साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

काठमाडौं : साँखुभन्दा थोरै माथि उकालो बाटोमा हिँड्दै गर्दा भेटिएका जयनारण राई विगत १८ वर्षदेखि आफ्ना सम्पूर्ण परिवार सहित काठमाडौंमा छन्।

आफ्नो उमेर समेत राम्रोसँग थाहा नभएका राईलाई खोटाङस्थित हलेसी गाउँपालिकामा जन्मेकोमा अझै दुःख लाग्छ। सानैमा आमा बितेपछि बाले हुर्काएका उनी बाआमाको एक्लो सन्तान हुन्।

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्।

गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा शहरमा मिठो खान र राम्रो लगाउन पाइन्छ भन्ने साेच सानैदेखि थियो।

दशैंको बेला बल्लतल्ल खान पाइने चामलको भात र त्यसको लागि गर्नु परेको मेहिनेत सम्झेर राईलाई अहिले पनि गाउँघर फर्किन मन लाग्दैन।

उबेला खेतीपातीको कामबाहेक गाउँघरमा डाेको बुन्ने पेशा पनि गरेका राई त्यसबाट पनि सन्तुष्ट हुन सकेनन्।

गाउँमा उचित मूल्य नपाइने, बेच्न गाह्रो हुने, घण्टाैं हिँडेर शहरमा पुर्याएर बेच्दा पनि घाटा व्यहाेर्न परेपछि उनी शहर छिरे। शहरमा त्यहि काम गर्न थाले। अहिले डाेकाे बुन्छन् उनी त्यसलाई बेचेर आफ्नाे गुजारा चलाउँछन्।

सातजनाको छोराछोरीको बा बनेका राई आफ्ना बाआमाको एक्लो सन्तान भएकै कारण सात सन्तान जन्माउन मन लागेको बताउँछन्।

'बुढेसकाल लागेपछि पालैपालो छोराछोरीको घरमा बस्दै दिन बिताउने सपना छ,' ताताे चियामा बिस्कुट चाेप्दै ठट्याैली पारामा उनले भने, 'तर सकुन्जेल त आफ्नै कमाईमा रमाउनुपर्छ।'

जिन्दगीमा तीन पटक मात्र मतदान गरेका राईलाई नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु यस्तै लाग्ने रहेछ।

नेताहरूकाे ढँटुवा बानीले आजित भएकाे बताउँदै उनले भने, 'जुन जोगी आए पनि कानै बुच्चै भनेजस्तै। खै के नै भएको छ र भोट हालेर? आफ्नो लागि दुई छाँक टार्न आफैँले गरेर खानुपर्छ क्यार।'

आफू बाठो नभएकाले धेरै दुःख पाएकोमा अझै पनि उनलाई नराम्रो लाग्छ। जीन्दगीमा एउटा लक्ष्य लिनुपर्छ भन्ने बुद्धिसमेत नआएको र सबैको हेपाइ खानुपरेको सम्झँदा राईलाई अझै डाँको छाडेर रुन मन लाग्छ।

जिन्दगीमा दुःखलाई हतियार सम्झने राई त्यसलाई चलायो भने बिग्रन्छ भन्ठान्छन्। हातको चोरी ‌औंला भैंसीले घाँस हाल्दा खाईदिए पछि त्यसको उचित उपचार गर्न नपाउँदा औंला समेत आधा काट्नु परेको गुनासो गर्छन्।

राई भन्छन्,'त्यो बेला म शहरमा भैदिएको भए मैले राम्रो उपचार पाउँथे जसले गर्दा मेरो ‌औंला काट्नु पर्दैनथ्यो।'

रोग लागेको बेलामा पनि अस्पताल जाँदा आफू अनपढ, गाउँले भएकै कारण विभिन्न अपशब्दको प्रहार खेप्नु परेको, डाक्टरको छेउमा रोगबारे खुलेर भन्न नसकेको पलहरू सम्झँदा उनलाई नमीठाे लाग्छ।

तर, अहिले शहरमा मोबाइल फोनसम्म बोक्नसक्ने भएकोमा उनी गर्व गर्छन्।

धरान, दुधकोशीदेखि नुन बोकेर घरसम्म पुग्ने राईलाई ईश्वरले शहरमा घचेटिदिएकोमा खुशी लाग्छ। सात छोराछोरीको मायाले पुलकित भएका राईको जिन्दगीमा अब काल पर्खने बाहेक अरू केही इच्छा नभएको बताउँछन्।

केही सपना, इच्छा नभए पनि उनी खुशी छन्। उनी केही नभएर पनि भरिपूर्ण छन्।

२९ कात्तिक, २०७९, १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।