गुल्मीमा खरको छाना अब इतिहास बन्दै, आठ हजार घरमा जस्तापाता छाउने काम जारी

गुल्मीमा खरको छाना अब इतिहास बन्दै, आठ हजार घरमा जस्तापाता छाउने काम जारी

बुटवल: गुल्मीमा अब खरको छाना इतिहास बन्दैछन्। स्थानीय तहले संचालन गरेको खरको छानामुक्त गर्ने कार्यक्रमले गुल्मीका घरहरूको मुहार फेरेको छ।

पानी पर्दा चुहिने डर, आगलागीमा पनि उत्तिकै डर हुने खरको छानोका कारण गुल्मीका विपन्न परिवारले यसअघि थुप्रै रात पीडामै बिताउँथे। केही वर्ष पहिले पनि जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा आगलागी भएर थुप्रै खरको छानो भएको घर जलेको थियो।

सोही दुर्घटनापछि पूर्वमन्त्री तथा हाल नेकपा एमाले गुल्मी- २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोणर्क विष्टले आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको खरको छानो विस्थापन अभियानले केही वर्षमै जिल्लाका थुप्रै विपन्न परिवारको खरको छाना भएको घरमा जस्तापाताको छाना लाग्यो।

०७४ सालको तीनै तहका निर्वाचनमा खरको छानामुक्त गर्ने दल तथा उम्मेदवारको प्रमुख चुनावी अजेण्डा थियो।

अहिले मदाने गाउँपालिका–७ पुर्कोटदहका प्रेम विकको घर जस्तापाताले छाइएको छ। उनको ऊर्जाशील उमेर खरकै झुपडीमा बित्यो। उनलाई सुरुमा नेताले चुनावी बाचा पूरा गर्लान् र आफ्नो घर जस्तापाताले छाइएला भनेर पत्यार थिएन। तर, गत वर्ष उनले गाउँपालिकाबाट जस्तापाता ल्याएर घर छाए।

‘रातमा ढुक्कले सुत्न पाए दिनमा काम गरेर परिवार पाल्छु’, उनले भने, ‘अहिले आगो, पानी र हुरीको चिन्ता छैन।’

यो कार्यक्रम विपन्न परिवारसँग जोडिएकाले पनि स्थानीय तहले समेत प्रभावकारी रूपमा अगाडि बढाएका थिए। अहिले गुल्मीका रेसुंगा र मुसिकोट नगरपालिका तथा इस्मा, मालिका, मदाने धुर्कोट र छत्रकोट गाउँपालिकाले लगभग 'खरका छानामुक्त' घोषणा गर्ने अन्तिम चरणमा पुगेका छन्।

जिल्लाका १२ स्थानीय तहमा यो अभियान जारी छ। यो अभियान पूरा हुँदा करिब आठ हजार घरधुरी खरको छानामुक्त हुनेछन्।

जिल्लाका क्षेत्र नं.२ का स्थानीय तहले मात्रै अहिलेसम्म करिब चार हजार घरलाई खरको छानामुक्त गरिसकेका छन् भने करिब २० करोड बजेट खर्च भएको छ।

धुर्कोट गाउँपालिकाले पनि अहिले खरको छानामुक्त गर्ने अभियान चलाएको छ। अहिलेसम्म करिब साढे ५ सय घर परिवारले खरको छाना हटाएर जस्तापाता लगाएका छन्। जसका लागि गाउँपालिकाले अहिलेसम्म दुई करोड बजेट खर्च गरेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए।

स्थानीय चुनावमा भोट माग्न पुगेका खरे बस्तीहरूमा आफ्नै कार्यकालमा जस्तापाताको छाना टल्किँदा निकै सन्तुष्टि मिलेको उनी बताउँछन्। सुरक्षित आवासको लागि खरको छाना विस्थापन अभियानलाई प्राथमिकता दिइएको पोखरेलले बताए।

मालिका गाउँपालिकामा एक हजार ४७ घर खरको छाना भएका थिए। अहिलेसम्म ९२८ घरधुरी खरको छानाबाट मुक्त भएका छन्। यो वर्ष बाँकी ११९ घरमा पनि जस्तापाताको छाना लगाइने छ।

गाउँपालिकाले अहिलेसम्म खरका छाना विस्थापन गर्न ३ करोड ९० लाख खर्च गरेको छ।

३० कात्तिक, २०७९, १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।