वैशाखकाे अंकगणितमा विश्वकर्मा बलियाे, घनश्यामनिकट भन्छन्- ‘माहोल बदलिसक्यो’

वैशाखकाे अंकगणितमा विश्वकर्मा बलियाे, घनश्यामनिकट भन्छन्- ‘माहोल बदलिसक्यो’

रुपन्देही : एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेता हुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा।

विद्यार्थी कालदेखि राजनीतिमा होमिएका भुसाल एमालेको उप-महासचिवसम्म चुनिए। एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रीय सचिवमा निर्वाचित भए।

यी दुई नेताको सम्बन्ध सुमधुर छ। अहिलेसम्म एकअर्कालाई आक्षेपमा उत्रिएका छैनन्। विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनी भविबलका पूर्व खेलाडी हुन्।

तीक्ष्ण क्षमता भएका भुसाल बामपन्थी वैचारिक नेता मानिन्छन्। यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाईमा स्थापित नीति समेत पारित गरेको थियो।

‘दुर्भाग्य नीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र बामपन्थी पार्टी नीतिविनाको हुँदै गयो’, आइतबार रूपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भने।

उनले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठीक भए पनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावी भएकाे बताए। जसकारण पार्टी सही ट्रयाकमा हिंड्न नसकेको उनकाे अनुभव छ।

एमाले परित्याग गरेका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्रिभुज चिन्ह पाएका उनलाई सत्ताघटक दलहरूले समर्थन गरेका छन्।

यही निर्वाचन क्षेत्रबाट उनै भुसालसँग एमालेमा रहँदा तीनदशक बढि सहकार्य गरेका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिएका छन्। तीन दशक लामो मित्रता उनीहरूबीच प्रतिस्पर्धीका रूपमा देखिएको छ।

वैचारिक एवं मार्क्सवादका व्याख्याता नेता भुसाल र विश्वकर्मा आमनेसामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन्। भुसालले पछिल्लो समयमा राम्रो जनमर्थन पाएका छन्। यसबाट उनी उत्साहित छन्।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन्। २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। त्यतिबेला बाम गठबन्धन भएकाले उनीहरूले सहज जित निकालेका थिए।

२०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका भुसालपूर्व कृषिमन्त्रीसमेत भए। विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन्। उनी पनि कृषिमन्त्री भइसकेका छन्। विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए। भुसाल विश्वकर्मा भन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्।

भुसालले विभिन्न आन्दोलनमा हेमिँदै गर्दा पटक–पटक गरी दुई वर्ष ५ महिना कष्टकर जेल जीवन विताएका छन्। तर, विश्वकर्माले जेल जीवन भने बिताउन परेको छैन। भुसालसँग जति विश्वकर्मासँग राजनीतिक अनुभव पनि छैन।

विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा विश्वकर्मा पराजित भएका थिए।

बाम गठबन्धनबाट ०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यसपटक भने भुसाल चुनौती बन्ने देखिन्छ। २०७४ मा राप्रपा नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो।

भुसाल वाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई कांग्रेसको समर्थन थियो। तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए।

०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण टिकट पाएनन् र ३ बाट उठे। अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भएका छन्।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगत रूपमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो छ। तर, अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ।

स्थानीय तह निर्वाचनमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, एकीकृत समाजवादीकाे १ हजार २४३ र लोसपाको ३२५ मत आएकाे थियाे। दुई गठबन्धनको मत छुट्टा-छुट्टै जोड्दा यस क्षेत्रमा विश्वकर्मा बलिया देखिन्छन्।

स्थानीय तहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण करिब ५ हजार मत प्रभावित भएको बताइन्छ। लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत अवश्य तान्ने अनुमान गर्न सकिन्छ।

भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रहीकाम गरेका उनका सहयोगी मनोजकुमार रिजालले एमालेको ८–१० हजार मत प्रभावित हुने बताउँछन्।

‘घनश्याम भनेको राजनीतिक इमान, बामपन्थी नीति र एउटा ब्राण्ड नै हो’, रिजालले भने, ‘उहाँले एमाले छाड्ने वित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ।’

भुसाल उम्मेदवार भएपछि धेरै एमालेका जिल्ला स्तर र स्थानीय स्तरका नेता–कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रूपमा भुसालको प्रचारप्रसार गरिरहेका छन्। जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ।

‘राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमा उच्च तहमा उहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भने, ‘यसले पनि जितको बाटो सहज गराएको छ।’

गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहज हुने दावी भुसाल पक्षीय नेताहरूको छ। भुसाललाई जनसमर्थन राम्रो छ। एमालेमा विद्रोह छ भने धेरै नेता कार्यकर्ता भुसालतिर लागेका छन्, अर्कातिर गठबन्धनको पनि साथ छ।

यस कारण पनि भुसाल उत्साहित देखिएका छन् भने घनश्यामको आगमनले  राष्ट्रिय मिडियाको ध्यानसमेत यस क्षेत्रमा केन्द्रित छ। जसका कारण मतदाताहरू घनश्यामलाई भेट्न, उनका योजना र विचार सुन्न उत्सुक र उनीप्रती आशावादी समेत देखिन्छन्।

देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छ।

२८ कात्तिक, २०७९, १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।