दैलेख–१ मा तीन पूर्व सहकर्मी प्रतिष्पर्धामा : थापालाई गठबन्धनको साथ, शर्मालाई आफ्नैको घात

दैलेख–१ मा तीन पूर्व सहकर्मी प्रतिष्पर्धामा : थापालाई गठबन्धनको साथ, शर्मालाई आफ्नैको घात

सुर्खेत : दैलेखको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा तीन जना पूर्व सहकर्मीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

लामो समयदेखि एमालेमा हुँदा काम गरिरहेका सहकर्मीबीच नै रोचक प्रतिस्पर्धा हुँदा यो निर्वाचन क्षेत्रलाई विशेष रूपमा हेरिएको छ।

यहाँ एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापा र स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता गोपाल नेपालीबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिनिधिसभामा उम्मेदवार रहेका तीनै जना झण्डै तीन दशकदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए। शर्माले अहिले एमाले दैलेखको नेतृत्त्व गरिरहेका छन् भने थापा एमालेमा विभाजनपछि एकीकृत समाजवादीको नेता बनेका छन्।

एमालेका पुराना नेता नेपालीले शर्माविरुद्ध बागी उम्मेदवारी दिएका हुन्। थापाले १४ वर्ष एमाले दैलेखको नेतृत्त्व गरेका थिए। २०४८ यता पार्टीको नेतृत्त्वमा शर्मा रहँदा थापा सचिव र थापा नेतृत्त्वमा हुँदा शर्माले सचिव भएर काम गरेका थिए।

एकीकृत समाजवादीका उम्मेदवार रहेका थापालाई वाम-लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ भने एमालेका शर्माविरुद्ध पार्टीकै पुराना नेता नेपाली बागी उठेका छन्। यसले शर्मालाई थप चुनौती थपिएको छ।

तीनै जनाले दैलेख जिल्लामा लामो समयदेखि काम गरेकाले जनताको विश्वास आफूलाई हुने र निर्वाचन जित्ने दाबी गरिरहेका छन्। यसै क्षेत्रबाट राप्रपाकी महामन्त्री कुन्ती शाही पनि उम्मेदवार छिन्।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा ६ वटा स्थानीय तहमा ४६ वटा वडा छन्। महावु, नौमुले, भगवतीमाई, डुंगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिका यस क्षेत्रमा पर्छन्।

स्थानीय तहको निर्वाचनमा डुंगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका र नारायण नगरपालिकामा एमाले विजयी हुँदा भगवतीमाई गाउँपालिका र नौमूले गाउँपालिका माओवादी केन्द्रले र महावु गाउँपालिका कांग्रेसले जितेको छ।

तर, सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवारी भने एउटा पनि पालिका नजितेको एकीकृत समाजवादीले पाएको छ। थापालाई कांग्रेस र माओवादीकै भर देखिन्छ।

यता एमाले भने स्थानीय चुनावमा धेरै जितेकाले त्यही आधारमा प्रतिनिधिसभामा पनि जित निकाल्ने विश्वासमा छ। तर पार्टीकै पूर्व नेताको बागी उम्मेदवारी र सत्ता गठबन्धन एकै ठाउँमा भएकाले सहज भने पक्कै छैन।

एमालेकाे बागी उम्मेदवार नेपालीले ल्याउने मतका आधारमा एमालेको हारजित तय हुने देखिएकाे छ।

२९ कात्तिक, २०७९, २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।