महानगर प्रमुख साह र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट

महानगर प्रमुख साह र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच शिष्टाचार भेट भएको छ।

महानगरपालिकाको कार्यालयमा भएको भेटमा प्रमुख साहले, फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए।

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको चर्चा गर्दै अहिलेको अवस्थामा बारे जानकारी लिन खोजेपछि साहले योजना सुनाएका थिए। 

‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन्, हामीसँग प्रस्ताव पनि धेरै छन्,’ प्रमुख साहले भने, ‘तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ।’

महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख साहले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुनर्स्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताए।

फोहोरको बर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो।

राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए। उनले शहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए।

भेटका क्रममा महानगरका पूर्वाधार सल्लाहकार एवं सविचवालय सदस्य सुनिल लम्साल, सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठसहित अधिकारी सहभागी थिए।

२९ कात्तिक, २०७९, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।