डाक्टरले 'अरू सन्तान छँदैछन् उपचारमा थप खर्च गर्न पर्दैन' भनेका सागर जो भए क्रिकेट क्याप्टेन 

डाक्टरले 'अरू सन्तान छँदैछन् उपचारमा थप खर्च गर्न पर्दैन' भनेका सागर जो भए क्रिकेट क्याप्टेन 
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : फूलपातीको दिन। घरमा काम भ्याई-नभ्याई। घर लिप-पोत गर्नेदेखि बस्तुभाउ हेर्नेसम्मको काम। 

चार छोरा अनी एक छोरी भएका लक्ष्मीप्रसाद पाण्डे र दुर्गादेवी पाण्डेले आफ्ना सन्तानलाई के-के गर्ने भनेर कामको भाग लगाइदिए। साइँला छोरा सागरको भागमा पर्यो बस्तु हेर्न जाने। खै किन हो त्यो दिन सागरलाई बस्तु हेर्न जानै मन थिएन।

उनको उमेर १२। दाइहरू घर लिप-पोत गर्न सघाउने भएकाले परिवारले उनैलाई बस्तु हेर्न जान अह्रायो। मन नलागे पनि उनी गए। उनीसरहकै केही साथीहरू पनि थिए। घरबाट केही पर मात्र पुगेका थिए, छिमेकीले भने- 'सागरको त बाख्रा मरेको छ त्यहाँ पर।'

गाउँमा दुई जना सागर थिए। सागर पाण्डे हान्निएर पुगे बाख्रा हेर्न। बाख्रा नजिकै के पुगेका थिए उनलाई केही थाहै भएन। बिउँझदा उनी शिक्षण अस्पताल महाराजगञ्जको बेडमा पो थिए। 

बाख्रालाई जे ले मार्यो उनलाई त्यसैले अस्पतालको बेडमा ल्याइपूर्यायो। त्यो थियो हाइटेन्सन लाइनको विद्धुतिय झड्का। 

११ वर्षमै दुर्घटनामा पर्दा 
वि.सं. २०५१ साल असार २० मा जन्मिएका सागर सानैदेखि तिक्ष्ण थिए। पढ्न मात्रै होइन घरायसी काममा पनि उत्तिकै तगडा।

स्याङ्जा पुर्ख्यौली थलो भए पनि उनका बुबा ३५ सालमा नवलपरासी झरेका थिए। उनले परिवार त्यहीँ बसाए। त्यतै खेत किने। खेती गर्दै परिवार हुर्काए।

२०६१ असोज २३ मा यस्तो बज्रपात पर्यो कि एक वर्षभन्दी बढी त उनले अस्पतालमै बिताउनुपर्यो।

बिहानै बस्तु लिएर गएका साइला छोरा दुर्घटनामा परेको खबर आयो घरमा। सागरका साथीहरूले उनको घरमा खबर गरेका थिए। परिवार र गाउँले मिलेर उनलाई सीमापारि भारतको अस्पताल पुर्याए। त्यहाँ उपचार नहुने भएपछि बुटवल ल्याए।

बुटवलको अस्पतालमा पनि उपचार सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल ल्याइयो। उपचारमा संलग्न डाक्टरले भने, ‘उहाँको उपचार सम्भव छैन। लैजानुस् घर।’

उनका बुबाले फोन घुमाए। आफ्न्त कोही नभएका उनले छोरालाई कसरी फिर्ता लैजाने बाटो खोज्दै थिए। 

डाक्टर फेरि आइपुगे। त्यतिबेला त सागर ब्युँझिसकेका थिए। डाक्टरले 'हामीले घर लैजानु भनेको किन नलग्नुभएको' भन्दा सागरले डाक्टरलाई हेरे। सागर ब्युँझेको देखेपछि उपचार सुरु भयो।

१७ दिनको उपचारपछि उनलाई कान्ति अस्पताल रिफर गरियो। कान्ति अस्पतालमा उपचार त सुरु भयो तर गोडाको मासु फुतुफुतु झर्न थाले। हात गोडा नै काट्नुपर्छ भने डाक्टरहरूले। त्यसका लागि वीर अस्पताल लैजान सुझाए।

वीर अस्पताल त लगे उनका बुबाले, तर पैसा र खर्च देखाएर 'अरू सन्तान छँदैछन् पर्दैन खर्च गर्न' भने डाक्टरले। सागरका बाले अनुरोध गर्दा पनि डाक्टरले मानेन्।

उनको बुबाले भनसुन गरेपछि भर्ना त गरियो तर लगत्तै जोरपाटीमा रहेको शिक्षण अस्पतालमा रेफर गरिदिए। राति नै बाले जोरपाटी पुर्याए उनलाई। त्यहाँको अस्पतालले गोडा काट्न सक्ने तर प्लाष्टिक सर्जरी गर्न नसक्ने बतायो।

अनि सुष्मा कोइराला मेमोरियल शिक्षण अस्पताल रेफर भयो। त्यहाँ चाहिँ उपचार सम्भव भएको तर डाक्टर बाहिर गएको जानकारी पाए। दुई हप्तापछि मात्रै डाक्टर आउने भनेपछि उनका बा फेरि छोरा बोकेर पुगे वीर अस्पताल।

वीरका डाक्टरले 'यहाँ किन ल्याउनुभएको जोरपाटी लग्नु भनेको होइन? हटाउनुस्' भनेपछि सागरका बाले झोक्किँदै भने, ‘यो आलु प्याजको बोरा होइन यता-उता सार्न। मेरो छोरा हो। तपाईंले चाहे उपचार गरेर बचाउन सक्नुहुन्छ।'

यति झोँक्किएपछि वीर अस्पतालले भर्ना त लियो, तर दुई महिनासम्म उपचार नै गरेनन्। अप्रेसन सुरु नभएपछि उनका बाले डाक्टरलाई सोध्दा डाक्टरले भने, ‘हामीले जुन इन्जेक्सन लगाउँछौँ त्यो इन्जेक्सनले बिरामी ब्युँझिदैन ब्युँझिए पनि धेरै समय जाँदैन।’

जे भए पनि उपचार गरिदेऊ भनेपछि उनको अप्रेसन सुरु भयो। १४ घण्टा लामो अप्रेसनपछि वार्डमा सारिए सागर। आधा घण्टापछि उनको होस खुल्यो। 

घाउ निको हुँदै गयो। अनि डाक्टरहरूले भने- 'चमत्कारै भयो'। 

७ महिनाको उपचारपछि उनी डिस्चार्ज भए वीरबाट। त्यसपछि पनि उनी लामो समय काठमाडौं बसे थप उपचारको लागि।

‘मलाई त्यो दिन अझै याद छ। २०६२ को आन्दोलन सुरु भएको भोलिपल्ट म घर जान पाएँ',  उनले उकेरासँग भने, 'मलाई त गोडा भएन भन्दा नि बाँचेकोमा खुशी लाग्यो। किनभने मेरैअघि डाक्टरहरूले उपचार गरेर खर्च मात्रै हुने भनेका थिए।’

कलेजले भर्ना लिन नमानेपछि...
२०६३ सालदेखि फेरि उनी पढ्न थाले। घरनजिकैको एक निजी विद्यालयले उनलाई पढाउने भयो निःशुल्क। 

तर, उनको जीवनशैली बदलिइसकेको थियो। साथीहरू खेल्न जाँदा उनलाई पनि खेलौँ-खेलौँ नहुने होइन। साथीहरू दगुर्दा जुरुक्कै उठेर उसैगरी दगुरौँ नलाग्ने होइन। तर, उनले आफ्नो बाध्यता बुझेका थिए। 
उपचार हुँदैन भनेर बालाई डाक्टरले हप्काएको देखेका थिए। त्यतिबेलै उनको सपना थियो रे- 'म पनि डाक्टर बन्छु' भन्ने।

अनि त मिहिनेत गरेर पढे सागरले। पढाइमा यति मन लगाए कि २०६८ सालमा एसएलसीमा ८४ प्रतिशत ल्याएर पास गरे। एसएलसी त पास गरे, कलेज पाउन फेरि उही सास्ती।

‘मलाई कलेज भर्ना हुन त्यति गाह्रो हुन्छ भन्ने लागेकै थिएन’, सागरले विगत सम्झँदै भने,  ‘मेरो एकेडेमिक क्वालिफिकेशनले हुन्छ भन्नेहरू शारीरिक अवस्था देखेर रिजेक्ट गर्थे। त्यतिबेला लाग्थ्यो कसैले त मलाई पढ्न दिए हुने।’

धेरै कलेज धाएँ। तर कसैले भर्ना लिएनन्। एक पटक कान्तिपुरका फोटोपत्रकारसँग भेट भयो। उनले आफूले चिनेको कलेजमा लगिदिए। तर, त्यहाँ पनि भर्ना लिएन।

कान्तिपुरले उनीबारे समाचार छाप्यो। समाचार प्रकाशित भएपछि उनले पाउने हक र सुविधाका लागि गर्नुपर्ने दौडधुप सकियो। 

त्यसपछि अहिलेसम्म पछाडि फर्किएर हेर्नु नपरेको उनी बताउँछन्।

जसका लागि विद्यालयको भौतिक संरचना बद्लियो 
सागरको परिवारलाई लिटिल एन्जेल्स स्कुल ललितपुरबाट फोन आयो। सागर र सागरका बुबा 'खै के हुने हो' भनेर लिटिल एन्जेल्स स्कुल गए। 

त्यो बेला संस्थापक प्रिन्सिपल थिए उमेश श्रेष्ठ। उनले सागरलाई हेर्दै भने- ‘सागरबाबु तिमीबारे मैले कान्तिपुरमा पढेँ। हामी तिमीलाई सहज बनाइदिन्छौँ।’

उनले कक्षा ११ मा साइन्स लिएर पढे। उनी ह्विलचियरमा बसेर ल्याब जान सक्दैनथे। विद्यालयले भौतिक संरचना परिवर्तन गराएर उनी सहजै ल्याबसम्म जानसक्ने बनायो। वरपर हिँड्ने जे जस्ता भौतिक सुविधा बाधक थिए ती सबै सुधारियो।

प्लस टु पनि विशिष्ट श्रेणी ल्याएर पास गरे सागरले। एक वर्ष चिकित्सा शिक्षा अध्ययनको तयारी गरे। सफल भने हुन सकेनन्। त्यसपछि जेनेटिक इन्जिनियरिङ पढ्न तयार भए। तर भौतिक संरचनाले गर्दा उनले फेरि पढ्न पाएनन्।

त्यसपछि सागरले ब्याचलर इन बिजनेस इन्फरमेशन सकाए। त्यो पनि लिटिल एन्जेल्समै।

‘सहज भौतिक संरचना र कलेज व्यवस्थापनको सहयोगले मैले यहीँ पढेँ’, सागरले उकेरासँग भने, ‘मेरो लागि त दोस्रो घर लिटिल एन्जेल्स अनि उमेश सर अभिभावक हुनुभयो।’

सागरले अहिले ब्रिटिश कलेजबाट एमबीएमा स्नातकोत्तर गरेका छन्। लिटिल एन्जल्सकै प्रशासनमा काम गर्छन् अहिले।

ह्वीलचेयर क्रिकेटको क्याप्टेन
सन् २०१८ देखि नै सागरले क्रिकेट खेल्न थालेका थिए। उनी ह्वीलचेयर क्रिकेट टिमको राष्ट्रिय टिममा पनि परे। 

२०१८ को एसिया कपमा उनी सहभागी हुन पाए। भारत, बङ्गलादेश, भुटान, श्रीलंका अनि नेपालबीच भएको खेलमा उनले सहभागिता जनाए।

उनी क्याप्टेन भने सन् २०१९ मा भएका हुन्। उनी क्याप्टेन भएयता कुनै प्रतियोगिता भएको छैन। सन् २०२३ मा प्रतियोगिता हुने कुराले उनी फुरुङ्ग छन्।

केही समयअघि भारतले उनी लगायत चार खेलाडीलाई क्रिकेट खेल्न बोलाउँदा पनि उनी फुरुङ्ग परेका थिए। उनी हैदराबादको समूहमा परे। उनको समूह तेस्रो भयो।

‘जित त प्राविधिक कुरा भयो। खेल मेरो प्यासन हो। यो पनि खेल्न पाएको छु, खुशी छु’, उनले भने।

सागर स्कुटी चलाउँछन्। आत्मविश्वासी छन्। केही कक्षा पढाउँछन् पनि। कहिलेकाहिँ प्रशासनको काम पनि हेरिरहेका छन्।

तर, जसरी पनि छोराको उपचार गराउने हठी बा, उपचार गर्ने चिकित्सक, 'यहाँ त ह्वीलचेयरमा आउनै सकिँदैन' भनेर फिर्ता पठाउने ती विद्यालय, समाचार लेखिदिने ती पत्रकार अनि 'सागर बाबु अब चिन्ता गर्नु पर्दैन' भनेर उनको सहजताका लागि विद्यालयको भौतिक संरचना नै परिवर्तन गरिदिने उमेशसर सबैलाई सम्झिरहन्छन् उनी।

उनको दिमागमा सबैभन्दा धेरै घुमिरहने शब्द भने उनकै बाको रहेछ- ‘यो आलु प्याजको बोरा होइन यता-उता सार्न। मेरो छोरा हो।'

उनले उनीमाथि लगानी गरेका कसैको लगानी पनि खेर जान दिएनन्। एक दुर्घटनाले लय बिगार्दैमा जीवनको गाडी लयमै फर्कँदैन भन्ने भ्रम मात्र हो भन्ने पुष्टि पनि गरिदिए।

जीवन यात्राको गाडीलाई लयमा फर्किन सहयोगीहरूको साथको महत्त्व त भयो नै। तर सबैभन्दा ठूलो कारक हो उनकै आत्मविश्वास।

'जीवन बदल्ने त आफैँले हो। तर कसैको साथ पायो भने अलि सहज हुने रैछ,' उनले भने' म भाग्यमानी रहेछु। असल मनकाहरु भेट्न जुर्यो। तर सबै म जस्ता भाग्यमानी कहाँ हुन सक्छन् र। ती साथीहरू देख्दा भने दुख लाग्छ।'

२८ कात्तिक, २०७९, १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।