिकता प्रमाण पत्र स्वतः खारेज भयो।

उनले खारेज भएको नागरिकता ब्युँताउन पहिला अमेरिकी नागरिकता त्याग्न अनिवार्य थियो। त्यसका लागि उनले नेपालमा रहेको अमेरिकी दूतावासमा निवेदन दिए। अनि त्यसको विवरण खुलाएर अध्यागमन विभागमा पनि जानकारी दिए।

तर यति गर्दैमा खारेज भएको नागरिकता कानुनी रूपमा ब्युँतँदैन।

त्यसपछि उनी आफ्नो नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गएर आफूले विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरी नागरिकता ब्युँताउन फारम भरेर, दुवै कान देखिने तस्बिर टाँसेर बुझाउन आवश्यक देखिन्छ।

त्यसपछि सम्बन्धित जिल्ला प्रशासनले उनले विदेशी नागरिकता त्यागेको हो या हैन र उनले नेपालमा लिएको नागरिकताको विवरण रुझूँ गरेर ठिक देखिए प्रतिलिपिको रूपमा २०५० सालमा जारी भएकै नागरिकताको विवरण राखेर नयाँ प्रमाण पत्र जारी हुन्थ्यो।

यसलाई अझ नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ ले प्रस्ट पारेको छ।

निर्देशिकाको बुँदा नम्बर ३१ मा पुन नेपाली नागरिकता कायम हुने सम्बन्धी कार्यविधि उल्लेख छ।

सो कार्यविधि अनुसार नेपालको नागरिकता त्यागी विदेश गएको व्यक्तिले विदेशको नागरिकता त्यागी पुन नेपालकै नागरिक हुन चाहेमा त्यस्ता व्यक्तिले नियमावली अनुसार पाँच रुपैयाँको टिकट टाँसेर निवेदन दिनुपर्छ।

त्यस्तो व्यक्तिले जुन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको हो त्यही निवेदन दिनुपर्ने, नेपाली नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी या लिएको मिति र नागरिकता त्यागेको मिति खुलाउनु पर्ने, प्रमाण ठिक हो या हैन भनेर जाँच्ने, पहिला नागरिकता परित्याग गरेकै व्यक्ति हो हैन एकिन गर्ने र सबै पुष्टि भएमा साबिक बमोजिम नागरिकता जारी गर्ने उल्लेख छ।

उकेराले प्राप्त गरेको विवरणमा उनले अध्यागमनसम्म मात्रै जानकारी दिएको देखियो। उनले नागरिकता ब्युँताउन निवेदन दिएको र नयाँ नागरिकता जारी भएको कुनै विवरण फेला परेको छैन।

उता गृह मन्त्रालयमा रहेको नेपाली नागरिकको नागरिकता सम्बन्धी विवरणमा उनले २०५० सालमा लिएको नागरिकता नम्बर खारेज भइसकेको देखियो। पुन ब्युँताउने प्रक्रिया नटुङ्गिएकाले ब्युँतिएन।

कसरी बन्यो नागरिकता त मतादाता नामावली ?

तर यो बिचमा रवीले नेपाली नागरिकले उपभोग गर्ने कानुनी अधिकार मज्जाले प्रयोग गरे। उनले यो बिचमा पासपोर्ट समेत निकाले। उनले २००१ मैँ पासपोर्ट बनाएका थिए। सोही आधारमा उनले नयाँ पासपोर्ट सहजै लिन सक्छन्।

यो बिचमा उनले काठमाडौँको निर्वाचन क्षेत्र ३ को रूपमा मतदाता सूचीमा समेत दर्ता भएका थिए। उनको मतदाता परिचय पत्रमा श्रीमतीको नाम निकिता पौडेल उल्लेख भएकाले विवाहपछि मतदाता सूचीमा दर्ता भएको देखिन्छ।

मतदाता सूचीमा दर्ता हुन नेपाली नागरिकता चाहिन्छ नै। उनले पुरानै नागरिकता पेस गरेको तर उनले पेस गरेको नागरिकताको कानुनी वैधता नजाँची मतदाता सूचीमा दर्ता गरेको देखियो।

भ्रम रवीले फैलाए कि अन्यले ?

मङ्गलवार उनी विरुद्ध निर्वाचन कार्यालयमा उजुरी पर्यो। मङ्गलवार मध्यरात उकेराले उनको २०५० को नागरिकतासँगै त्यसको कानुनी वैधताबारे समाचार प्रकाशित गरेको थियो।

बुधवार बिहान उनी फेसबुक लाइभमा आए र उही पुरानै दाबी दोहोर्याए। उनको नागरिकता सम्बन्धी विवाद हुँदा उनले टेलिभिजनमै पुरानो नागरिकतासहितका प्रमाण सार्वजनिक गर्दै अमेरिकी नागरिकता त्यागेको दाबी गरेका थिए।

तर बुधवारको लाइभमा उनले सन् २०१८ मै यसबारे प्रस्ट पारिसकेको दाबी गरे तर खारेज भएको नागरिकता ब्युँताउन पुरा गर्नुपर्ने प्रक्रिया पुरा गरेपछि पाउने नागरिकताको प्रतिलिपि सार्वजनिक गरेनन्। उनले 'भ्रमको खेती गर्नेहरूबाट अलग रहेर काम गरेको दाबी' गरे।

उनी जसरी नयाँ नागरिकता सार्वजनिक नगरी अन्य बहाना गरिरहेका छन् यसले गम्भीर प्रश्न उठाएको छ' आखिर भ्रम कसले फैलायो, प्रमाण सार्वजनिक गर्नेले नि रवीले ?' उनले दाबी गरेझैँ चार वर्ष अगाडि नै नागरिकता विवाद सेटल गरिसकेको हो भने त्यो सार्वजनिक गर्न उनलाई केले बाधा पारिरहेको छ?

थप समाचार

३० कात्तिक, २०७९, १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।